शनिबार, पुष १२, २०८२

पोखराको फेवातालदेखि सराङकोटसम्म केबलकार सञ्चालन

मेरोन्यूज २०७८ फागुन ६ गते २०:४२

पोखरा । पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोटडाँडासम्म शुक्रबारदेखि ‘अन्नपूर्ण केबुलकार सञ्चालनमा आएको छ ।

फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्नको लागि अन्नपूर्ण केबुलकार प्रालीले केवलकार निर्माण गरेको हो ।

केबुलकार पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो रहेको छ । १३ वर्ष अगाडि अध्ययन भएर २ अर्ब भन्दा बढी लगानीमा निर्माण गरेर शुक्रबार देखि व्यवसायीक सेवा शुरुवात गरिएको अन्नपूर्ण केबुलकार प्रालीका निर्देशक तिर्थ त्रिपाठीले वताए ।

उनले केबुलकारको क्षमता १ घण्टामा २ हजार मान्छेहरु ओहोर दोहोर गराउने सक्ने रहेको बताए । त्रिपाठीले अहिले सञ्चालनमा आएको आधा क्षमताको मात्रै भएकाले जानकारी दिए ।

त्यस्तै, अन्नपूर्ण केबुकार प्रालीका प्रबन्ध निर्देशक दिनेश पौडेलले केबुलकार पोखराको गहना भएको बताए । उनले फेवातालबाट साङकोटसम्म केबुलकारबाट ९ मिनेटमा पुग्न सकिने बताए ।

केबुलकारले आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक संचालन गर्ने तयारी गरेको छ ।

स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको हो । अंग्रेजी नयाँ वर्षका दिनदेखि व्यावसायिक संचालनको योजना रहेपनि प्राविधिक समस्याका कारण ढिलाइ भएको हो ।

केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन एक हजार ४६५ मिटर रहेको छ । प्राकृतिक सुन्दरताले भरिएको पोखरामा केबुलकार पर्यटकको नयाँ गन्तव्य र रोजाइ बन्नेछ ।

प्राकृतिक सुन्दरताले विश्वमा नै ख्याति कमाएको सहरमा नयाँ गन्तव्यले पर्यटकको बसाइ लम्बाउन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

केबुलकार सञ्चालनपछि सुन्दर फेवाको किनारबाट केबुलकारमा चढेर ताल र हिमालर पोखरा शहर हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाएका छन । सराङकोट सूर्योदय र सूर्यास्तसहित हिमाल र तालको दृश्यावलोकनका लागि प्रख्यात छ ।

केबुलकारमा हालसम्म २ अर्ब लगानी भएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न जारी बन्दाबन्दीका कारणले पनि परियोजना सम्पन्न हुन ढिलाइ भएको र लागत बढेको हो । केबुलकारमा जडान गरिएका उपकरण र प्रविधि पछिल्लो समयमा विकास भएको आधुनिक भएको बताइन्छ ।

जापानको ‘निप्पल केबुल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको छ । केबुलकारमा पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी छ। कम्पनीले नेपालीका लागि ७ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय रुपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरिएको छ ।

ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ । स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत आयोजनामा लगानी गरिएको छ ।

प्रतिक्रिया