इन्डोनेसियामा विद्यालय भवन ढल्दा गयो दर्जनौँको ज्यान, उद्धार कार्य जारी

इन्डोनेसियाको विद्यालय भवन ढलेर अस्थिर कङ्क्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई उद्धारकर्ताहरूले अक्सिजन र पानी उपलब्ध गराउँदै आएका छन् । मङ्गलबार बिहानसम्म १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि बाँचेका मानिसहरूलाई मुक्त गर्न उनीहरू निरन्तर प्रयासरत छन् ।
कम्तीमा एक जना विद्यार्थीको निधन भएको पुष्टि भएको छ भने, दर्जनौँ घाइते हुनुका साथै करिब ६५ जना भग्नावशेषमा पुरिएको अनुमान गरिएको छ । पूर्वी जाभाको सिडोआरजोस्थित अल खोजिनी इस्लामिक बोर्डिङ स्कुलमा भएको दुर्घटनापछि उद्धारकर्मी, प्रहरी र सैनिकहरूले रातभरि उत्खनन गरी आठ जना कमजोर र घाइते विद्यार्थीलाई बाहिर निकाल्न सफल भएका थिए ।
तर भग्नावशेषभित्र थप शव देखिएकाले मृतकको सङ्ख्या बढ्ने आशङ्का गरिएको छ । भग्नावशेष हल्लिएर अर्को दुर्घटना हुने जोखिम देखिएपछि मङ्गलबार बिहान १०ः१५ बजे उद्धार कार्य अस्थायी रूपमा रोक्नुपरेको थियो । घटनास्थलमा रहेका दर्जनौँ एम्बुलेन्स र उद्धार टोलीहरूले सुरक्षाको कारण सबैलाई तत्काल क्षेत्र खाली गर्न आग्रह गरेपछि उपस्थितहरू आतङ्कित हुँदै भागेका थिए । विद्यार्थीहरूका परिवारजनहरू अस्पताल तथा ध्वस्त भवन वरिपरि भेला भई आफ्ना प्रियजनको खबरको प्रतीक्षामा बसिरहेका छन् ।
धुलोले ढाकिएका घाइते विद्यार्थीहरूलाई बाहिर निकालिँदा आफन्तहरूले विलाप गरेको दृश्य हृदयविदारक बनेको छ । विद्यालय परिसरमा राखिएको सूचना बोर्डअनुसार मङ्गलबार बिहानसम्म ६५ जना विद्यार्थी बेपत्ता रहेको र उनीहरू प्रायः १२ देखि १७ वर्ष उमेरका भएको उल्लेख गरिएको छ । “हे भगवान्… मेरो छोरो अझै भग्नावशेषमुनि छ, कृपया मद्दत गर्नुहोस् !” भन्दै एक आमाले आँसु झारिरहेकी थिइन् ।
त्यस्तै एक बुबाले उद्धारकर्ताको हात समात्दै ‘कृपया, सर, मेरो छोरालाई तुरुन्तै खोजिदिनुहोस्” भनेर विन्ती गर्नुभयो । उद्धार प्रयासको नेतृत्व गरिरहेका अधिकारी नानङ सिगितका अनुसार कङ्क्रिटका भारी स्ल्याब र अस्थिर भागहरूले खोजीमा कठिनाइ बढाएको छ भारी उपकरण प्रयोग गर्दा थप दुर्घटना हुने जोखिम भएकाले प्रयोग नगरेको उनले बताए । “हामी अझै पनि फसेकाहरूलाई अक्सिजन र पानी प्रवाह गरिरहेका छौँ, बाँचेका व्यक्तिहरूलाई जीवित राख्दै बाहिर निकाल्न केन्द्रित भएका छौँ”, उनले भने। सयौँ उद्धारकर्मीहरू सास फेर्न सहयोग गर्ने उपकरण, निकासी तथा स्वास्थ्य उपचार सामग्रीसहित खटिएका छन् ।
विद्यार्थीहरू दिउँसो प्रार्थना गरिरहेको बेला दुर्घटना भएको हो । प्रान्तीय प्रहरी प्रवक्ता जुल्स अब्राहम अबास्टका अनुसार दुर्घटनाग्रस्त भवन एक अनधिकृत विस्तार गरिएको संरचना थियो । उद्धारपश्चात घाइते विद्यार्थीहरूलाई नजिकैका बासिन्दा, शिक्षक तथा प्रशासकहरूले प्राथमिक उपचारमा सहयोग गरेका थिए । धेरैलाई टाउकोमा चोट लागेको तथा हड्डी भाँचिएको अवस्था थियो ।
महिला विद्यार्थीहरू भने भवनको अर्को भागमा प्रार्थना गरिरहेकाले भाग्न सफल भएको बताइएको छ । अधिकारीहरूका अनुसार १३ वर्षे एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य १०२ जना विद्यार्थी घाइते भई अस्पताल लगिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार दुई तले पुरानो भवनलाई अनुमति बिना थप दुई तला बनाइएको थियो । “पुरानो भवनको जगले कङ्क्रिटका थप तला सहन सकेन र ढलेको देखिन्छ”, अबास्टले भने ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया