झापा–३ मा १७ उम्मेदवार चुनावी मैदानमा

झापा । आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा झापा निर्वाचन क्षेत्र नं–३ मा चुनावी चहलपहल बढ्दै गएको छ । सडक छेउका चिया पसलदेखि खेत–खलियान र टोल–टोलमा चुनावी चर्चा हुने गरेको छ । झापा क्षेत्र नं–३ मा १७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन आयोगको तथ्यांकअनुसार झापा–३ मा एक लाख ४० हजार ८५७ मतदाता रहेका छन् । सो क्षेत्रमा ६७ मतदान स्थल र १६४ मतदान केन्द्र तोकिएका छन् । झापा–३ अन्तर्गत भद्रपुर नगरपालिका–१ देखि ८, बिर्तामोड नगरपालिका–१०, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिका पर्छन् ।
झापा–३ मा यसपटक नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरे, नेकपा (एमाले) का हरिबहादुर राजवंशी, नेपाली कम्युनिस्ट पार्टीका डिल्लीराम घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन, जनता समाजवादी पार्टी, नेपालका कर्णलाल राजवंशी, जनमत पार्टीका हरसलाल राजवंशी र नेकपा (माओवादी केन्द्र) का सन्तोष कटुवाल चुनावी मैदानमा छन् ।
यस्तै उज्यालो नेपाल पार्टीका श्यामकृष्ण पाठक, जनता समाजवादी पार्टीका विनिताकुमारी राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चन्द्रकला सावा, नेशनल रिपब्लिक पार्टीका जयेन मगर, श्रम संस्कृति पार्टीका दिपक तिम्सिना, नेपाल मजदुर किसान पार्टीका धर्मलक्ष्मी दुवाल, मङ्गोल नेशनल अर्गनाइजेसनका यामकुमार श्रेष्ठ तथा स्वतन्त्र उम्मेदवार अभय राजवंशी र मानप्रकाश सङ्ग्रौला चुनावी प्रतिस्पर्धामा छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आगामी १४ फागुनदेखि १८ फागुनसम्म प्रचारप्रसारको समय निर्धारण गरेको छ । सो अवधिमा मात्रै सभा, जुलुस, घरदैलो, पोस्टर–पम्पलेटलगायत गतिविधि गर्न पाइनेछ । हाल उम्मेदवारलाई मतदाता तथा कार्यकर्तासँग भेटघाट गर्न अनुमति दिइएको छ । हाल उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।
कांग्रेस उम्मेदवार राजेन्द्रकुमार घिमिरेले राणा शासनदेखि लोकतन्त्र हुँदै गणतन्त्रसम्म नागरिक अधिकार सुनिश्चित गर्न पार्टीले निर्वाह गरेको भूमिका नै मतदाताको विश्वास जित्ने आधार भएको बताए । एमाले उम्मेदवार हरिबहादुर राजवंशीले झापा–३ अन्य क्षेत्रको तुलनामा विकासमा पछाडि परेको उल्लेख गर्दै अब एमालेको नेतृत्व आवश्यक रहेको बताए ।
स्वतन्त्र उम्मेदवार मानप्रकाश संग्रौलाले संसदमा वास्तविक किसानको प्रतिनिधित्व नभएकाले आफू किसानको आवाज बनेर संसदमा जाने दाबी गरे । किसानका समस्या उठाउनकै लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
२०७९ को निर्वाचनमा झापा–३ मा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बनेको थियो । आयोगको तथ्यांकअनुसार कांग्रेसले २५ हजार ५३५, राप्रपाले १९ हजार ७४३, एमालेले १९ हजार ४६०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ८१२ र नेकपा माओवादी केन्द्रले ७ हजार ५९५ मत प्राप्त गरेको थियो ।
















नेप्से दोहोरो अंकले घट्दा साढे ८ अर्बकाे काराेबार
झापा–३ मा १७ उम्मेदवार चुनावी मैदानमा
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने
जिली ईएक्स५ को २०२६ मोडल नेपालमा सार्वजनिक
137 crocodiles released in Rapti river
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया