पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा

पछिल्लो हवाई आक्रमण र सीमापार झडपपछि पाकिस्तानले अफगानिस्तानसँगको द्वन्द्व अब ‘खुला युद्ध’ मा रूपान्तरित भएको घोषणा गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्समार्फत देशको ‘धैर्य समाप्त भएको’ जनाउँदै अब दुई देशबीच खुला युद्धको अवस्था सिर्जना भएको बताए ।
उनले नाटो सेना फिर्ता भएपछि पाकिस्तानले अफगानिस्तानमा शान्ति स्थापना हुने अपेक्षा गरेको तर तालिबान सरकारले त्यसको विपरीत बाटो रोजेको आरोप लगाए । तालिबानले अफगान जनताको कल्याण र क्षेत्रीय स्थिरतामा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिए पनि अफगानिस्तानलाई ‘भारतको उपनिवेश’ बनाइएको, विश्वभरका उग्रवादीलाई एकत्रित गरिएको र ‘आतङ्कवाद निर्यात’ सुरु गरिएको उनको दाबी थियो । “हाम्रो धैर्य अब समाप्त भएको छ । अब हामीबीच खुला युद्ध छ”, उनले उल्लेख गरे । उनका अभिव्यक्तिबारे अफगान सरकारी अधिकारीहरूको तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
रक्षामन्त्री आसिफको टिप्पणी पाकिस्तानले काबुल, कान्दाहार र पक्तिया प्रान्तमा हवाई आक्रमण गरेको केही घण्टापछि सार्वजनिक भएको हो । पाकिस्तानी अधिकारीहरू र अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार यी आक्रमणहरू अफगानिस्तानबाट भएको सीमापार आक्रमणको प्रत्युत्तरस्वरूप गरिएको दाबी गरिएको छ । केही महिनाअघि कतार र टर्कीको मध्यस्थतामा युद्धविराम भएको भए पनि पछिल्लो घटनाक्रमले तनाव पुनः चुलिएको देखिएको छ ।
दुवै देशले एकअर्कालाई ठूलो क्षति पुर्याएको दाबी गरेका छन् तर ती विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् । अफगानिस्तानको रक्षा मन्त्रालयले रातिको समयमा भएको कारबाहीमा ५५ पाकिस्तानी सैनिक मारिएको, केहीको शव अफगानिस्तानतर्फ लगिएको र ‘धेरैलाई जीवितै नियन्त्रणमा लिइएको’ जनाएको छ ।
मन्त्रालयका अनुसार आठ अफगान सैनिक मारिएका र ११ जना घाइते भएका छन् । १९ पाकिस्तानी चौकी र दुई आधार ध्वस्त पारिएको तथा बिहीबार सुरु भएको झडप करिब चार घण्टापछि मध्यरातमा रोकिएको दाबी गरिएको छ ।
यता पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले दुई पाकिस्तानी सैनिक मारिएको र तीन जना घाइते भएको जानकारी दिए । प्रधानमन्त्री शाहबाज सरिफका प्रवक्ता मुशर्रफ अली जैदीले कुनै पनि पाकिस्तानी सैनिक पक्राउ परेको दाबी अस्वीकार गर्दै कम्तीमा १३३ अफगान लडाकू मारिएको र २०० भन्दा बढी घाइते भएको उल्लेख गरे । उनका अनुसार २७ अफगान चौकी ध्वस्त पारिएका र नौ जना लडाकूलाई नियन्त्रणमा लिइएको छ । हताहत कहाँ भएका भन्ने स्पष्ट नगरिए पनि काबुल, पक्तिया र कान्दाहारका सैन्य लक्ष्यमा आक्रमणबाट ठूलो क्षति पुगेको अनुमान गरिएको उनले जनाए ।
इस्लामाबादस्थित दुई वरिष्ठ सुरक्षा अधिकारीले केही सीमा चौकीमा अफगान सेनाले सेतो झण्डा उठाएको दाबी गरेका छन्, जसलाई सामान्यतः गोलीबारी रोक्ने सङ्केतका रूपमा लिइन्छ । नाम उल्लेख नगर्ने सर्तमा उनीहरूले पाकिस्तानी सेनाले अफगान तालिबानको ‘अप्रेरित आक्रमण’ को कडा जवाफ दिएको र सीमावर्ती क्षेत्रका महत्त्वपूर्ण तालिबान चौकीहरू ध्वस्त पारेको बताएका छन् ।
रक्षामन्त्री आसिफले तालिबान सरकारले महिलासहितका आधारभूत मानव अधिकारलाई इस्लाम अन्तर्गत प्रत्याभूत गरिएका अधिकारसमेत बेवास्ता गरेको आरोप पनि लगाए । यद्यपि त्यसबारे विस्तृत प्रमाण प्रस्तुत गरिएको छैन । पाकिस्तानले प्रत्यक्ष र मित्र राष्ट्रमार्फत स्थिरता कायम गर्न प्रयास गरेको तर पाकिस्तानलाई लक्षित गरी आक्रामकता बढेपछि आफ्ना सशस्त्र बलले ‘निर्णायक जवाफ’ दिएको उनको भनाइ थियो ।
तनाव बढेसँगै मानवीय असर पनि देखिन थालेको छ । पाकिस्तानका अधिकारीहरूले उत्तरपश्चिमी तोरखाम नाकाबाट फर्किन प्रतीक्षारत दर्जनौँ अफगान शरणार्थीलाई झडप फैलिएपछि सुरक्षित स्थानमा सारिएको बताएका छन् ।
पाकिस्तानले अक्टोबर २०२३ देखि कागजातविहीन आप्रवासीविरुद्ध व्यापक कारबाही सुरु गरेको थियो । त्यसक्रममा धेरैलाई गिरफ्तारी र जबरजस्ती निष्कासनबाट जोगिन देश छाड्न आग्रह गरिएको थियो भने अरूलाई निष्कासन गरिएको थियो । इरानले पनि सोही समयमा आप्रवासीविरुद्ध कडाइ सुरु गरेको थियो ।
त्यसयता लाखौँ मानिसहरू सीमा पार गर्दै अफगानिस्तान फर्किएका छन् । तीमध्ये दशकौँअघि पाकिस्तानमा जन्मिएर त्यहीँ जीवन र व्यवसाय स्थापना गरेका व्यक्ति पनि समावेश छन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार गत वर्ष मात्र २९ लाख मानिस अफगानिस्तान फर्किएका थिए भने यस वर्ष अहिलेसम्म करिब ८० हजार जना फर्किसकेका छन् ।

















तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गता स्रोत कक्षा सञ्चालन
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता
बागलुङ कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
Tipper driver dies from electrocution in Siraha
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया