आइतबार, पुष १३, २०८२

सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु

मेरोन्यूज २०८२ पुष ११ गते १७:५७

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट झरेको ढुंगाले लागेर एक जना मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार आज बिहान भएको उक्त घटनामा गुराँस गाउँपालिका–३ दैलेखका २४ वर्षीय भद्रबहादुर शाहीको मृत्यु भएको हो ।

ढुङ्गाले लागेर गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि आधारभूत स्वास्थ्य संस्था तापेथोक लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै, मधुवन नगरपालिका–४ बर्दियाका ३३ वर्षीय आकाश खड्का घाइते भएका छन् । खड्काको दाहिने खुट्टा भाँचिएको र प्राथमिक उपचारपछि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

भद्रबहादुर शाहीको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ । घटनास्थलमा प्रहरी चौकी तापेथोकबाट प्रहरी सहायक निरीक्षक पर्शुराम राउतको कमाण्डमा टोली खटिएको थियो । साथै अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक आशिष पोखरेलको कमाण्डमा समेत टोली परिचालन प्रहरी प्रमुख गौतमले जानकारी दिए।

प्रतिक्रिया