मंगलबार, वैशाख ८, २०८३

एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार

मेरोन्यूज २०८३ वैशाख ८ गते ११:२६

काठमाडौं । एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड (एमएलपिएल)को क्रेडिट रेटिङ अपग्रेड गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

रेटिङ संस्था इक्रा नेपालले कम्पनीको सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरलाई ध्यानमा राखी क्रेडिट रेटिङ अपग्रेड गरेको छ । कम्पनीको दीर्घकालीन कर्जा रेटिङ एलबिबी प्लसबाट बढाएर र एलबिबिबी माइनस गरिएको छ ।

यस्तै, अल्पकालीन रेटिङ ए–४ प्लसबाट सुधार भई ए–३ पुगेको छ । यो रेटिङ अपग्रेडले कम्पनीको समग्र क्रेडिट प्रोफाइल सुदृढ बनाउने दिशामा भएको निरन्तर प्रगतिलाई देखाउने बताइएको छ । कम्पनीले विशेषगरी मोबाइल फोन फाइनान्सिङको क्षेत्रमा राम्रो रिकभरी संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाएका कारण सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार गरेको बताइएको छ ।

कम्पनीले नाफा आर्जनको स्तर पनि सन्तुलित रूपमा कायम राखेको बताइएको छ । कम्पनीको नेट इन्ट्रेस्ट मार्जिन स्थिर रहेको छ भने सञ्चालन खर्च नियन्त्रणमा राख्दा निरन्तर सञ्चालन नाफा कायम राख्न सहयोग पुगेको छ ।

साथै, कम्पनीले करिब ९६ प्रतिशतको बलियो प्रावधान कभरेज कायम राखेको र यसले वित्तीय स्थायित्व बढाउनुका साथै सम्भावित नोक्सानी बहन गर्ने क्षमता सुदृढ बनाएको हो । यसको कर्जा पोर्टफोलियो पनि विविध र स–साना खण्डमा विभाजित छ, जसमा मध्यम लोन टु भ्याल्यु अनुपातमा ध्यान दिइएकाले जोखिम न्यूनीकरणमा मद्दत पुगेको जनाइएको छ ।

यो समूहको सशक्त बजार उपस्थिति र अग्रणी ब्रान्डसँगको साझेदारीले व्यवसाय विस्तारमा सहयोग गर्नुका साथै वित्तीय संस्थाबाट हुने लगानीको पहुँचलाई सहज बनाएको छ ।

सन् २०११ मा स्थापना भएको एमएडब्लू हायर पर्चेज प्रा. लि. नेपाल राष्ट्र बैंकको नियमन तथा मार्गदर्शनमा सञ्चालन हुँदै आएको छ। कम्पनीको केन्द्रीय कार्यालय विराटनगरमा रहेको छ भने काठमाडौंको त्रिपुरेश्वरस्थित शाखाबाट मुख्य सञ्चालन गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।

ग्राहकलाई सहज, छरितो र झन्झटरहित हायर पर्चेज सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ।

प्रतिक्रिया