थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो

थाइल्यान्डले कम्बोडियामाथि १० दिनअघि भएको युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै सीमापार मोर्टार फायरका कारण एक थाई सैनिक घाइते भएको जनाएको छ । यद्यपि कम्बोडियाले यसलाई ‘दुर्घटना’ भन्दै आफ्नै दुई सैनिक पनि विस्फोटमा घाइते भएको दाबी गरेको छ ।
थाइल्यान्डको विदेश मन्त्रालयका अनुसार उबोन रत्चथानी प्रान्तमा मङ्गलबार बिहान कम्बोडियाबाट मोर्टार राउन्ड प्रहार हुँदा एक थाई सैनिकको दाहिने हातमा छर्राबाट गम्भीर चोट लागेको हो । थाई सेनाले तत्काल बदला नलिई घटनाको वास्तविकता पत्ता लगाउन कम्बोडियाली पक्षसँग सम्पर्क गरेको जनाएको छ ।
मन्त्रालयले यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै कम्बोडियासँग माफीको अपेक्षा गरेको छ । यसको जवाफमा कम्बोडियाको रक्षा मन्त्रालयकी प्रवक्ता माली सोचेटाले प्रेह विहार प्रान्तमा ‘फोहोरको थुप्रो विस्फोट हुँदा’ दुई कम्बोडियाली सैनिक घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको बताए । उनका अनुसार उक्त घटना सीमा क्षेत्रमा सामान्य सङ्गठनात्मक कर्तव्य निर्वाह गर्ने क्रममा भएको हो । दुवै सैनिकलाई अस्पतालमा भर्ना गरिएको छ ।
थाई सेनाले कम्बोडियाली पक्षले सम्पर्क गरी थाई भूभागमा जानाजानी गोली नचलाइएको र यो परिचालन त्रुटिका कारण भएको स्वीकार गरेको जनाएको छ । तर थाई सेनाले यस्ता घटना दोहोरिए कडा प्रतिक्रिया दिनुपर्ने चेतावनी पनि दिएको छ । थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले नोम पेन्हमा औपचारिक विरोध दर्ता गरिएको बताउँदै सैन्य तहमा यसलाई दुर्घटना भनिए पनि जिम्मेवारी र स्पष्टीकरण आवश्यक रहेको स्पष्ट पारे ।
उहाँले थाइल्यान्डसँग आवश्यक परे जवाफ दिने क्षमता रहेको पनि उल्लेख गरे । थाइल्यान्ड र कम्बोडियाबीचको दशकौँ पुरानो सीमा विवाद गत वर्ष पटक–पटक हिंसात्मक झडपमा परिणत भएको थियो । डिसेम्बरमा भएको लडाइँमा दर्जनौँ मानिसको ज्यान गएको र करिब १० लाख मानिस विस्थापित भएका थिए ।
त्यसपछि डिसेम्बर २७ मा दुवै देश युद्धविराममा सहमत भएका थिए, जसअन्तर्गत सैन्य गतिविधि रोक्ने र सीमामा डिमाइनिङमा सहकार्य गर्ने प्रतिबद्धता गरिएको थियो । घटना भएको क्षेत्र ‘एमराल्ड ट्र्याङ्गल’ भनेर चिनिने संवेदनशील सीमा इलाका हो, जहाँ थाइल्यान्ड, कम्बोडिया र लाओसको सिमाना जोडिन्छ ।
गत मे महिनामा यही क्षेत्रमा थाई सेनासँगको गोली हानाहानमा एक कम्बोडियाली सैनिक मारिएपछि सीमा तनाव पुनः चर्किएको थियो ।
युद्धविराम कायम रहे पनि दुवै देशबीच करिब ८०० किलोमिटर लामो सीमाको औपनिवेशिककालीन सीमाङ्कन विवाद अझै समाधान हुन बाँकी छ । कम्बोडियाले यसै महिना सिम रिप प्रान्तमा द्विपक्षीय सीमा समितिको बैठक प्रस्ताव गरेको छ भने थाइल्यान्डले फेब्रुअरी ८ पछि बन्ने नयाँ सरकारले सीमा सर्वेक्षण र सीमाङ्कनबारे छलफल अघि बढाउने सङ्केत गरेको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया