सोमबार, चैत ३०, २०८२

म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए

मेरोन्यूज २०८२ मंसिर ३ गते २०:०२

काठमाडौँ। आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा ठगिएका ३७ नेपाली नागरिकलाई आज थाइल्याण्डबाट स्वदेश फर्काइएको छ । विभिन्न माध्यमबाट म्यानमारमा पुगी त्यहाँ अवैधरूपमा सञ्चालन भएका ‘अनलाइन स्क्यामिङ’ केन्द्रमा विभिन्न ‘अनलाईन डेटिङ’, ‘अनलाईन क्यासिनो’, ‘गेमिङ’ तथा ‘फिसिङ’, ‘क्रिप्टो’ ठगीलगायतका काममा लगाइएका र स्क्यामिङ केन्द्रमा म्यानमार सुरक्षाकर्मीको छापा परेपछि भागेर थाइल्याण्ड प्रवेश गरेका उनीहरुलाई स्वदेश फर्काइएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायको समन्वय र सहयोगमा उद्धार गरी आज नेपाल एयरलाइन्सको उडान नं आरए–४०२मार्फत नेपाल फर्काएको हो । म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका दुई जना तथा कम्बोडियामा रहेका चार जना नेपालीलाई यथाशीघ्र नेपाल फर्काउने गरी म्यानमार, कम्बोडिया तथा थाइल्याण्डका सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया