बुधबार, फागुन १३, २०८२

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

मेरोन्यूज २०८२ फागुन १३ गते १५:५८

नेपालगञ्ज। बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी० खोप लगाइएको छ । सतप्रतिसतलाई खोप लगाउने लक्ष्य राखिएकामा यस वर्ष ९२ प्रतिशतलाई लगाइएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले आठ हजार ५८४ जनालाई खोप लगाउने लक्ष्य राखिएकामा पाठेघरको ९२ प्रतिशतलाई लगाइएको जानकारी दिए । “केही अपवादका रूपमा छुटेको होला तर हामीले एचपिभी खोप लगाउने कार्य सम्पन्न गरेका छौँ”, उनले भने ।

जनस्वास्थ्य अधिकृत गिरीका अनुसार कोहलपुर नगरपालिकामा एक हजार ७००, खजुरा गाउँपालिकामा एक हजार, जानकी गाउँपालिकामा ६७०, नरैनापुर गाउँपालिकामा ७३१ जनालाई पाठेघरको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । बैजनाथ गाउँपालिकामा ८८१, राप्तीसोनारी गाउँपालिकामा ५८०, नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार ९०९ र डडुवा गाउँपालिकामा ४२६ जनालाई खोप लगाइएको छ । सबैभन्दा कम डुडुवा गाउँपालिका ४२६ र सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार ९०९ जनालाई उक्त खोप लगाइएको उनले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा विद्यालय जाने छ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कूल आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाइने लक्ष्य राखिएको थियो । कक्षा ६ मा अध्ययन गर्ने छात्रा, विद्यालय नजाने १० वर्षका किशोरी र गत वर्ष सञ्चालित एचपिभी खोपका लागि निर्धारण लक्षित समूहका किशोरी तथा छात्रामध्ये खोप लगाउन छुटेका, हाल कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोपको लक्षित समूह मानिएको थियो ।

खोपले एचपिभी प्रजाति १६ र १८ को कारणबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने भएकाले यो सुरक्षित र प्रभावकारी रहेको जनस्वास्थ्य अधिकृत गिरीले बताए । उनका अनुसार नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ । गत माघ २५ देखि यही फागुन ११ गतेसम्म एचपिभी खोप लगाइएको थियो । गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई खोप लगाइएको थियो ।

प्रतिक्रिया