उम्मेदवारसँग मतदाताको माग- ‘आश्वासन होइन, विकास चाहिएको छ’

घोराही (दाङ)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरु मतदातामाझ विभिन्न आश्वासन बाँडिरहेका छन् ।
मतदाताले भने उम्मेदवारलाई आश्वासनभन्दा विकासका योजनाको ‘ग्यारेन्टी’ गर्न माग गरेका छन् । निर्वाचनका क्रममा आश्वासन दिने तर पछि काम नगर्ने प्रवृत्तिले जनताले बर्सेनि नेतासँग उही माग दोहो¥याउनुपर्ने अवस्था रहेको घोराही उपमहानगरपालिका–१८ का सुरेश पुनमगरले बताए ।
“धेरै पटक मतदान गरिसकेँ तर कुनै पनि नेताले आफ्नो वाचाअनुसार काम गरेको देखिँदैन । देशमा भनेजस्तो रोजगार नहुँदा दिनहुँ लाखौँ युवा विदेसिनु पर्ने बाध्यता छ”, उनले भने, “देशमै कृषि गरौँ भने पनि भनेको बेला सिँचाइ, मल, बीउ नपाउने समस्या छ ।”
दाङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेसमक्ष तुलसीपुर उपमहानगरपालिका–१८ का मतदाता खिमा घर्तीले निर्वाचनका बेला आश्वासन मात्रै होइन, जनतालाई दुःख पर्दा साथ दिने र वास्तविक विकास गर्ने नेताको आवश्यकता रहेको सुनाए ।
घिमिरेसमक्ष त्यहाँका अन्य स्थानीयले पनि विगतमा धेरै आश्वासन सुनिएको तर अपेक्षित विकास हुन नसकेको गुनासो व्यक्त गरे । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता अझै अधुरै रहेको उनीहरूको भनाइ थियो ।
गुनासो सुनेपछि उम्मेदवार घिमिरेले नागरिकका समस्यालाई गम्भीरतापूर्वक लिएको बताउँदै जनताको आवश्यकताअनुसार विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनीहरुझैँ अधिकांश मतदाताले निर्वाचनका क्रममा उम्मेदवारबाट सडकको स्तरोन्नति, कल्भर्ट निर्माण, सडक कालोपत्र, विद्युत्, सिँचाइको व्यवस्था, कुलो निर्माण, ह्युमपाइप राख्नेलगायतका आश्वासन दिने गरे पनि वाचाअनुसार काम नगर्ने प्रवृत्तिका कारण जनताले दुःख पाउने गरेको गुनासो गर्ने गरेका छन् ।
दाङ क्षेत्र नं २ बाट उम्मेदवार बनेका नेकपा एमालेका महासचिव शङ्कर पोख्रेल, नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन आचार्यलगायत उम्मेदवारहरु मतदाता भेट्न घरदैलो कार्यक्रममा छन् ।
दाङ २ मा घोराही उपमहानगरपालिकाका १५, तुलसीपुर उपमहानगरपालिकाका चार वडा र बङ्गलाचुली गाउँपालिकाका आठ वडा रहेका छन्भने हाल थपिएका सात हजार २३६ सहित एक लाख ४० हजार ९४८ मतदाता छन् ।
















नेप्से दोहोरो अंकले घट्दा साढे ८ अर्बकाे काराेबार
झापा–३ मा १७ उम्मेदवार चुनावी मैदानमा
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने
जिली ईएक्स५ को २०२६ मोडल नेपालमा सार्वजनिक
137 crocodiles released in Rapti river
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया