बुधबार, पुष १६, २०८२

मुलुकमा निर्वाचनको विकल्प छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

मेरोन्यूज २०८२ कार्तिक १२ गते १२:५४

देवदह (रुपन्देही) । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान राजनीतिक जटिलताबाट मुलुकको निकास केवल निर्वाचनमार्फत सम्भव हुने बताएका छन्।

भैरहवामा आयोजित ‘वर्तमान राजनीतिक परिदृश्यको निकास एवं व्यवस्थापनमा नागरिक समाजको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, “अब मुलुकको पहिलो र सबैभन्दा महत्त्वपूर्ण एजेण्डा भनेकै कसरी निष्पक्ष, विश्वसनीय र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउने हो।”

त्रिपाठीले आम नागरिक र मतदाताको सहज पहुँच र सुरक्षासहितको मतदान सुनिश्चित हुनुपर्नेमा जोड दिए। उनका अनुसार, “सरकारले जनतालाई ढुक्क भएर मतदान गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ। विश्वासको माहोल बिना निर्वाचनको अर्थ रहँदैन।”

उनले विगतका सरकारहरू जनताको म्यान्डेट लिएर सत्तामा पुगे पनि सुशासन, विकास र समृद्धिको अपेक्षाअनुसार काम नगरेको आरोप लगाए। “जनताले परिवर्तनका लागि मत दिएका थिए, तर शासन व्यवस्था फेरिए पनि जनताको म्यान्डेटलाई सम्मान गरिएको देखिएन,” उनले भने।

जेनजी आन्दोलनका क्रममा प्राप्त उपलब्धिहरूलाई केही शक्तिले मेटाउने प्रयास गरिरहेको उल्लेख गर्दै उनले नागरिक सचेतना र जवाफदेहिताको निरन्तरता आवश्यक रहेको बताए।

अदालतमा फाइल जल्दैमा अपराधी उन्मुक्त नहुने उनको भनाइ थियो। “जति फाइल जले पनि अपराधी उम्कन सक्दैनन्,” उनले स्पष्ट पार्दै भने, “हामी वकिलहरूसँग ती प्रमाण छन्, सरकारका वकिलहरूसँग छन्, अदालतका विभिन्न तहमा पनि त्यसका प्रतिलिपिहरू अवश्य छन्।”

वरिष्ठ अधिवक्ता त्रिपाठीका अनुसार, राजनीतिक संक्रमणको अन्त्य र जनताको विश्वास पुनःस्थापनाको एक मात्र बाटो — निष्पक्ष र पारदर्शी निर्वाचन — नै हो।

प्रतिक्रिया