राष्ट्रपति पौडेल कतार जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० सम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन् ।
कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सम्मेलनमा सहभागी हुन लागेका हुन् । सो औपचारिक भ्रमणका लागि उनी यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । तीस वर्षपछि हुन लागेको सो सम्मेलनको महत्त्व र गरिमा अनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको हो ।
सम्मेलनकै क्रममा राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता हुनेछ । यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक सम्मेलन कतारले आयोजना गरेको हो ।
सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुनेछ । सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्ने तयारी गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहिआएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद् नेपालको प्रतिनिधित्व रहेको छ ।
विश्व शान्तिका लागि धेरै शान्ति सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल हाल पहिलो नम्बरमा छ । कतारको औपचारिक भ्रमण पूरागरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया