चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो

जुम्ला । कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको नयाँ लिङ्गो घटस्थापनाको दिन पारेर आज फेरिएको छ ।सदरमुकाम खलङ्गा बजारमा रहेको सो मन्दिरको ५२ हातको नयाँ लिङ्गो आज फेरिएको चन्दननाथ–भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।
हरेक वर्ष घटस्थापनाका दिन फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गो फेरिएको हो । मन्दिरमा लिङ्गो ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन् । चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते ध्वजा राखिएको हुन्छ ।
भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा राख्ने चलन छ । वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिङ्गोसहित ध्वजा राख्ने प्रचलन रहेको चन्दननाथ–भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए ।
मन्दिर क्षेत्रका स्थानीयले सोही मन्दिरको माटो लिएर जमरा राख्ने गरेका छन् । धार्मिक आस्थासँग जोडिएको यो परम्पराअन्तर्गत कृषिमा समृद्धि र भोकमरी नहोस् भन्ने कामना गरिन्छ । लिङ्गो फेरेसँगै चन्दननाथ–भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चढाउने परम्परा छ । जसले मार्सीधानको उत्पादन वृद्धि र किसानमा उत्साह बढाउने विश्वास छ ।
दशक अघिसम्म लिङ्गो फेर्ने अवसरमा कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट मन्दिरका लागि धार्मिक सामग्री पठाउने परम्परा थियो । जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह, हुम्लाबाट ठेटुवा, चौँरी फुर्को र थाप्का तथा मुगुबाट मास, मुगी दाल, राडीपाखी लगायतका सामग्री ल्याउने चलन थियो ।अहिले यो परम्परा लोप भएको चन्दननाथ–भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यको भनाइ छ ।


















यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया