मंगलबार, पुष २९, २०८२

कांग्रेस र एमाले संसदमा मिलेर जाने सहमति

मेरोन्यूज २०७८ फागुन १३ गते ११:४१

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेबीचको संसद सुरु गरेर जाने विषयमा सहमति भएपछि दुवैतर्फका नेताहरू यतिबेला आन्तरिक छलफमा जुटेका छन् । एमालेले राखेका मागप्रति प्रधानमन्त्री देउवा सकारात्मक बनेपछि संसदको अवरोध हटाउने विषयमा सहमति भएको हो ।

तर, कुन ‘मोडेल’बाट संसद खुलाउने भन्ने बारेमा प्रधानमन्त्रीको औपचारिक धारणा नआएको एमालेले पनि कुन विधिमा संसदभित्र रहने भन्ने बारेमा धारणा तय नगरिसकेको कारण दुवैतर्फ आन्तरिक छलफलमा लागेका हुन् । ‘प्रधानमन्त्री देउवाले एमालेको मागलाई सम्बोधन गर्ने र त्यसको बद्लामा संसदको अवरोध खोल्ने सहमति भएको छ ।

‘यसका लागि कांग्रेसले आन्तरिक छलफल गर्ने र एमाले आफैले पनि आन्तरिक छलफल गर्ने गरी बालुवाटारको बैठक सकिएको थियो । हामीले बिहीबार राति पनि सामान्य छलफल गरिरहेका छौँ, अहिले पनि छलफल चलिरहेको छ’, एमालेका एक उपाध्यक्षले भने ।

उनका अनुसार सबै विषयहरूमा सहमति भने भइसकेको छैन । तर, सभामुखलाई हटाएर सदन चलाउने वा महाभियोग लिएर जाने भन्ने विषय तय नभएकाले एमाले आन्तरिक छलफलमा जुटेको हो । शुक्रबार बिहानबाटै कांग्रेस र एमाले आन्तरिक छलफलमा लागेका थिए । माओवादी केन्द्रले पनि शुक्रबार बिहान खुमलटारमा आन्तरिक छलफल गरेको थियो ।

एमालेले उठाएका माग सम्बोधन गर्ने विषयमा कांग्रेसका शीर्ष नेताहरू बिहीबार राति र शुक्रबार बिहान छलफलमा लागेका थिए । त्यस्तै, एमाले नेताहरु बालुवाटारको बैठक सकेर बालकोट पुगेका थिए । शुक्रबार बिहान पनि सुवास नेम्वाङ लगायतका नेताहरु बालकोट पुगेका थिए । विष्णु रिमाल पनि छलफलमा सहभागी भएका छन् ।

कांग्रेसले बोलाउने वित्तिकै आज पनि द्विपक्षीय छलफल हुने बताइएको छ । ‘अध्यक्षसहितका नेताहरु छलफलमा हुनुहुन्छ आजै केही भइहाल्छ जस्तो मलाई लाग्दैन, एमालेले आफ्नो अडान छाडेको छैन’, एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने । उनका अनुसार एमालेका माग पूरा हुने अवस्थामा संसदको अवरोध खोल्न सकिने नेताहरुले बताएका कारण अहिले विहान पनि छलफल र भेटघाट जारी रहेको हो ।

प्रधानमन्त्रीसँग के–के विषयमा सहमति नजकि नजिक भयो भन्ने बारेमा एमाले नेताहरुले केही बताएका छैनन् । के के विषयमा छलफल भयो र सकारात्मक बन्यो भन्ने बारेमा केही खुलाइएको छैन । बालुवाटारको बैठक सकिएपछि एमाले नेताहरु आन्तरिक छलफलमा जुटेका थिए ।

एमाले नेताहरू ओली निवास बालकोट पुगेर आन्तरिक छलफलमा जुटे पनि बेलुका अबेर सबै नेताहरु घर फर्केका थिए । अहिले बिहान पुनः बालकोटमा जुटेका थिए । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बर्हिगमन वा एमालेले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदको कारबाहीको विषयलाई बटमलाइन बनाएको छ ।

बालुवाटारको बैठकमा प्रधानमन्त्रीले यो विषयलाई कसरी अघि बढाउने भन्ने बारेमा थप छलफल गर्ने र शुक्रबार बिहानसम्ममा निर्णयमा पुग्ने बताएका थिए । पछिल्लो छलफलमा एमालेले सभामुखको राजीनामा वा बर्हिगमन, चार वटा प्रदेश सरकार फिर्ता, अर्ली चुनाव जस्ता विषयलाई पनि प्राथमिकतामा राखेर छलफल अघि बढाएको छ ।

करिब २ घण्टा चलेको बालुवाटार बैठक एमसीसी अनुमोदन र एमालेको संसद अवरोध हटाउने विषयमा केन्द्रीत रहेको थियो । एमाले नेताहरूले समग्रमा प्याकेजमा सहमति गर्ने गरी अघि बढौ भनेका थिए । तर, प्याकेजभित्र के–के छ भन्ने बारेमा केही खुलाइएको छैन । स्रोतका अनुसार प्याकेजभित्र सभामुखको बर्हिगमनसहित प्रदेश सरकारमा एमालेको नेतृत्वको विषय पनि रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया