म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै

म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो चरण हुँदैछ । तर आलोचकहरूका अनुसार यो चुनावले सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि कमजोर बनेको लोकतन्त्र पुनःस्थापना गर्ने छैन भने सैन्य शासनले निम्त्याएको गहिरो गृहयुद्धको समाधान पनि गर्ने छैन ।
चार वर्षअघि सेनाले आङ सान सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि सुरु भएको सैन्य शासनलाई वैधानिकता दिन बहुदलीय लोकतन्त्रमा फर्किएको देखाउन यो चुनावको तयारी गरिएको हो । तर उक्त अधिग्रहणपछि सुरु भएको व्यापक जनआन्दोलन गृहयुद्धमा परिणत भइसकेको छ, जसका कारण धेरै क्षेत्रमा मतदान नै गर्न कठिन भएको छ । निर्वाचन तीन चरणमा हुने तय भएको छ ।
पहिलो चरण आइतबार, दोस्रो जनवरी ११ र तेस्रो जनवरी २५ मा हुनेछ । निरन्तर द्वन्द्वका कारण केही क्षेत्रमा मतदान नहुने जनाइएको छ । मानव अधिकार समूह र विपक्षी दलहरूले यो चुनाव स्वतन्त्र र निष्पक्ष नहुने दाबी गर्दै वास्तविक शक्ति सैन्य प्रमुख वरिष्ठ जनरल मिन आङ ह्लाइङकै हातमा रहने बताएका छन् ।
इन्टरनेसनल क्राइसिस ग्रुपका म्यान्मा विश्लेषक रिचर्ड होर्सीले सन् २०२१ को सत्ता कब्जा गर्ने उही सेनाले नै चुनाव सञ्चालन गरिरहेको उल्लेख गर्दै यी निर्वाचनलाई ‘विश्वसनीय नरहेको’ बताउनुभएको छ । उहाँका अनुसार सेनाको रणनीति सैन्य समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टी (युएसडिपी) लाई जित दिलाई नागरिक शासनजस्तो देखिने तर सेनाको नियन्त्रण कायम रहने व्यवस्था बनाउने हो ।
यसबाट म्यान्माले क्षेत्रीय सङ्गठन आसियानको शान्ति प्रस्तावअनुसार समावेशी संवादतर्फ अघि बढेको दाबी गर्न सक्नेछ । चीन, भारत र थाइल्यान्डजस्ता छिमेकी मुलुकहरूले स्थिरताको नाममा समर्थन जारी राख्न सक्ने विश्लेषकहरूको भनाइ छ । तर पश्चिमी देशहरूले भने सैन्य शासनको प्रजातन्त्रविरोधी कदम र दमनका कारण प्रतिबन्ध कायमै राखेका छन् । सैन्य सरकारले सन् २०२१ फेब्रुअरी १ मा सन् २०२० को निर्वाचन अवैध भएको दाबी गर्दै सत्ता लिएको थियो ।
तर स्वतन्त्र पर्यवेक्षकहरूले त्यतिबेला गम्भीर अनियमितता नदेखिएको बताएका थिए । यसपटक ३३० टाउनसिपमध्ये पहिलो चरणमा १०२ सिटमा मतदान हुनेछ । द्वन्द्वका कारण ६५ क्षेत्रमा मतदान हुनेछैन । ५७ दलले उम्मेदवारी दिए पनि अधिकांशले स्थानीय स्तरमै प्रतिस्पर्धा गरिरहेका छन् । नियमका कारण युएसडिपी नयाँ सरकारको नेतृत्वमा आउने सम्भावना बलियो देखिएको छ ।
राष्ट्रिय र प्रादेशिक व्यवस्थापिकाका एक हजारभन्दा बढी सिटका लागि करिब पाँच हजार उम्मेदवार मैदानमा छन् । केन्द्रीय निर्वाचन आयोगले मतदाताको कुल सङ्ख्या सार्वजनिक गरेको छैन, तर सन् २०२० मा तीन करोड ७० लाखभन्दा बढी मतदाता थिए । पूर्वनेत्री आङ सान सुकी र उहाँको नेसनल लिग फर डेमोक्रेसी पार्टी यस चुनावमा सहभागी छैनन् । सुकीले हाल राजनीतिक रूपमा प्रेरित आरोपमा २७ वर्षको जेल सजाय भोगिरहनुभएको छ र नयाँ सैन्य नियम मान्न अस्वीकार गरेपछि उहाँको पार्टी विघटन गरिएको थियो ।
अन्य धेरै दलले पनि चुनाव बहिष्कार गरेका छन् । यस वर्ष लागू गरिएको कडा निर्वाचन सुरक्षा कानूनले राजनीतिक गतिविधिमा थप प्रतिबन्ध लगाएको छ । पछिल्ला महिनाहरूमा सयौँ व्यक्तिलाई अभिव्यक्ति र अनलाइन गतिविधिका कारण मुद्दा लगाइएको छ । यसले सेनासमर्थित दललाई प्रभुत्व जमाउने र मिन आङ ह्लाइङलाई राष्ट्रपतिको पदतर्फ अघि बढाउने वातावरण तयार गरेको विश्लेषकहरू बताउँछन् ।
म्यान्माको द्वन्द्वले गम्भीर मानवीय सङ्कट सिर्जना गरेको छ । स्वतन्त्र संस्थाहरूका अनुसार २२ हजारभन्दा बढी व्यक्ति राजनीतिक कारणले हिरासतमा छन् र सात हजार ६०० भन्दा बढी नागरिक मारिएका छन् । ३६ लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले चुनावअघि नै हिंसा, दमन र धम्की बढिरहेको जनाएको छ । एम्नेस्टी इन्टरनेसनलका अनुसन्धानकर्ताहरूले चुनावले दोषीहरूलाई झन् बलियो बनाउने डर व्यक्त गरेका छन् । विश्लेषक होर्सीका अनुसार निर्वाचनपछि पनि म्यान्मामा द्वन्द्व झन् चर्किन सक्ने सम्भावना उच्च छ ।
















नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
प्रतिक्रिया