मिर्चैयामा मिथिलाको मौलिकता झल्काउने झिझियाँ नृत्य प्रतियोगिता

सिरहा । बडादसैँको सुरुआतसँगै सिरहाको मिर्चैयामा परम्परागत मैथिली लोकसंस्कृतिको गौरव झल्काउने झिझियाँ नृत्य प्रतियोगिता सुरु भएको छ ।
‘मिथिलाको सान, मैथिलीको पहिचान’ भन्ने नारासहित मिर्चैया नगरपालिका–५ स्थित गुदरी बजारको श्रीदुर्गा मन्दिर प्राङ्गणमा आयोजित नवरात्रि महोत्सवअन्तर्गत यो प्रतियोगिता घटस्थापनाको दिनबाट प्रारम्भ भएको हो ।
श्रीश्री १०८ श्री नवरात्रि महोत्सव मेला समितिद्वारा आयोजित उक्त कार्यक्रमको उद्देश्य मैथिली संस्कृतिको जगेर्ना गर्नु रहेको मेला समितिका अध्यक्ष किसुन साहले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभिन्न समुदायका युवतीहरूले उत्साहपूर्वक सहभागिता जनाएका छन् ।
उनीहरूले देवी दुर्गाप्रति भक्ति प्रकट गर्दै मैथिली परम्पराको जीवित झल्को दिने नृत्य प्रस्तुत गरिरहेका छन् । उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई पुरस्कार तथा सम्मान प्रदान गरिने अध्यक्ष साहले बताए ।
साहका अनुसार सदरमुकाम सिरहामा पहिलोपटक झिझियाँ फेस्टिभलको शृङ्खला २०७० सालमा सुरु गरिएको थियो, जसको निरन्तरता २०७३ सालसम्म प्रतियोगितात्मक स्वरूपमा दिइएको थियो । अहिले भने मिथिला क्षेत्रका विभिन्न गाउँपालिका तथा नगरपालिकामा यसलाई उत्सवकै रूपमा विस्तार गरिएको छ ।
परम्पराअनुसार कलशयात्राको राति ९ः०० बजेदेखि झिझियाँ नृत्य सुरु हुन्छ । सिरहा, धनुषा, सप्तरी, महोत्तरी, सर्लाही, बारा, पर्सालगायत जिल्लामा प्रचलित यस लोकनृत्यलाई कुनै जाति विशेषसँग मात्र नभई सम्पूर्ण मैथिली समुदायको सांस्कृतिक सम्पदा मानिन्छ । धामीको मन्त्रसहित ‘छेकबार’ गरेर नृत्य प्रारम्भ गरिन्छ, जहाँ युवतीहरू टाउकामा आगो बलिरहेको घैँटो राखेर नाच्दै ब्रह्मस्थानसम्म पुग्छन् । त्यहाँ डीहिवार (मन्दिर)को पूजा गरेर झिझियाँको औपचारिक सुरुआत हुन्छ ।
मिथिला संस्कृतिका जानकारहरूका अनुसार यो नृत्य परम्परा सातौँ शताब्दीदेखि प्रचलित रहँदै आएको हो । यद्यपि पछिल्लो समय यसको मौलिकता हराउँदै गएको चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् ।
मेला समितिका अध्यक्ष साहका अनुसार मिर्चैयामा घटस्थापनादेखि नै मेला सुरु भई सप्तमीदेखि एकादशीसम्म सञ्चालन हुने परम्परा रहेको छ । विशेषगरी अष्टमीका दिन बोकाबलि प्रदान गरिन्छ भने नवदुर्गाको पूजापाठ र भाकलबाट मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।


















पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया