मंगलबार, फागुन १९, २०८२

नवनियुक्त चार मन्त्रीले लिए शपथ

मेरोन्यूज २०८२ असोज ६ गते १५:३५

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराएका हुन्।

नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्री परियारले कृषि तथा पशुपन्छी र मन्त्री खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । साथै समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।

राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार नियुक्त गरेका हुन् । कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश हुन् । त्यस्तै दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुन् । यसैगरी मन्त्री परियार कृषि विज्ञ हुन् भने मन्त्री खरेल वरिष्ठ पत्रकार हुन् ।

वर्तमान मन्त्रिपरिषद्मा यसअघि गत भदौ ३० गते रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास र ओमप्रकाश अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा छन् । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालिरहेकी छन् ।

‘जेनजी’ समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया