मंगलबार, पुष १५, २०८२

भारतमा दैनिक संक्रमितको संख्या घट्दो क्रममा

मेरोन्यूज २०७८ माघ २५ गते १४:१४
Coronavirus on scientific background

काठमाडौँ । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित भएका छन् । यसैसँगै भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड २३ लाख ३९ हजार ६११ पुगेको छ ।

महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको सोमबार दोस्रो दिन हो । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरुको संख्या एकाएक बढेको थियो ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले मात्रै एक हजार १८८ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएयता हालसम्म पाँच लाख ४ हजार ६२ जनाको मृत्यु भएको पनि समाचारमा जनाइएको छ ।

सोही अवधिमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या भने एक लाख ८० हजार ४५६ रहेको छ । यसैसँगै हालसम्म कोरोना भाइरसबाट चार करोड ८४ हजार ६५८ जना निको भएका छन् ।

एउटै अवधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या दोब्बरभन्दा बढी रहेको छ । त्यसैले सक्रिय संक्रमितहरुको संख्या पनि घट्दै गएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कूल संख्या ९ लाख ९४ हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया