मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष मरिचका बिरुवा बिक्रीबाट दुई लाख ७५ हजार रुपैयाँ आम्दानी गरेका छन् । अमृतकुञ्ज पर्माकल्चर अर्गानिक फार्ममा उत्पादित एक हजार एक सय बिरुवा बिक्री गरेर उनले उक्त आम्दानी गरेका हुन् । फार्ममा उत्पादन भएका बिरुवा पोखरा महानगरपालिका, पोखरा–१९ पुरन्चोरस्थित ठुलढुङ्गा सामुदायिक वन उपभोक्ता समूह, माछापुच्छ्रे गाउँपालिकाका किसान तथा अन्य व्यक्तिले खरिद गरेका बाँस्तोलाले जानकारी दिए ।
रोग कीराको प्रकोप नहुने, बाँदर र असिनापानीले पनि खासै असर नगर्ने मरिचखेतीबाट मनग्य आम्दानी हुनुका साथै वन तथा वातावरण संरक्षणमा पनि महत्त्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । महानगरले खरिद गरेका बिरुवा यसै वडाका किसानलाई वितरण गरिएको छ । साढे तीन दशकअघि भण्डार ढिक्काका आत्रय गुरुसँग दुई बिरुवा खरिद गरेर ल्याएर मरिचखेती गरेको उनले बताए । अहिले फैलिएर एक सयभन्दा बढी रुखबाट उत्पादन दिइरहेको बाँस्तोलाले बताए । ‘मरिचको बिरुवा प्रतिबिरुवा दुई सय पचासका दरले बिक्री गर्दै आएको छु । आगामी वर्षका लागि दुई हजार बिरुवा उत्पादन गरेर पाँच लाखभन्दा बढी आम्दानी गर्ने तयारी छ’, उनले भने ।
घर वरिपरिको भिरालो पाखो जमिनमा हुर्केका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सयभन्दा बढी हरिया रुखका फेदमा लगाएका मरिचका बोटले निरन्तर फल दिँदै आएको बाँस्तोलाले बताए । उत्पादित फल बिक्रीबाट वार्षिक एक लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । सुकाएको मरिच प्रतिकिलो दुई हजारमा खरिद गर्न व्यापारी घरमै आउने गरेका छन् । लगभग ३० रोपनी क्षेत्रफलमा फैलिएको बाँस्तोलाको फार्ममा विभिन्न प्रजातिका जडीबुटी, अगरउड, रक्तचन्दन, रातोकेरा, सितलचिनी, फलफूललगायत बोटबिरुवा हुर्केका छन् । सरकारीस्तरबाट हालसम्म कुनै पनि सुविधा प्राप्त नभएको उनले बताए ।
पाकेको मरिचको गेडालाई एक दिनसम्म पानीमा भिजाउने र गाईको गोबरसँग मिसाएर राम्ररी रगडी पखालेर तयार भएको बीउलाई नर्सरी ब्याडमा रोपिन्छ । यो एक महिनाभित्र उम्रिन्छ र डेढ महिनामा रोप्नका लागि तयार हुन्छ । मरिचलाई कलमी, बडिङ, ग्राफटिङ, कटिङ (जरा र काण्ड) द्वारा प्रसारण गरिन्छ ।
माघ–फागुनतिर माउबोटबाट दुईदेखि तीनवटा आँख्ला भएको हाँगा काटेर रोपिन्छ । कलमीलाई चाहिँदो छायाँ र पानी दिनुपर्दछ । लहरेबाली मरिचले फल दिन सुरु गरेको २० वर्षसम्म लगातार उत्पादन दिन्छ ।मरिच विशेषगरी न्यानो, आद्र, हावापानी र बढी वर्षामा हुने, उष्ण प्रदेशीय बाली हो । पहाडी क्षेत्रको न्यानो तथा बढी आद्रता भएको ठाउँमा पनि यसको व्यावसायिक खेती गर्न सकिन्छ । समुद्री सतहदेखि एक हजार ५०० मिटरसम्म खेती गर्न सकिन्छ ।
कालो मरिचको प्रयोग विभिन्न परिकारमा मसला, आयुर्वेदिक औषधिजस्ता खाना, कल्लुवली, पन्नियुर, चेरियाकानियाककाडन र कोरिमुण्डालगायतका पर्दछन् । खाना पचाउने, भोक लाग्ने, खोकीको उपचार, श्वासप्रश्वास र मुटुरोगका लागि प्रयोग गरिनुका साथै दन्तमञ्जन तथा टुथपाउडरमा समेत प्रयोग हुने गरेको छ ।
विश्वमा अत्यधिक प्रयोग गरिएका जातहरूमा वेलानकोट्ठा, कोट्ठनदान गुणस्तरीय मानिन्छन् भने पन्नियुर हाइब्रिड जातमा पर्दछन् । यसको सम्भाव्यता अध्ययन गरेर नेपालका सामुदायिक वन क्षेत्रमा समेत लगाउने हो भने वन समूहको आम्दानीको स्रोत बन्नुका साथै विदेशी मरिच आयातलाई समेत विस्थापित गर्न सकिन्छ ।
















नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया