सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन भुवन नगरकोटी एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्।
आज ३-अन्डर ६६ खेलेका उनले समग्रमा ३-अन्डर १ सय ३५ को स्कोरमा शुक्र बहादुर राईलाई एक स्ट्रोकले पछि पारेका हुन्। आज २-अन्डर ६७ खेल्दै समग्रमा २-अन्डर १ सय ३६ सहित शुक्र दोस्रो स्थानमा झरे।
१-ओभर ७० को स्कोर बनाएका जयराम श्रेष्ठ समग्रमा १-ओभर १ सय ३९ सहित तेस्रो स्थानमा झरेका छन्।समग्रमा २-ओभर १ सय ४० को स्कोरमा सञ्जय लामा चौथो स्थानमा उक्लिए। उनले लगातार दोश्रो दिन १-ओभर ७० को कार्ड बनाए। पहिलो दिनका संयुक्त लिडर भुबहादुर गुरुङले आज ५-ओभर ७४ को प्रदर्शन गरे। समग्रमा ५-ओभर १ सय ४३ सहित घरेलु प्रो भुबहादुर पाँचौं स्थानमा तल झरे।
समग्रमा ६-ओभर १ सय ४४ स्कोर खडा गरेका रमेश अधिकारीले दोस्रो दिनको खेल ४-ओभर ७३ मा सकाए। उनी छैटौं स्थानमा रहे। समग्रमा ७-ओभर १ सय ४५ को स्कोरका साथ सुरेश तामाङ र भुवन कुमार रोक्काले सातौं स्थान बाँडे। आज सुरेशले २-ओभर ७१ र भुवनले ४-ओभर ७३ खेले। आज ४-ओभर ७३ स्कोर बनाएका रवि खड्का समग्रमा ८-ओभर १ सय ४६ सहित नवौं तथा समग्रमा ९-ओभर १ सय ४७ सहित नेपाल नम्बर एक गल्फर निरज तामाङ दशौं स्थानमा रहेका छन्। निरजले आज ४-ओभर ७३ को प्रदर्शन गरे।
यसअघि लगातार दुई प्रतियोगिता जितेका भुवनले शीर्षस्थानमा एकल अग्रता बनाउने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। उनले तेस्रो, चौथो, पाँचौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे। ५-पारको छैटौं होलमा डबल बोगी खेपे। यसपछि १० औं र १३ औं होलमा एक-एक सट बचाउँदा ११ औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३४ मा पुरा गरे।
शुक्रले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बोगी खेपे। दोस्रो र छैटौं होलमा एक-एक सट बचाए। यसपछि ब्याक नाइनमा सम्हालिंदै ३-अन्डर ३२ को स्कोर निकाले। उनले १०औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे।
जयरामले तेस्रो होलको बर्डीका विरुद्ध दोस्रो र चौथो होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन १-ओभर ३५ खेले। यसपछि १०औं होलमा बर्डी र १८औं होलको बोगीले ब्याक नाइन इभन-पार ३५ मा सकाए।
एमेच्योरतर्फ राहुल विश्वकर्मा ८ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। उनले आज ३-ओभर ७२ सहित समग्रमा ३-ओभर १ सय ४१ को स्कोर निकाले। पहिलो दिन संयुक्तरुपमा शीर्षस्थानमा रहेका राहुल समग्रमा भने पाँचौं स्थानमा झरे। किशन परियारले ३-ओभर ७२ मा दोस्रो दिनको खेल सकाए। उनले समग्रमा ११-ओभर १ सय ४९ स्कोर जोडे। एमेच्योरतर्फ यी दुईले मात्र कट बनाए।
समग्रमा १२-ओभर १ सय ५० स्कोरमा कट लागु हुँदा १८ प्रो र २ एमेच्योर गरी २० जनाले अन्तिम दिनको लागी स्थान सुरक्षित गरे। प्रो तर्फ तोरण विक्रम शाही, रामे मगर, वसन्त राज गुरुङ, प्रदीप कुमार लामा, सुमन परियार, शिव कुमार माझी, दिनेश प्रजापति र दिपक मगरले कट बनाए।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको छ।
सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको छ। कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले १ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। यस्तै दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख २५ हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। साथै शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

















चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया