सोमबार, पुष १४, २०८२

पुस्तकालय भवन बनाउन गरिएको टेण्डरमा सेटिङ !

मेरोन्यूज २०७८ माघ १९ गते १७:३४

काठमाडौँ । सरकारले नयाँ पुस्तकालय भवन बनाउन गरिएको टेण्डरमा सेटिङ भएको आरोप लागेको छ ।

दुई वर्षभित्र बनाइसक्नुपर्ने सो भवन निर्माणमा गरिएको टेण्डर प्रकृयामा सेटिङ भएको निर्माण व्यवसीायीहरुले आरोप लगाएका हुन् ।

७० करोड लागतमा काठमाडौंको जमलमा निर्माण हुन लागेको सो भवनको टेण्डर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकालेको हो ।

नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माणको टेण्डरलाई संकुचित पारेर बिना प्रतिस्पर्धा एउटै कम्पनीलाई दिने तयारी स्वरुप सीमित मापदण्ड राखेर टेण्डर निकालिएको हो ।

२०७८ माघ १० गते प्रकाशित गरिएको टेण्डरमा पुस्तकालयको साधारण भवन निर्माणमा अनावश्यक मापदण्ड राखेर सेटिङमा एकै कम्पनीलाई दिन लागिएको छ ।

भवनमा प्रतिस्पर्धालाई खुम्च्याएर निर्माण कम्पनीहरूलाई पाखा लगाउने र कथित ‘जोइन्ट भेन्चर’लाई निर्माणको जिम्मा दिने योजनाअनुरुपको टेण्डर निकालिएको एक निर्माण व्यवसायीले बताए ।

उनका अनुसार निर्माण व्यवसायीहरुको प्रतिस्पर्धा नै हुन नसक्ने गरी मापदण्ड तयार गरेर सीमित पक्षलाई लाभ हुनेगरी टेण्डर निकालिएको छ ।

कम्तीमा प्रतिबेसमेन्ट १३८५ स्क्वायर मिटर भएको डबल बेसमेन्ट तयार गरेको, ५०० सिट क्षमताको सभाहल निर्माण कार्य गरेको, अन्तर्राष्ट्रिय अभ्यासको पुस्तकालय भवन निर्माण गरेको, मन्दिर तथा पुरातत्व निर्माण तथा पुनर्निर्माणजस्ता काम गरिसकेको निर्माण कम्पनीमात्र सहभागी हुन पाउने प्राविधिक मापदण्डहरु राखेर मन्त्रालयले प्रतिस्पर्धा खुम्च्याएको निर्माण व्यवसायीहरुले जनाएका छन् ।

‘शिक्षा मन्त्री र मन्त्री निकटका कर्मचारीको मिलेमतोमा यसरी आफ्ना निकट ‘जोइन्ट भेन्चर’लाई भवन निर्माणको ठेक्का दिन लागिएको छ, यसमा मिलोमतो भयो’, ती व्यवसायीको गुनासो छ ।

सो कार्यको लागि अनावश्यक किसिमका मापदण्ड राखेर टेण्डर प्रकाशित भएकोले सबै निर्माण व्यवसायीले त्यसको विरोध गरेका भएपनि उनीहरु बाहिर बोल्न भने सकेका छैनन् ।

निर्माण गर्न लागिएको राष्ट्रिय पुस्तकालयको ५ तले भवन अपाङ्गता, बालबालिका र ज्येष्ठ नागरिकमैत्री हुनेछ ।

राष्ट्रिय पुस्तकालयले सूचना निकालेर भवन निर्माणका लागि टेन्डर आव्हान गरेको हो । निर्माण कम्पनीले ३० दिनसम्म टेन्डरको निवेदन दिन सक्ने पुस्तकालयका प्रमुख दशरथ मिश्रले जानकारी दिए ।

टेन्डरको निवेदन दिन निर्माण कम्पनीको टर्नओभर ५४ करोड १४ लाख ५ हजार हुनुपर्ने छ । सेक्युरिटी भने २ करोड ९ लाख ३४ हजार ५ सय राख्नुपर्नेछ । टेन्डर परिसकेपछि २ वर्ष भित्र बनाइसक्नुपर्नेछ ।

मिश्रका अनुसार ७४ करोडको हाराहारीमा भवन बन्ने छ । २०७२ को भूकम्प पछि पुस्तकालय रहेको साबिकको हरिहर भवन ध्वस्त भएको थियो । अहिले नेपाल राष्ट्रिय पुस्तकालय अस्थायी रूपमा मानव स्रोत तथा विकास केन्द्र सानोठिमी भक्तपुरमा सारिएको छ ।

नेपालमा डबल बेसमेन्ट भवन निर्माणको अनुभव हासिल गरेका कम्पनीको संख्या सीमित छ, त्यसमाथि भवनको बेसमेन्ट निर्माणभित्र पनि साना–साना क्राइटेरिया तोकेर प्रतिस्पर्धा खुम्च्याइएको ब्यवसायीहरुको दाबी छ ।

टेन्डरको सूचनाअनुसार एउटै भवनमा प्रतिबेसमेन्ट १३८५ वर्गमिटरमा ६०० एमएम मोटाइको १४ मिटर गहिरो पाइलिङ गरेको कम्पनी मात्रै यो ठेक्काको प्राविधिक मूल्यांकनमा पास हुनसक्छ ।

त्यति मात्रै नभएर डबल बेसमेन्टमा एम ३० र त्यसभन्दा माथिको क्रंक्रिटिङको विशेष अनुभव (४००० घनमिटर) मागिएको छ । यसले एउटै भवनमा डबल बेसमेन्टमा मात्रै काम गरेको अनुभवले नहुने र क्रंक्रिटिङका ठूलो काम गरेको अनुभव पनि चाहिने छ ।

‘सबै मापदण्ड हेर्दा कुनै एक कम्पनीलाई लक्षित गरेको देखिन्छ त्यसको नतिजा त केही दिनमा थाहा भैहाल्छ नि’, ती निर्माण व्यवसायीले भने ।

उनका अनुसार यस्तो अनुभव समानान्तर निर्माण कम्पनी र अरु एक दुई कम्पनीसँग मात्रै भएकाले ती कम्पनीलाई मात्र उपयुक्त हुनेगरी टेण्डर प्रकाशित हुनुले स्वाभाविक रुपमा करोडौंको कमिशनको खेल रहेको छ ।

‘बढीमा तीन कम्पनीसँग यस्तो अनुभव देखिन्छ हेर्दै जानुहोला टेण्डर पनि ती कम्पनीको पर्नेछ’, ती व्यवसायीको दावी छ । त्यो कम्पनीको नाम भने उनले भन्न चाहेनन् ।

प्रतिक्रिया