बिहीबार, चैत ५, २०८२

नेविसंघकाे म्याद सकियोः महाधिवेशन गर्न पार्टी नेताहरुलाई दबाब

मेरोन्यूज २०७८ माघ १७ गते १५:२४

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दवाव दिन सुरु गरेका छन ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो संगठन नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दवाव दिन सुरु गरेका हुन ।

नेविसंघलाई गतिशील बनाई क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरुलाई दवाव दिने अभियान सुरु गरिएको नेविसंघमा आवद्ध विद्यार्थी विनोदराज जोशीले बताए ।

त्यसक्रममा विद्यार्थीहरुले नेविसंघको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गराउन दवाव दिँदै पार्टीका केन्द्रीय सदस्य एवम् नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलाई अनुरोध पत्र पनि बुझाएका छन ।

अभिभावकलाई पत्र भनेर बुझाएको सो अनुरोध पत्रमा तत्काल तदर्थ समिति गठन गरी नेविसंघको महाधिवेशन सम्पन्न गर्न पार्टीका नेताहरुसँग माग गरिएको पनि जोशीले बताए ।

यता, सो पत्र बुझ्दै काँग्रेस केन्द्रीय सदस्य महरले नेविसंघलगायतका भ्रातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरुलाई अनौपचारिक रुपमा दवाव दिँदै आएको र अव बस्ने केन्द्रिय समिति बैठकमा औपचारिक रुपमै छलफल गराउने प्रतिवद्धता जनाए ।

उनले पार्टी पदाधिकारीहरुसमेत भातृ संस्थाहरुको महाधिवेशन छिटो गराउन गम्भिर नभएको उल्लेख गर्दै उनीहरुमाथि दवाव दिन नेविसंघमा आवद्ध विद्यार्थीहरुलाई आग्रह गरे ।

पार्टीको विधान र संघीयताको भावना अनुसार काँग्रेस भ्रातृ संस्थाहरुको विधान मस्यौदा भएपनि पार्टीले स्विकृति नदिएका कारण नेविसंघलगायतका भातृ संस्थाहरु पूरानै विधानमा चलिरहेका छन ।

जसका कारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पनि छिटो भन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने त्यसमा आवद्ध विद्यार्थीहरुको माग छ ।

नेविसंघ सभापति राजिव ढुंगाना पार्टीको केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् ।

नेबि संघसहित कांग्रेसका ८ वटा भ्रातृ संस्थाको म्याद थप गरेर पनि महाधिवेशन हुन सकेको छैन । गत साउन ३१ मा सकिएको भ्रातृ संगठनको म्याद केन्द्रीय समितिले गत साउन ३१ गते छ महिनाका लागि थप गरेको थियो ।

नेविसंघसहित नेपाल तरूण दल, नेपाल किसान संघ, नेपाल आदिवासी–जनजाति संघ, नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल ठाकुर समाज र नेपाल तामाङ संघको विधानअनुसार म्याद सकिएको छ ।

यस्तै, तरूण दल अध्यक्ष जितजंग बस्नेत, मुश्लिम संघ अध्यक्ष अब्दुल सतार पनि कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया