शुक्रबार, चैत १३, २०८२

कांग्रेस र एमाले संसदमा मिलेर जाने सहमति

मेरोन्यूज २०७८ फागुन १३ गते ११:४१

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेबीचको संसद सुरु गरेर जाने विषयमा सहमति भएपछि दुवैतर्फका नेताहरू यतिबेला आन्तरिक छलफमा जुटेका छन् । एमालेले राखेका मागप्रति प्रधानमन्त्री देउवा सकारात्मक बनेपछि संसदको अवरोध हटाउने विषयमा सहमति भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

तर, कुन ‘मोडेल’बाट संसद खुलाउने भन्ने बारेमा प्रधानमन्त्रीको औपचारिक धारणा नआएको एमालेले पनि कुन विधिमा संसदभित्र रहने भन्ने बारेमा धारणा तय नगरिसकेको कारण दुवैतर्फ आन्तरिक छलफलमा लागेका हुन् । ‘प्रधानमन्त्री देउवाले एमालेको मागलाई सम्बोधन गर्ने र त्यसको बद्लामा संसदको अवरोध खोल्ने सहमति भएको छ ।

‘यसका लागि कांग्रेसले आन्तरिक छलफल गर्ने र एमाले आफैले पनि आन्तरिक छलफल गर्ने गरी बालुवाटारको बैठक सकिएको थियो । हामीले बिहीबार राति पनि सामान्य छलफल गरिरहेका छौँ, अहिले पनि छलफल चलिरहेको छ’, एमालेका एक उपाध्यक्षले भने ।

उनका अनुसार सबै विषयहरूमा सहमति भने भइसकेको छैन । तर, सभामुखलाई हटाएर सदन चलाउने वा महाभियोग लिएर जाने भन्ने विषय तय नभएकाले एमाले आन्तरिक छलफलमा जुटेको हो । शुक्रबार बिहानबाटै कांग्रेस र एमाले आन्तरिक छलफलमा लागेका थिए । माओवादी केन्द्रले पनि शुक्रबार बिहान खुमलटारमा आन्तरिक छलफल गरेको थियो ।

एमालेले उठाएका माग सम्बोधन गर्ने विषयमा कांग्रेसका शीर्ष नेताहरू बिहीबार राति र शुक्रबार बिहान छलफलमा लागेका थिए । त्यस्तै, एमाले नेताहरु बालुवाटारको बैठक सकेर बालकोट पुगेका थिए । शुक्रबार बिहान पनि सुवास नेम्वाङ लगायतका नेताहरु बालकोट पुगेका थिए । विष्णु रिमाल पनि छलफलमा सहभागी भएका छन् ।

कांग्रेसले बोलाउने वित्तिकै आज पनि द्विपक्षीय छलफल हुने बताइएको छ । ‘अध्यक्षसहितका नेताहरु छलफलमा हुनुहुन्छ आजै केही भइहाल्छ जस्तो मलाई लाग्दैन, एमालेले आफ्नो अडान छाडेको छैन’, एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने । उनका अनुसार एमालेका माग पूरा हुने अवस्थामा संसदको अवरोध खोल्न सकिने नेताहरुले बताएका कारण अहिले विहान पनि छलफल र भेटघाट जारी रहेको हो ।

प्रधानमन्त्रीसँग के–के विषयमा सहमति नजकि नजिक भयो भन्ने बारेमा एमाले नेताहरुले केही बताएका छैनन् । के के विषयमा छलफल भयो र सकारात्मक बन्यो भन्ने बारेमा केही खुलाइएको छैन । बालुवाटारको बैठक सकिएपछि एमाले नेताहरु आन्तरिक छलफलमा जुटेका थिए ।

एमाले नेताहरू ओली निवास बालकोट पुगेर आन्तरिक छलफलमा जुटे पनि बेलुका अबेर सबै नेताहरु घर फर्केका थिए । अहिले बिहान पुनः बालकोटमा जुटेका थिए । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बर्हिगमन वा एमालेले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदको कारबाहीको विषयलाई बटमलाइन बनाएको छ ।

बालुवाटारको बैठकमा प्रधानमन्त्रीले यो विषयलाई कसरी अघि बढाउने भन्ने बारेमा थप छलफल गर्ने र शुक्रबार बिहानसम्ममा निर्णयमा पुग्ने बताएका थिए । पछिल्लो छलफलमा एमालेले सभामुखको राजीनामा वा बर्हिगमन, चार वटा प्रदेश सरकार फिर्ता, अर्ली चुनाव जस्ता विषयलाई पनि प्राथमिकतामा राखेर छलफल अघि बढाएको छ ।

करिब २ घण्टा चलेको बालुवाटार बैठक एमसीसी अनुमोदन र एमालेको संसद अवरोध हटाउने विषयमा केन्द्रीत रहेको थियो । एमाले नेताहरूले समग्रमा प्याकेजमा सहमति गर्ने गरी अघि बढौ भनेका थिए । तर, प्याकेजभित्र के–के छ भन्ने बारेमा केही खुलाइएको छैन । स्रोतका अनुसार प्याकेजभित्र सभामुखको बर्हिगमनसहित प्रदेश सरकारमा एमालेको नेतृत्वको विषय पनि रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया