बिहीबार, चैत ५, २०८२

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

मेरोन्यूज २०८२ चैत ५ गते १३:५८

काठमाडौँ। काठमाडौँ उपत्यकाको नजिकै रहेको हात्तीवन-चम्पादेवी पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । काठमाडौँ उपत्यकाको कोलाहल वातावरणलाई छल्न र आनन्दको अनूभूति लिनका लागि अहिले दक्षिणकाली नगरपालिकाको हात्तीवनबाट कीर्तिपुर नगरपालिकाको चम्पादेवीसम्म पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँको नयाँ बसपार्कबाट झण्डै १० किलोमिटर दूरीमा रहेको हात्तीवनको फेदबाट सुरु हुने उक्त पदमार्ग तीनदेखि चार घण्टाको पैदलमार्गबाट चम्पादेवीडाँडोमा पुगिन्छ । चम्पादेवीडाँडो समुद्र सतहबाट दुई हजार २८५ मिटर उचाइमा पर्दछ । पदयात्रा, पारिवारिक वनभोज आदिका लागि चम्पादेवी उपयुक्त गन्तव्य मानिन्छ ।

लमजुङका प्रकाश घिमिरेले ‘हात्तीवन-चम्पादेवी पदमार्ग’मा पदयात्रा गर्दा आफूलाई ज्यादै आनन्दित बनाएको बताए । “यस पदमार्गबाट काठमाडौँ उपत्यकाको रमणीय दृश्य हेर्न पाउनुका साथै प्रकृतिसँग रमाउन पाइन्छ”, उनले भने । पदयात्राका क्रममा शरीर थाकेपनि यहाँको प्राकृतिक सौन्दर्यताले पदयात्रीको थकान मेटाउने गरेको उनको अनुभव छ ।

काठमाडौँका पदयात्री डा ज्योति गजुरेलले घना जङ्गल र जैविक विविधताका कारण उक्त पदमार्ग आकर्षक र उत्तम रहेको धारणा राखे । “पदमार्गमा हिँड्दा देखिने लालिगुँरासलगायत विभिन्न प्रजातीका फूल, काफल र विभिन्न किसिमका बोटबिरुवा र चराचुरुङ्गीको आवाजले आनन्द तुल्याएको छ”, उनले भने ।

चम्पादेवीडाँडोमा जानका हात्तीवनको फेदीका साथै बोसन गाउँबाटसमेत जान सकिन्छ । यसबाहेक फर्पिङबाट पनि यहाँ जान सकिन्छ । कीर्तिपुरको मच्छेगाउँ र चन्द्रागिरि नगरपालिकाबाट चम्पादेवी पुग्न सकिन्छ । बोसन गाउँ दक्षिणकाली नगरपालिका-१ मा पर्दछ । बोसन गाउँका स्थानीय मधुसुदन तामाङले पछिल्लो समय चम्पादेवी पदमार्गमा जाने पर्यटकको सङ्ख्या बढेको बताए । उनका अनुसार अन्य दिनमा दुई सयदेखि तीन सयसम्म पदयात्री जाने गरेकामा शनिबार र बिदाको दिनमा हजारौँ पदयात्री जाने गरेका छन् ।

चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले विसं २०६६ देखि सुरु भएको उक्त पदमार्ग अहिले स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको बताए । विसं २०६६ मा नेपाल सरकारको पर्यटन पूर्वाधार विकास आयोजनाले रु तीन करोड लगानीमा उक्त पदमार्गको सुरुवात गरेको थियो । यो पदमार्ग काठमाडौँ उपत्यकाकै पहिलो पदमार्ग हो ।

उक्त पदमार्गको विकास र विस्तारका लागि दक्षिणकाली नगरपालिकाले ठूलो लगानी गरेको छ । अध्यक्ष तामाङका अनुसार चम्पादेवीमा मङ्सिर पूर्णिमा र नयाँ वर्षको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । भूकम्पले क्षति पुगेको चम्पादेवी मन्दिर तथा त्यस आसपासको क्षेत्रको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो । उक्त मन्दिर र त्यसवरपरको क्षेत्र पुनःनिर्माणका लागि रु २८ लाख खर्च भएको छ ।

यो पदमार्ग धार्मिक, प्राकृतिक र साहसिक अनुभवका लागि महत्वपूर्ण पदमार्गसमेत हो । यो पदमार्गबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्यका साथै गौरीशङ्कर, लाङटाङलगायतका हिमशृङ्खला सजिलै देख्न सकिन्छ । बोसन गाउँबाट चम्पादेवी मन्दिरसम्म जानका लागि केबुलकारसमेत निर्माण हुन लागेको छ । चम्पादेवीको फेन्ड्रली कम्पनीले दक्षिणकाली नगरपालिका(१ बोसनगाउँबाट कीर्तिपुर नगरपालिका-४ चम्पादेवी डाँडासम्म केबुलकार निर्माण गर्न लागेको हो ।

केबलकार निर्माणका लागि वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेको अध्यक्ष तामाङले जानकारी दिए । उनका अनुसार रु पाँच अर्ब लगानीमा निर्माण हुन लागेको उक्त केबुलकारको काम दुई वर्षभित्र पूरा हुनेछ । दुई किलोमिटर लम्बाई भएको उक्त केबुलकारमा १२ टावर हुनेछन्, भने मानिस बोक्ने ३४ गोण्डुला, सामान बोक्ने दुई गोण्डुला र मर्मतको सामान बोक्ने एक गोण्डुला हुनेछन् । केबुलकार निर्माण भएपछि बोसन गाउँबाट चम्पादेवी पुग्न सात मिनेट लाग्नेछ ।

प्रतिक्रिया