शुक्रबार, वैशाख १८, २०८३

राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा

मेरोन्यूज २०८२ पुष ९ गते १९:४०

Advertisement
NiccNicc

काठमाडौँ । राजावादी दल राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् । बिना हल्लाखल्ला एक्कासी गरिएकाे याे एकताले धेरैलाई सरप्राइज ठानेका छन् ।

दुई अध्यक्षबीच आज साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएको हो । पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ ।

दुई नेताबीचको बुधबारको छलफलले एकताको विषय टुंगो लगाएको थियो । राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँगको फोटो सामाजिक सञ्जालमा राख्दै पार्टी एकताको निर्णय भएको जानकारी गराएका हुन्।

कमल थापाले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको बीचमा एकता हुने निर्णय भएको सुखद समाचार सबैमा निवेदन गर्दछु ।’महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले २०७८ माघ २५ गते पार्टी छोडेका थिए।

०७८ को मंसिरमा भएको राप्रपा महाधिवेशनमा थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए।

राप्रपा अध्यक्ष लिङ्देनले पनि सामाजिक सञ्जालमा तस्बिर राख्दै दुई पार्टी एक हुने जानकारी गराएका हुन्।

उनले लेखेका छन्- ‘अन्ततोगत्वा राप्रपा र राप्रपा नेपाल बिच एकताको टुंगो लागेको छ। छरिएर रहेका सम्पूर्ण राष्ट्रवादी शक्तिहरुलाई ध्रुवीकरणमा सहभागी हुन हार्दिक आग्रह गर्दछु।’

थापा कुनै पनि बार्गेनिङ नगरी एकताका लागि तयार भएकाे राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिक्रिया