छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

दमौली (तनहुँ)। जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।
प्रसिद्ध छिम्केश्वरी मन्दिरको नजिकै रहेको यस उद्यानमा बिदा र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । प्रसिद्ध छिम्केश्वरी माई मन्दिरमा पूजाआजाका लागि आउनेहरू यस उद्यानमा घुम्न नछुटाउने गुरुङको भनाइ छ ।
गण्डकी प्रदेश सरकारको रु २० लाख र स्थानीय जनसहभागिता रु दुई लाख गरी रु २२ लाखको लागतमा पार्क निर्माण गरिएको हो । यहाँ २० फिट अग्लो नेपालको झण्डासमेत राखिएको छ ।
यहाँको मौसम शीतल रहेकाले गर्मी मौसममा अझ बढी पर्यटकको सङ्ख्या बढ्ने उहाँको भनाइ छ । उनले भने, “यहाँ छिनछिनमा मौसम परिवर्तन भइरहन्छ, एकैछिनमा घाम लाग्छ एकैछिनमा हुस्सुले छेकिन्छ ।” यहाँ आउने आन्तरिक पर्यटक तस्बिर खिच्न, टिकटक बनाउन पार्कमा भुल्ने गरेका छन् ।
यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पर्यटकलाई अझ मोहित बनाउने गरेको छ । छिम्केश्वरीबाट धवलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिर जीर्णोद्वार गरिसकेको छ ।
यसअघि रहेको पुरानो मन्दिरलाई जीर्णोद्वार गरी मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिरमा पित्तलको छानो राखिएको छ । गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।
सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।









सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
गगन र विश्वप्रकाशले भने- महाधिवेशन नगरे हामी चुनाव लड्दैनौं
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
जुम्लामा ८४९ मतदाता थपिए
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया