शुक्रबार, वैशाख २५, २०८३

प्रधानमन्त्री देउवाको गाउँका बासिन्दा भन्छन् : सिंहदरबार आउँछ भन्थे, नेतासमेत फर्केनन्

मेरोन्यूज २०७८ फागुन १९ गते १४:५८

Advertisement
NiccNicc

डडेल्धुरा । महाकाली नदी निरन्तर बगिरहेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका १ को चुँडी गाउँबाट भारतको चम्फावत जिल्लाको ताम्ली गाउँ टल्किरहेको छ । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सबैको पहुँच पुगेको छ, त्यहाँ ।

साँझ परे झिलिमिली हुन्छ, ताम्ली गाउँ । तर, नेपाली भूमि चुँडी गाउँ भने अन्धाकारमय छ । चुँडी गाउँमा भारतको जस्तै विकास कहिले होला भनेर सोच्ने गर्छिन्, सुनादेवी बोहरा ।

भारतीय गाउँमा बिजुली बलिरहँदा उनी भने अन्धाकारमा बसिरहेका छन् । भारतीय बजारबाट किनेर ल्याएका सोलारको धिपधिप उज्यालोले चित्त बुझाइरहेकी छन्, उनी । उनी भन्छिन्, ‘सोलार पनि कहिले बल्छन्, कहिले बल्दैनन्, बादल र पानी परेको दिन सोलार नबलेपछि रात काट्नै समस्या हुन्छ ।’

गाउँमा खानेपानी छैन्, एक घण्टा हिँडेर पानी बोक्नु पर्ने स्थानीय पदमसिंह थलाल बताउँछन् । नेपाल टेलिकमको टावर नहुँदा भारतीय सिम प्रयोग गर्ने गरेको उनले बताए ।

‘हामी नेपालमा छौँ कि भारतमा कहिले काहिँ झुक्किन्छौँ,’ उनले भने, ‘नेपाल सरकारले हामीलाई हेर्दैन्, भारतीय पक्षले महाकाली पारी नेपाल भन्छ, उताको विकास देख्न पाइन्छ, भोग्न पाइँदैन् ।’

उनले देशमा जुनसुकै पार्टीको सरकार आए पनि विकासको अनुभव गर्न नपाएको बताए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाकै गृह जिल्लाका नागरिक भए पनि हामी नेपालबाट टाढा छौँ, तर नेपाली भूमिमै छौं,’ उनले भने।

स्थानीय भन्छन् सिंहदरबार पुगेन्

यहाँका बासिन्दा दैनिक नुन, तेल ल्याउनसमेत भारतीय बजारमा जानु पर्ने हुन्छ । सरकारले चुँडी गाउँको विकास नगरे पनि महाकालीमा पुल राखिदिए मात्रै सहज हुने स्थानीय लोकबहादुर ठकुराठीको भनाई छ । देश संघीयतामा गएपश्चात गाउँगाउँमा सिंहदरबार आउने चर्चा चल्यो ।

सिंहदरबार नदेखेका दुर्गम गाउँका यी नागरिक पनि विकासको लहर आउँछ भन्ने सोचे । त्यसो नभएको उनको भनाई छ। देश संघीयतामा गएको चार वर्षभन्दा बढी भइसक्दा समेत नागरिकले सिंहदरबारको अनुभूति गर्न नपाएको उनी बताउँछन् । करिब ३० घर रहेको यो गाउँमा घोरेटो बाटोसम्म छैन ।

‘हाम्रा दुःख यस्तै थिए, अझ यस्तै छन्, कहिलेसम्म यस्तो रहने हो थाहा छैन्,’ स्थानीय महेश ऐडी भन्छन्, ‘सिंहदरबार आउँछ भनेर चुनाव जितेका जनप्रतिनिधिले गाउँको विकासमा ध्यान दिएका छैनन् ।’

उनी भन्छन्, ‘सिंहदरबार त त्यस्तै हो हाम्रो गाउँमा चुनाव जितेपछि जनप्रतिनिधि समेत पुगेका छैनन् ।’ दुर्गम बस्ती चुँडी गाउँमा कोही बिरामी पर्दा पाँच घण्टा बोकेर भारतीय अस्पतालमा पुर्‍याउनु परेको ऐडीको भनाई छ । यातायातको सुविधा नहुँदा पाँच घण्टाको पैदल यात्रा गरेर अस्पताल पुर्‍याउनु पर्ने अवस्था रहेको उनले बताए ।

गाउँमा विद्यालय नहुँदा विद्यार्थीहरू दुई घण्टा हिँडेर पत्तरम भन्ने ठाउँमा पुग्ने गरेको लोकबहादुर ठकुराठीले बताए । उनी भन्छन्, ‘हिँड्न सक्ने विद्यालय गएर पढ्छन् नस्कने घरको काम गर्छन् ।’

सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याए पनि चुँडी गाँउमा हिँड्ने गोरेटो बाटोको समेत व्यवस्था नगरिदिएको उनको गुनासो छ । वडा कार्यालय पुग्नको लागि पाँच घण्टा पैदल हिँडेर जानु पर्ने बाध्यता छ ।

प्रतिक्रिया