सोमबार, फागुन १८, २०८२

पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छः नेता कोइराला

मेरोन्यूज २०८२ कार्तिक २१ गते १६:०६

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्ममा गरिसक्नुपर्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँमा उपलब्ध जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँगको छलफलमा उनले समयको माग, वर्तमान अवस्थालगायत कारणले आगामी मङ्सिरमा महाधिवेशन गर्न सकिएन भने कुनै पनि हालतमा पुस मसान्तसम्म गरिसक्नपर्ने धारणा राखे ।

नेता कोइरालाले भने, “आउँदो आमनिर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वसहित चुनावमा जानुपर्छ । महाधिवेशन मङ्सिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषय धेरै पहिलेदेखि भन्दै आएको छु ।”

महाधिवेशनको तालिका बनाउँदा निर्वाचन आयोगले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्ने आवश्यतामा जोड दिँदै उनले कांग्रेस अहिले एकताबद्ध, गम्भीर, जिम्मेवार र संयम भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, “पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ । विगतमा पार्टीले थुप्रै आरोहअवरोह व्यहोरेकाले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ ।” आफूले पार्टीमा एकता, मेलमिलाप चाहेको बताउँदै उनले गुट, उपगुट र फुटको अन्त्य गर्न कोही कसैप्रति आग्रह–पूर्वाग्रह नराखी अघि बढ्नुपर्ने आवश्यकता औँल्याएको नेता कोइरालाको सचिवालयले जनाएको छ ।

नेता कोइरालाले भने, “देशभरका इमानदार, निष्ठावान् र निरन्तर क्रियाशील रहेका साथीहरूले पार्टीलाई बचाइरहनुभएको छ । पार्टीका लाखौँ शुभेच्छुकहरू र बाह्य सबै पक्षले अहिले कांग्रेसको निर्णय हेरिरहेका छन्, पर्खिरहेका छन् ।”

प्रतिक्रिया