गीत संगित
‘को होला त्यो’ गीतका गायक अब लोकदोहोरीमा पनि
सुनीलले स्वर भरेका ५ वटा गीत करोड क्लबमा

‘को होला त्यो म सँग आँखा जुधाउने…..’ जब यो गीत बज्छ, गीत–संगीतका पारखीहरुले सुनील गिरीलाई सम्झिहाल्छन् । अनि त्यसपछि ?
त्यसपछि श्रोताहरु गुन्गुनाउन पुग्छन्,
न चिनेनी म सँग अलि लजाउने
को होला त्यो मसँग आँखा जुधाउने
न चिनेनी म सँग अलि लजाउने
डाँडापारीको गावैंमा
गोधुली त्यो साँझैमा
एक करोड भन्दा बढी भ्युज पाएको यस गीतका गायक सुनील गिरीको नाम नसुन्ने कमै होलान् । रेडियो, टिभी, युट्युव र टिकटकमा हिट् गीतका गायकको गीत जति हिट् छ, गायक स्वयम् भने गुमनाम जस्तै लाग्छ । बाटोमा वा कहिंकतै देख्यो भने नाम र अनुहारले यी पप तथा लोक पप गायकलाई कमैले चिन्छन् ।
तनहुँका ठिटा सुनीलले स्वर भरेका ५ वटा गीत करोड क्लबमा पुगिसकेका छन् । त्यसबाहेक अरु गीतहरुमा पनि झण्डै करोड भ्युज पुग्नै लागेको छ ।
सोल्टिनी, देउराली भन्ज्याङ, कस्तो यो मन, लेकाली माया, लाहुरे, कस्तो यो मन, झरी परेको रात, मुग्लान जस्ता उनका गीतहरु लोकप्रिय छन् ।
फरक प्रस्तुती, लयका कारण लाखौं लाख दर्शक, श्रोताहरुको मनमा बेग्लै स्थान बनाएका छन् ।
०६९ सालमा ‘को होला त्यो’ गीत रेकर्ड गरिसकेपछि सुनीलले पछाडि फर्केर हेर्नु परेन । नेपाली सांगितिक क्षेत्रमा उनको स्वर र गायन क्षमताले बेग्लै उपस्थिति जनायो । ०७० मा त कालिका एफएमले उनलाई ‘बेस्ट डेब्यु अफ द इयर’ प्रदान गर्यो । अहिलेसम्म ‘को होला त्यो’ गीतका मेल, फिमेल गरेर पाँच वटा भर्सन आईसकेका छन् ।
सुनीलले गाएका गीतहरुमा ९९ प्रतिशत आफ्नै रचना छ । आफ्ना गीतहरुमा शब्द, संगीत, कम्पोज पनि उनले आफै गर्छन् । प्राय: यात्रा गरेर गीत लेख्न रुचाउने सुनीलले पहिलो गीत ‘को होला त्यो’ पनि यात्राकै क्रममा लेखेका थिए ।
एक पटक उनी मोटरसाइकलमा सेतो गुम्बा घुम्न गएका थिए । त्यहाँ कोही युवती उनको नजरमा परिन् । हरियाली त्यही डाँडामा तिनै युवतीप्रतिको कौतुहलताले यो गीत रचिएको थियो । जसले अहिले करोड भन्दा बढी भ्युज पाइसकेको छ ।
तनहुँको दमौली नजिकै व्यासमा जन्मिएका हुन्, सुनील । गाउमा जन्मिएकाले गाउघरमा बोलिने लवज, भाषा, शब्द टपक्क टिपेर गीत बनाउन उनलाई सजिलो पनि भइदियो ।
‘म जन्मिएको ठाउमा चराचुरुङ्गी कराउने, पँधेरामा भेटौंला, मेलापात जाऔंला भन्ने वार्तालापहरु सुनिन्थे ।’ सुनीलले आफ्नो अनुभुति सुनाए, ‘मैले त्यही कुरा गीतमा उतारें ।’ ३/४ कक्षामा पढ्दै गर्दा सुनीललाई गीत, संगीतप्रति रस बसिसकेको थियो । ५/६ कक्षा पढ्ने बेला त उनले गीत, कविता लेख्न थालिसकेका थिए ।
अहिलेसम्म उनले लेखेका, कम्पोज गरेका गीतहरुको संख्या एक हजार पुगिसकेको छ ।

तनहुँका मगरहरुले गाउने गीत कौडा निकै प्रचलनमा छ । सोल्टिनी भनि बोलाको गीतमा त्यसैको झझल्को पाइन्छ । लोक मौलिक गीतमा उनले प्रशस्त स्वर भरेका छन् । उनका सबैजसो गीतमा लोक गीतको प्रभाव छ ।
सुनीलले आफ्नै युट्युव च्यानल छ । सुनील गिरी युट्युव च्यानलमा ६१ वटा अडिओ र भिडिओ गीत पोस्ट गरिएका छन् । अरु भन्दा उनी भाग्यमानि गायक हुन् । थोरै गीत सार्वजनिक गरेर करोड क्लबमा परेका उनका गीतहरु दर्शक, श्रोताहरुले अत्यन्तै रुचाएका छन् । संख्यात्मक भन्दा गुणात्मक कुरामा उनले बढी जोड दिने गर्छन् ।
रेन्बो इन्टरनेश्नल कलेजबाट अंग्रेजी विषयमा स्नातक गरेका सुनीलले सारेगम कला केन्द्रबाट म्युजिक अध्ययन गरे । त्यहाँबाट चार वर्ष म्युजिक अध्ययन गरेका बालाजुस्थित गान्धर्वबाट म्युजिकमै पाँचौ वर्ष पूरा गरिसकेका छन् ।
अहिलेसम्म लोक मौलिक गीतमा रमाएका सुनील अब भने छिट्टै नै दोहोरी गीत लिएर आउँदैछन् ।
गायिका सुनिता तिमिल्सिनासँग गाएको दोहोरी गीत छिटै नै सार्वजनिक गर्ने तयारीमा छन् । जसमा नायक पल शाह र प्रकृति श्रेष्ठले अभिनय गरेका छन् ।
गीत, संगीतमै पूर्ण कालिन रुपमा समर्पित छन् गायक सुनिल । ‘संगीतबाट कहिल्यै अलग हुन नपरोस् ।’ उनी भन्छन्, ‘दर्शक, श्रोताहरुलाई हरेक वर्ष कोशेली दिइरहन पाउँ ।’
प्रतिक्रिया