सोमबार, फागुन १८, २०८२

जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर

मेरोन्यूज २०८२ मंसिर २८ गते १३:२१

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमदेवारको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले आउँदो पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उमदेवारको नाम पठाइसक्नुपर्ने छ । त्यस्तै, पार्टी प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीनजनासम्म हुने गरी अनिवार्य रूपले सम्भावित उमदेवारको नामावली पठाइसक्न मातहत समितिलाई सर्कुलर जारी गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डमा उमदेवारको नामावली पठाउन सर्कुलर जारी गरिएको हो ।

समानुपातिकतर्फ प्रत्येक जिल्लाबाट जिल्ला समितिले कम्तीमा तीनजना पुरूष र तीन महिला जातीय कलस्टरअनुसार समावेशी हुने गरी प्रदेश समितिमा आउँदो पुस १ गतेभित्र पठाउने र प्रदेश समितिले उक्त नामावलीमाथि छलफल गरी आफ्नो रायसहित उमदेवारको नाम सिफारिस गरी पुस ५ गतेभित्र केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा बुुझाइसक्नुपर्ने जनाइएको छ ।

कुनै कारणवश तोकिएको निर्धारित समयभित्र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष/समानुपातिकतर्फका उमदेवारको नाम केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डलाई प्राप्त नभएमा वा हुन नसकेमा संसदीय बोर्डले नै उमदेवारको मनोनयन गरी कार्यान्वयन गर्नसक्ने सर्कुलर जारी भएको बस्नेतले बताए ।

उनले भने, “पार्टी विधानको धारा–११७ उपधारा (३) बमोजिम योग्यता पूरा गरेका कुनै पनि सङ्गठित पार्टी सदस्यले प्रत्यक्षतर्फ वा समानुपातिकतर्फ उमदेवार हुन चाहेमा सोझै केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डमा उमदेवार हुन आवेदन दिन सक्नेछ । यसरी आएका आवेदनउपर संघीय संसदीय बोर्डले सम्बन्धित जिल्ला र प्रदेश समितिसँग राय परामर्श गरी आवश्यक निर्णय लिन सक्नेछ ।”

संघीय संसदीय बोर्डमा नाम पठाउँदा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिले गरेका निर्णय बैठकको निर्णय पुस्तिकाको प्रतिलिपिसमेत संलग्न गरी पठाउनुपर्ने तथा उमदेवारको अन्तिम निर्णय संघीय संसदीय बोर्डले नै गर्ने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया