निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

नारायणगढ (चितवन)। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन प्रहरीको भविष्य उज्यालो बनाउन यहाँको उद्योग सङ्घ, सिटिइभिटी तथा घरेलु कार्यालयसँग सहकार्य गरी दुई चरणमा व्यावसायिक तालिम उपलब्ध गराउने पहल गरिएको बताए ।
उनका अनुसार एक वर्षमा एक हजार २०० जनालाई र अर्को वर्ष बाँकीलाई तालिम दिने व्यवस्था गरिनेछ । समिति गठन गरी त्यसैमार्फत इच्छुक निर्वाचन प्रहरीलाई निःशुल्क रूपमा तालिम उपलब्ध गराइने उनले जानकारी दिए ।
निर्वाचनका क्रममा उत्कृष्ट काम गरी निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकामा निर्वाचन प्रहरीलाई धन्यवाद व्यक्त गर्दै प्रजिअ अर्यालले भने, “चितवनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना भएर काम गरेका निर्वाचन प्रहरीलाई हामीले बिदाइ गरेका छौँ । उनीहरूलाई घर मात्रै नपठाएर एउटा प्याकेजसहित बिदाइ गरेका हौँ ।”
बिदाइ कार्यक्रममा जिल्लामा रहेका सिटिइभिटीका कार्यालय प्रमुखहरू, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तथा उद्योग सङ्घका अध्यक्षसहितको टोलीसँग छलफल गरी तालिमको व्यवस्था गर्ने सहमति गरिएको प्रजिअ अर्यालले बताए ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखको संयोजकत्वमा समिति गठन गरी इच्छुक निर्वाचन प्रहरीलाई तत्काल सम्पर्क गरेर तालिम व्यवस्थापन गरिने उनले जानकारी दिए ।
उनले भने, “यदि तपाईंहरू खाली बस्न चाहनुहुन्न भने सम्पर्कमा आउनुहोस् । निःशुल्क तालिमको व्यवस्था हुनेछ ।” तालिम लिएका व्यक्ति बेरोजगार बस्नुपरेको उदाहरण कम रहेको उल्लेख गर्दै प्रजिअ अर्यालले इच्छुक निर्वाचन प्रहरीलाई व्यावसायिक सीप सिक्न आग्रह गरे । निर्वाचनमा नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरी बलतर्फ ३२५ गरी दुई हजार ७६६ निर्वाचन प्रहरी सहभागी भएका थिए ।















‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
अल्ट्रा धावक टोली भारत प्रस्थान
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
प्रतिक्रिया