सोमबार, मंसिर १, २०८२

म बिग्रिएको भए पो सप्रिनू, फेसबुकले भन्दैमा पद छाड्दिन : केपी ओली (भिडियाे)

मेरोन्यूज २०८२ असोज २९ गते १३:५४

काठमाडौं । नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ। जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिरमाथि उठाउने पार्टी एमाले मात्रै भएको बताए। उनले मुलुकलाई लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय, समृद्धिको लयमा फर्काउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

ओलीले आफू कहिल्यै पनि नबिग्रिएको दावी गरे । ‘अझै सप्रिएन भन्छन्,’ उनले भने, ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू। सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो ? हो भने केपी ओलीले छोड्दैन।’

पार्टीभित्र कुरा नगर्ने, बाहिर विरोधीका लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चैं सप्रिनु पर्ने ओलीको भनाइ छ। ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने घोषणा गरे । उनले आफू बस्ने कि हट्ने केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने बताए ।

‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ,’ उनले भने ,’यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’ ओलीले आजको अवस्था प्रतिगमनको स्थितिको रूपमा बुझ्नुपर्छ भन्दै चुनाव नहुने जिकिर गरे । उनले भने, ‘सरकारले चुनाव गराउने बाटोमा छैन । यो अवैध सरकार हो ।’

उनले पूर्वप्रधानन्यायाधीशले के गर्न हुन्छ, के गुर्न हुँदैन भन्ने संविधानमा नै उल्लेख रहेको बताए । ‘असंवैधानिक ढंगले संसद् विघटन गर्न पाइँदैन भन्नेहरू आफैंले संसद् विघटन गर्नुभयो । त्यसले यो योजना अन्तर्गत गरिएको प्रतिगमन हो ।’

ओलीले भदौ २३ र २४ को विध्वंशात्मक घटना हुन्छ भन्ने पहिले नै जानकार रहेको तर रोक्न नसकेको बताएका छन्। पहिले पनि पटकपटक त्यस्ता घटना गराउने प्रयास भएको चर्चा गरे। ‘यत्रो घटना हुँदा पनि कसरी थाहा भएन भन्नु हुन्छ साथीहरु,’ ओलीले भने, ‘पहिलेदेखि नै थाहा थियो। चैत १५ गते यस्तै घटना गराउन खोजिएको थिएन ?’

उनीहरूको प्रयास निरन्तर भइरहेको थियो। सधैं रोक्ने गरिएको थियो। यसपटक रोक्न सकिएन। थाहा नभएको होइन।’ जेनजीले गरेको आन्दोलनको दोस्रो दिन २४ भदौमा ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिन बाध्य भएका थिए।

उनले जेन–जीको माग र आन्दोलन विध्वंश र त्यसपति बनाइएको सरकारसँग नजोडिने भन्दै उनले प्रतिगामीहरूले षड्यन्त्र गरेको चर्चा गरे। ‘जेनजीकै अगुवाहरु अहिले पनि भनिरहेका छन्, संसद् विघटन, सरकार ढाल्नेजस्ता माग हाम्रो थिएन भनेर भनिरहेका छन्। आन्दोलनकै पहिलो दिन दिउँसोबाट आन्दोलन हाइज्याक गरियो भन्ने उनीहरूको भनाइ आइरहेको छ,’ ओलीले भने, ‘भएको पनि यही हो।’

बैठकमा अध्यक्ष ओलीबाट समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ। यसअघि यही असोज २६ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले आउँदो मङ्सिर अन्तिम साता पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो।

बैठकमा समसामयिक प्रस्ताव लेखनका लागि पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्य राजेन्द्र गौतम र विघटित प्रनिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला रहेको समिति गठन गरिएको छ। बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई तोकिएको समयमा बोल्न समय उपलब्ध गराउने र बहस नोटका लागि पोलिटब्युरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्यद्वय विष्णु रिजाल एवं निरज आचार्यलाई जिम्मेवारी तोकिएको महासचिव शङ्कर पोखरेलले जानकारी गराए ।

बैठकमा अध्यक्ष ओलीले गत भदौ २२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनबाट निर्वाचित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बालाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

प्रतिक्रिया