बुधबार, पुष ९, २०८२

राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने

मेरोन्यूज २०८२ पुष ८ गते १६:२२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापाको बिर्तामोडमा यही पुस १२ गते जनजागरणसभा गर्ने भएको छ ।

बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी राप्रपाले जनजागरणसभा बारेमा जानकारी दिएको हो । राप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीको धारणा, दृष्टिकोण र मुलुकको पछिल्लो अवस्थाबारे आमनागरिकलाई जानकारी गराउन जनजागरण सभा गर्न लागिएको जानकारी दिए ।

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । सभामा झापाका १५ स्थानीय तहका १३१ वटै वडाका सहभागी हुने जनाइएको छ ।

सभा सभ्य र मर्यादित तवरले सम्पन्न गरिने अध्यक्ष ओझाले बताए । सभाका लागि विभिन्न उपसमिति गठन गर्नुका साथै जिल्ला प्रशासनबाट अनुमतिसमेत लिइएको पार्टीले जनाएको छ । सभाका लागि पूर्वबाट पार्टी नेतृ सविना बजगाईँको नेतृत्वमा, पश्चिमबाट पार्टीका प्रदेश अध्यक्ष राम थापा, उत्तरतर्फको केन्द्रीय प्रवक्ता भक्ति सिटौला र दक्षिणतर्फको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै राप्रपा झापाले पार्टीको जिल्ला प्रवक्ता सूर्य खतिवडालाई जिम्मेवारी प्रदान गरेको छ । पार्टीको बैठकले खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको पत्रकार सम्मेलनमा अध्यक्ष ओझाले बताए ।

प्रवक्ताको जिम्मेवारी पाएका खतिवडाले पार्टीका गतिविधिलाई थप सशक्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया