शनिबार, फागुन २, २०८२

कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने  

मेरोन्यूज २०८२ फागुन २ गते २०:४८

नेपाली कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने भएको छ। 

Advertisement
nepal life insurencenepal life insurence

निर्वाचन आयोगले तोकेको तालिका अनुसार पर्सी फागुन ४ गतेदेखि नै नेपाली कांग्रेस देशैभर चुनावी प्रचारप्रसारको औपचारिक कार्यक्रम लिएर जाने कांग्रेसले जनाएको छ। 

फागुन ६ गते मधेस प्रदेशको राजधानी जनकपुरमा विशाल आमसभा गर्ने जनाएको प्रवक्ता देवराज चालिसेले जनाएका छन्।

आमनिर्वाचनको संघारमा सार्वजनिक गर्ने प्रतिज्ञापत्र यस पटक नेपाली जनताले हरेक दिन ‘रिफरेन्स’ लिने जिवित दस्तावेजका रुपमा आउने कांग्रेसले बताएको छ। 

भोलि (फागुन ३ गते) कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ। 

‘प्रतिज्ञापत्र’ नाम दिएर कांग्रेसले सार्वजनिक गर्न लागेको चुनावी घोषणा पत्र ‘जनताले हरेक दिन ‘रिफरेन्स’ लिने जिवित दस्तावेजका रुपमा’ आउने बताएको हो। 

कांग्रेस केन्द्रीय कार्यालयको तर्फबाट प्रवक्ता चालिसेले विज्ञप्ति प्रकाशित गरी सभापति गगन थापाको अगुवाइमै निकै अध्ययन, अनुसन्धान र विमर्श भइ तयार भएको यस पटकको प्रतिज्ञापत्रले मुलुकको समृद्धिका प्राथमिकता, जनताका सुखदुःख र विचारशील लोकतन्त्रका आयामहरुको मर्म समेटी एउटा सुन्दर भविष्यको खाका दिने दाबी गरेका छन्। 

‘यो दस्तावेजका आधारमा हाम्रो अबको पाँच वर्षको कार्यव्यवहार मूल्याकंन गर्ने हरेक अधिकार नेपाली जनताले  राख्छन्’ चालिसेले भनेका छन्, ‘पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्यप्रवाहबाट लोकतन्त्रलाई गतिशील र जीवन्त बनाउनसक्ने खुवी नेपाली काँग्रेससँग छ र यो तथ्य अबका दिनहरुमा प्रमाणित हुँदै जानेछ।’

यस्तै कांग्रेसले लोकप्रियतावादलाई अस्वीकार गरेको छ। प्रवक्ता चालिसेले निर्वाचन आयोगले जारी गरेको आचारसहिंताप्रति  उच्च सम्मान गर्ने पनि जनाएका छन्। तर यसको कार्यान्वयनमा कतिपय दल र तिनका समर्थकहरुबाट भइरहेका खुला उल्लघंनका घटनालाई हामीले सप्रमाण ध्यानाकर्षण गराइएको बताएका छन्।


विशेष महाधिवेशनको पृष्ठभूमिलगायत कारणले पार्टीको नेतृत्व र ग्रासरुटमा कुनै अलमल, असहयोग वा गुनासोको अवस्था नरहेको पनि उनले दावी गरेका छन् । ‘कांग्रेस निर्वाचनसँगै आन्तरिक एकताका सवालमा निरन्तर सुदृढ बन्दै गइरहेको छ।

सबैले निर्वाचनको महत्व र सान्दर्भिकतालाई ह्रदयंगम गरेको परिप्रेक्ष्यमा निवर्तमान पदाधिकारी तथा वरिष्ठ नेतागण क्षेत्र क्षेत्रमा गई सहयोग र निर्देशन दिने कार्यमा क्रियाशील हुनुहुन्छ’ विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया