सोमबार, मंसिर १, २०८२

काभ्रेमा थपिए पाँच हजार मतदाता

मेरोन्यूज २०८२ मंसिर १ गते १६:४८

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा निर्वाचन घोषणा भएयता पाँच हजार मतदाता थपिएका छन् । सदरमुकाम धुलिखेलस्थित जिल्ला निर्वाचन कार्यालयमा पछिल्लो हप्ताादेखि मतदाता नामावलीमा नाम दर्ता गर्न फोटो खिचाउने घुइँचो लागिरहेको छ ।

यसअघि तोकिएको कात्तिक ३० गतेसम्मको समयावधिमा भने जिल्लामा करिब पाँच हजार नागरिकले मतदाता सूचीमा नाम समावेश गरेका हुन् । कार्यालयले निर्वाचन घोषणा भएपछि यसअघि तोकिएको समयसम्ममा करिब पाँच हजार मतदाताले फोटो खिचाएको जनाएको छ । मतदाता सूचीमा नाम दर्ता गर्न फोटो खिचाउनेहरुको घुइँचो बढेसँगै निर्वाचन आयोगले मङ्सिर ५ गतेसम्मलाई समयावधि थप गरेको छ ।

कार्यालयका सूचना अधिकारी नरेश मानन्धरका अनुसार गत कात्तिक ३० गत एकै दिन २६४ जनाले मतदातामा सूचीकृत लागि फोटो खिचाएका छन् । त्यस्तै शनिबार बिदाको दिनमा समेत कार्यालयले सेवा प्रदान गर्दा १७ जनाले फोटो खिचाएको मानन्धरले बताए । पछिल्ला केही दिनदेखि दैनिक बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म सेवा प्रदान गरिरहेको कार्यालयले गत शुक्रबार ३७९ को फोटो खिचाएको मानन्धरले जानकारी दिए ।

पछिल्लो १० दिनको अवधिमा मात्रै दुई हजार ७९८ जनाले फोटो खिचाएको कार्यालयले जनाएको छ । असोज १० देखि कात्तिक २० गतेसम्म दुई हजार १०९ जनाले फोटो खिचाएका थिए ।

यसैबीच जिल्लास्तरीय निर्वाचन समितिले कात्तिक तेस्रो साता नै निर्वाचनको तयारीस्वरुप मतदानस्थल र मतदान केन्द्रको फेरबदलका लागि सिफारिस गरिसेकको छ । गत कात्तिक १७ गतेसम्म काभ्रेपलाञ्चोकमा तीन लाख १३ हजार ३५० मतदाता कायम भएका थिए । गत कात्तिक १७ देखि ३० सम्म भने तीन हजार ५०० मतदाता थपिएका हुन् ।

जिल्लामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र, चार प्रदेशसभा निर्वाचन क्षेत्र, १३ स्थानीय तहमध्ये छ नगरपालिका र सात गाउँपालिका तथा १३५ वडामा गत निर्वाचनमा १९० मतदानस्थल र ३८९ मतदान केन्द्र रहेका थिए । जिल्लामा हाल तीन लाख ७५ हजार २२१ जनसङ्ख्या रहेको छ ।

निर्वाचन आयोगको निर्णयानुसार मतदाता नामावलीलगायत मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१ ले तोकेबमोजिम वडा मतदानस्थल तथा मतदान केन्द्र सिफारिस तथा अन्य कार्य भइरहेको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले बताए ।

उनका अनुसार कार्यविधिले तोकेको मापदण्डअनुरुप खानीखोला गाउँपालिका–७, भुम्लु गापा–५, चौँरीदेउराली गापा–७, तेमाल गापा–१, बनेपा नपा–१३, धुलिखेल नपाको २ र ५, नमोबुद्ध नपाको २ र ७ तथा पाँचखाल नपाको ५ र ९ का लागि तोकिएका अनुसूची भरी मतदानस्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिमा पठाउने सर्वसम्मत निर्णय गरिएको छ ।

प्रतिक्रिया