शुक्रबार, फागुन १५, २०८२

विदेशी मुद्राको सञ्चिति ३२ खर्ब नाघ्यो

मेरोन्यूज २०८२ पुष २५ गते १८:५६

काठमाडौँ । पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा रु पाँच खर्ब २३ अर्ब ७९ करोडबराबरको विदेशी मुद्रा सञ्चित भएको हो ।

राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ दशमलव ६ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा रु ३२ खर्ब एक अर्ब ४७ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा गत मङ्सिर मसान्तमा १३ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु २२ अर्ब १३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तसम्ममा १८ दशमलव सात प्रतिशतले वृद्धि भई रु २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २७ दशमलव चार प्रतिशतले वद्धि भई रु तीन खर्ब ३५ अर्ब कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार गत मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव दुई प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको सुरुआती पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१ दशमलव सात महिनाको वस्तु आयात र १८ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

त्यसैगरी, यो अवधिमा चालु खाता रु तीन खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो । पाँच महिनामा खुद पुँजीगत ट्रान्सफर रु सात अर्ब छ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु तीन अर्ब ५० करोड रहेको थियो ।

त्यसैगरी, मङ्सिर मसान्तसम्ममा रु सात अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटीमात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब तीन करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति रु चार खर्ब २१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको थियो ।

प्रतिक्रिया