आइतबार, फागुन ३, २०८२

महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना

मेरोन्यूज २०८२ फागुन २ गते २१:११

काठमाडौँ, २ फागुनः महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक योजना तयार पारी लागू गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अनावश्यक घुइँचो हुँदाको अवस्थालाई मध्यनजर गर्दै सवारी आवागमन रुट तय गरी पार्किङको स्थान तोकेर प्रहरीले सुरक्षा योजना तयार पारी लागू गरेको हो ।

पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न कार्यालयले सुरक्षा योजना तयार पारी आजदेखि लागू गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको बताए ।

उनका अनुसार निश्चित ठाउँमा पार्किङको व्यवस्थासहित रुट पनि तोकिएको छ । सिफल चौरमा दर्शानार्थीको सवारी, पासवाहक सवारीसाधन, सुरक्षाकर्मीका सवारीसाधनलाई पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए ।

गुहेश्वरी पारि तीर्थयात्री, दर्शानार्थीका सवारीसाधन, पशुपति विकास कोषको कार्यालय/भण्डारखालमा पासवाहक सवारीसाधन, तिलगङ्गा आँखा अस्पताल र करिडोरमा तीर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारीसाधनलाई पार्किङको व्यवस्था गरिएको उनले बताए।

त्यस्तै वनकाली क्षेत्रमा शिविर सञ्चालन गर्ने सङ्घसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारीसाधन, प्रहरी वृत्त गौशालामा पासवाहक सवारीसाधन र सरकारी सवारीसाधन राख्ने व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।

विभिन्न नाका भई भित्रिने भक्तजनका सवारीसाधन छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार अन्य जिल्लाबाट आउने भक्तजनको सुविधाका लागि निर्बाध आवतजावतको व्यवस्था मिलाउनाका साथै पार्किङ गर्ने ठाउँसमेत तोकिएको छ ।

दर्शनार्थीको घुइँचोका कारण गौशाला क्षेत्र भई चक्रपथ क्षेत्रमा सञ्चालन हुने सवारीसाधन नियमित चलाउन नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यसका लागि करिडोर सडक र भित्री सडकमा बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाइएको छ। चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्बाध रूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भीडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था भएको खण्डमा डाइभर्सन गरी वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइने पनि सुरक्षा योजनामा उल्लेख छ ।

तीनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारी साधनहरुलाई आवश्यकताअनुसार निषेध गरिएको छ ।

वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भीडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने प्रहरी उपरीक्षक सुवेदीले बताए ।

प्रतिक्रिया