मंगलबार, पुष २९, २०८२

एमालेसँग दुई चरणमा प्रधानमन्त्रीको वार्ता, गठबन्धन तोडन तयार

मेरोन्यूज २०७८ फागुन १२ गते २१:२८

काठमाडौं । एमसीसी संसदबाट अनुमोदन गराउन जुनसुकै कदम चाल्न तयार देखिएका प्रधानमन्त्री र प्रधानमन्त्रीको दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओली र एमालेका थप केही नेताहरुसँग दुई चरणमा छलफल गरेको छ । संसदको बैठक एक दिन रोकेर प्रधानमन्त्री विपक्षी दलका नेतासँगको छलफलमा बसेका हुन् । संसद भवन बानेश्वरमै दिउँसो र साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा एमाले अध्यक्ष ओलीसहितका नेतासँग प्रधानमन्त्रीले वार्ता गरेका थिए ।

प्रधानमन्त्रीले एमसीसी पास गर्न सहयोग गरेमा आफु गठबन्धन तोडन तयार रहेको र त्यसको तयारी समेत गरिसकेको प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसहितका नेतालाई बचन दिएका छन् । तर एमालेले सभामुख सापकोटाले कि मार्गप्रशस्त गर्नुपर्ने कि माधव नेपाल सहितका १४ सांसदलाई कारवाहीको सूचना सभामुखले टाँस गर्नुपर्ने मागका विषयमा भने दुई पार्टीका वीचमा अझै छलफल जारी छ ।

प्रधानमन्त्रीले त्यस बारेमा पनि छलफल गर्न सकिने जवाफ एमालेलाई दिएका छन् । समसामायिक राजनीतिक विषयमा खुलेर दुई पार्टीले छलफल गरेको र निश्कर्ष नै निस्कने तहमा पुगिनसकेको बैठकपछि वाहिरिएर एमाले नेताहरुले बताएका छन् ।

तर छलफलका भित्री विषयमा भने दुवै पक्षले केही बताएका छैनन । छलफल सकारात्मक रुपमा चलेको मात्र बताएपनि ठोस के के विषयमा कसरी सहमतिको खोजी भएर चलेको छ भन्ने विषयमा दुवै पार्टीका छलफलमा सहभागी नेताहरुले लुकाएका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा टेबल भएको एमसीसी सम्झौता अधिकतम सहमतिमा पारित गर्न प्रस्ताव गरेका थिए । जवाफमा प्रमुख प्रतिपक्षी दलको नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले संसद अवरोध गर्नुपर्नाको कारण समाधान नभएसम्म अरु विषयमा सोच्न नसकिने जवाफ दिएका छन् ।

‘प्रधानमन्त्रीले एमसीसीमा अधिकतमक सहमति कायम गर्न राखेको प्रस्तावमा एमाले अध्यक्ष ओलीले पुरानै कुरा राख्नुभयो । एमालेले संसदमा राख्दै आएका माग सम्बोधन नभएसम्म नयाँ परिस्थिति नबन्ने धारणा ओलीजीले राख्नुभयो । यद्यपि छलफल निरन्तर राख्ने कुरा भएको छ’, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि पत्रकारहरुसँग भने ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले दुई पार्टीका वीचमा खुलेर कुराकानी भएको बताए । यधपी सहमति कुनै विषयमा नजुटेको उनले बताए । ‘कांग्रेसले आफ्नो कुरा राख्यो, हामीले आफ्नो कुरा राख्यौं। कुनै सहमतिमा भने पुगिसकेका छैनौं,’ उनले बैठकपछि भने, ‘हामीले कि १४ जना सांसद हटाउनुपर्ने कि सभामुखलाई हटाउनुपर्ने कुरा राख्यौं। उहाँहरूले पहिले एमसिसीलाई निकास दिऔं भन्नुभयो।’

साँझ बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागि थिए । त्यस्तै एमालेबाट अध्यक्ष ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ , एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायत सहभागि थिए ।

भोलि संसद बैठक अगाडी फेरि आजको छलफलका आधारमा दुवै पार्टीले आन्तकिर छलफल गरेर फेरि बस्ने र सकेसम्म सहमतिमा पुग्ने कोसिस गरिने नेताहरुको भनाई छ । प्रधानमन्त्री एमसीसी अनुमोदन गराउन सत्तासहयात्री दल माओवादी केन्द्र र एकीकृत समाजवादी तयार नभएपछि विपक्षी एमालेसँगको बाक्लो सम्वादमा वसेका थिए ।

प्रतिक्रिया