मंगलबार, वैशाख २३, २०८२

प्रचण्डले पार्टी केन्द्रीय समितिमा किन रोजे एकैपटक यति धेरै युवा-विद्यार्थी ?

२०५५ सालमा एकैपटक ७ युवा नेतालाई पार्टी केन्द्रमा लगेका प्रचण्डले फेरि २३ वर्षपछि त्यसैगरी युवा विधार्थीका नेतालाई केन्द्रीय समितिमा समेटेका छन्

शित्तल शर्मा २०७८ फागुन २४ गते २०:४२

काठमाडौं । माओवादी ‘सुप्रिमो’ प्रचण्डले २०७८ असोज १२ गते पार्टीका विधार्थी संगठनका तत्कालिन नेताहरुलाई आफ्नै निवास खुमलटार बोलाए । रन्जित तामाङ, सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दिपक देवकोटा, तिलक भण्डारी, उत्तम अधिकारी र विजय गौतम प्रचण्डको निवास खुमलटार मध्यान्ह पुगे ।

सन्दर्भ थियो – अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलनको नेतृत्व चयनको आन्तरिक तयारी । तामाङ त्यसवेला विधार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष थिए । सम्मेलनबाट उनी विदाई भएर नयाँ नेतृत्वको आन्तरिक छलफल माओवादीभित्र भईरहेको थियो । निम्ताइएका तामाङ बाहेक बस्नेत, सिंह, देवकोटा, अधिकारी, भण्डारी र गौतम अध्यक्षका आकाक्षी थिए ।

पालैपालो प्रचण्डले विधार्थी नेताहरुसँग एक्लै भेट गरे । उनीहरुको मनोविज्ञान, आन्दोलन प्रतिको निष्ठाभाव, पार्टीमा गरेको योगदान, योग्यता र क्षमता सवै उनले एक – एक वुझने गरी विधार्थी नेताहरुसँग अनेक कोणबाट कुराकानी गरे ।

धेरै कुरा आकाक्षीका सुँने, थोरै मात्र आफ्नो धारणा राखे । त्यसपछि उनले सवै विधार्थी नेतालाई ‘म’ हुन्छु भन्ने होइन, सबैले ‘म’ नयॅा भूमिकामा जान्छु भन्नु नै विद्यार्थी संगठनको नेतृत्व सम्वन्धी समाधान हो’ भन्दै निवासवाट विदा गरे ।

असोज १४ देखि अखिल (क्रान्तिकारी)को सम्मेलन थियो । यता सम्मेलनको उदघाटन देखि अन्य वन्दशत्रहरु चल्दै थियो । प्रचण्डलाई भने विधार्थी नेताहरुसँगको भेटले उनीहरुलाई केन्द्रीय भूमिकामा ल्याउने ‘हुटहुटी’ जागिसकेको थियो ।

पार्टीको तत्कालिन कार्यालय बैठकमा पार्टी नेताहरुलाई प्रचण्डले विधार्थी संगठनभित्र प्रतिभावान विधार्थीहरु अहिले रहेको र एक से एक क्षमतावान रहेको, आफुले एक एकसँग अन्र्तक्रिया गरेकोले उनीहरुलाई नगिजोल्न निर्देशन दिएका थिए । विधार्थीको सम्मेलन उदघाटन गर्न प्रज्ञा भवन पुगेर प्रचण्डले विधार्थीको नेतृत्व नपाउनेलाई पार्टीको केन्द्रीय समितिमा ल्याउने त्यसवेलै वताएका थिए ।

त्यसपछि फेरि प्रचण्डले असोज १७ गते विधार्थी फयाक्सन इन्चार्ज हितमान शाक्यसहित आकाक्षी नेतालाई खुमलटार बोलाए । लामो भूमिका बाध्दै प्रचण्डले २०५५ सालमा (जनयुद्दकाल) सम्पन्न भएको चौथो विस्तारित बैठकको प्रसंग उप्काए । ‘एकैपटक ७ युवालाई केन्द्रीय समितिमा ल्याएर त्यसवेला पार्टीमा युवालाई नेतृत्व गर्न दिएको, त्यसले पार्टीको संगठन निर्माणमा उर्जा मिलेको र अहिले पनि युवा विधार्थीलाई पार्टी केन्द्रीय समितिमा ल्याएर फेरि एकपटक संगठनमा क्रमभंग गर्न चाहेको बताएका थिए ।

त्यसपछि प्रचण्डले विधार्थी अध्यक्ष पन्चा सिंहलाई बनाउने, अन्य नेताहरु रन्जित तामाङ, सुरेन्द्र बस्नेत, उत्तम अधिकारी, तिलकराज भण्डारी, विजय गौतम, दिपक देवकोटालाई पार्टीको केन्द्रीय समितिमा ल्याउने वचन दिए । ‘आजैको मितिदेखि तपाईहरु पार्टीको केन्द्रीय समितिमा पर्नुभयो, त्यसको जिम्मा म लिन्छु, अव तपाईहरुले पार्टीमा सक्रियतापूर्वक काम गर्नुपर्छ, पार्टीलाई नयाँ शिराबाट एकपटक फेरि वलियो बनाउनुपर्छ,’ प्रचण्डले विधार्थी नेताहरुलाई त्यसवेला भनेका थिए ।

त्यसपछि पन्चा विधार्थीको सम्मेलनबाट अध्यक्ष चुनिइन ।

तामाङसहितका ६ विधार्थी नेता पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाइने आशमा वसे । तर उनीहरुले बाचा अनुसारको तत्कालै जिम्मेवारी पाएनन् ।

केन्द्रीय कार्यालयबाट शुरुमा प्रचण्डले यी ६ जना पूर्व विधार्थी नेतासहित विधार्थीको नेतृत्व हाँकेका अन्य तीन नेता रमेश मल्ल, सन्तोष विष्ट र रत्न ढकाललाई पनि केन्द्रीय प्रतिनिधीका रुपमा चयन गर्ने निर्णय लिए ।

गत पुसमा सम्पन्न पार्टीको आठौं महाधिवेशनमा उनीहरुले केन्द्रीय प्रतिनिधीका रुपमा सहभागिता जनाए । तर केन्द्रीय समिति घोषणा भईराख्दा उनीहरु केन्द्रीय समितिमा परेनन । २४७ जनाको अपुरो केन्द्रीय समिति महाधिवेशनले घोषणा गरयो । त्यसवेला यिनै ६ विधार्थी नेताले प्रचण्डलाई भेटेर खुमलटारमा आफुहरुसँग गरेको वाचा सम्झाए ।

प्रचण्डले बाचा नभुलेको र आफु त्यसको कार्यान्यवयनको लागि प्रतिवद्ध रहेको वचन त्यसवेला पनि दिए । प्रचण्डले वाचा दिएको ६ महिनापछि उनीहरुलाई पार्टी केन्द्रीय सदस्य बनाएका छन् । साथमा अन्य विधार्थी संगठनमै रहेर नेतृत्व गरेका रमेश मल्ल, रत्न ढकाल, सन्तोष विष्टलाई पनि केन्द्रीय सदस्य बनाए ।

युवालाई केन्द्रीय कमिटिमा : कन्नेक्सन २०५५

२०५५ सालमा माओवादी जनयुद्धमा थियो । त्यसवेला पार्टी केन्द्रीय समितिको चौथो विस्तारित बैठकले आधार इलाका निर्माण गर्ने र नेतृत्व केन्द्रीकरण गर्ने विषयमा मुख्य छलफल गरेको थियो । भूमिगत रहेका प्रचण्डको फोटो सार्वजनिक गर्ने निर्णय त्यही विस्तारित बैठकले गरेको थियो ।

त्यस वैठकको मुख्य निर्णय भनेकै, विभिन्न तहमा पार्टी नेतृत्वको केन्द्रीकरण र स्थापना गर्ने, पार्टीभित्र सुद्दिकरण अभियान चलाउने र पार्टी केन्द्रीय समितिमा युवा सदस्यहरुलाई निर्वाचित गर्ने थियो । ‘आधारइलाका निर्माणको महान् दिशामा अघि वढौं’ भन्ने मुल कार्यनीति बनाएर उक्त विस्तारित वैठकले एकैपटक ७ जना युवालाई पार्टी केन्द्रीय कमिटिमा चयन गरेको थियो ।

माओवादीको तत्कालिन केन्द्रीय समितिमा रहेका नेता नारायण शर्माका अनुसार, त्यसवेला माओवादीले केन्द्रीय समितिमा एकैपटक नेत्रविक्रम चन्द विप्लव, चक्रपाणि खनाल वलदेव, मणि थापा, शक्ति बस्नेत, रविन्द्र श्रेष्ठ, वर्षमान पुन अनन्त र हितमान शाक्यलाई केन्द्रीय सदस्य चयन गरेको थियो ।

आधार इलाका निर्माणको पार्टी कार्यानीति कार्यान्वयनका लागि युवाहरुलाई केन्द्रीय समितिमा ल्याएर प्रचण्डले ‘ट्याकफुल्ली’ निर्णय लिएको शर्माको भनाई छ । ‘पार्टी आधारइलाका निर्माणको तयारीमा जुटने निर्णयमा पुगेको थियो । काम गरिरहेका युवाहरुलाई पार्टी केन्द्रीय भूमिकामा ल्याएर निर्णय कार्यान्वयन पनि गराउनु पर्ने आवश्यकता खट्किएको थियो, त्यही योजना अनुसार प्रचण्डले त्यसवेला ७ जना नेतालाई केन्द्रीय समितिमा ल्याउने निर्णय लिनुभएको थियो,’ जनयुद्द शुरुवात गर्दाकै बेलाका १९ जनाको केन्द्रीय समिति सदस्य मध्येका एक नारायण शर्माले मेरोन्यूजसँग भने, –‘त्यस निर्णयले पार्टीमा युवाहरुको भविश्य छ भन्ने सन्देश गएको थियो । युवाहरु उत्साहका साथ काममा खटिएका थिए ।’

जनयुद्दकालमा तत्कालिन राज्यको तीव्र दमनका कारण पार्टीको मूल नेतृत्व सुरक्षित गर्नुपर्ने चुनौति थियो । प्रचण्ड, बाबुराम, मोहन वैध लगायतका नेताहरु दिल्लीमा सुरक्षित वसेपनि माओवादीले निर्माण गर्न थालेको आधारइलाकाको कार्यक्षेत्रमा तिनै थपिएका युवा केन्द्रीय सदस्यहरुले मेहनतका साथ काम गरेर पार्टी संगठन निर्माणमा योगदान दिएका थिए । तिनै नेताहरुले ०६२/०६३ सम्म भूगोलमै रहेर कठिन समयमा पार्टी वचाउने काम गरेको अनुभव माओवादीका नेताहरुको छ ।

०५५ मा ७ नेता केन्द्रीय सदस्यमा थपिएको केही समयमै फेरि जर्नादन शर्मा लगायतलाई पनि केन्द्रीय समितिमा माओवादीले थप गरेको थियो । अहिले एमालेमा पुगेका ततकालिन अवस्थामा केन्द्रीय समितिमा थपिएका नेता मणि थापाका अनुसार, त्यसवेला युवाहरुलाई माओवादीमा आर्कषित गर्न पनि उक्त निर्णय धेरै हदमा उपयोगी बनेको थियो ।

प्रचण्डले अहिले त्यसैगरी युवाहरुलाई केन्द्रीय कमिटिमा ल्याएर नयाँ ढंगले थिलथिलो बनेको पार्टीलाई पूर्नताजकी दिन खोजेका छन् ।

यसपटक उनले पार्टी विधानमै युवा, महिला, दलित, मुश्लिम लगायतलाई विशेष प्राथमिकता दिएका छन् । केन्द्रीय समितिमा अहिले थपिएका युवा नेताहरुलाई ०५५ सालमा त्यसवेला थपिएका नेताहरुले पार्टी संगठन निर्माणमा खेलेको भूमिका झै सक्रियतापूर्वक भूमिका खेल्न आग्रह गरेका छन् । ‘अव फिल्डमा खट्ने, नयाँ ढंगले संगठन निर्माणमा लाग्ने काम तपाँईहरुको काँधमा आएको छ, मैले बाचा पुरा गरेको छु, अव तपाईहरुले आफनो भूमिका निर्वाह गर्नुस्,’ केन्द्रीय सदस्य बनाएपछि प्रचण्डले सोमबार पूर्व विधार्थीका युवा नेताहरुलाई भनेका थिए ।

प्रचण्डका रोजाईमा यसकारण परे


माओवादी अध्यक्ष प्रचण्डले अहिले पार्टी केन्द्रीय सदस्य बनाएका विधार्थी नेताहरुलाई मुख्यतः दुई कारणले केन्द्रीय समितिमा ल्याएका हुन् । पहिलो, अहिले केसमा तानिएका विधार्थी नेताहरु पहिलो पटक पार्टीभित्रको आन्तरिक चुनावी प्रतिस्पर्धावाट निर्वाचित भएर विधार्थी संगठन हाँकेका नेता थिए ।

केपी ओलीसँग तत्कालिन नेकपा पार्टीभित्र अन्तरसंर्घष चल्दा विधार्थी संगठनभित्र विना क्षति (एकाध वाहेक) सवै नेता कार्यकर्ता र सुभचिन्तकलाई माओवादी पार्टीभित्रै र त्यसमा पनि प्रचण्डको नेतृत्व छाताभित्रै समेटन यी पूर्व विधार्थी नेताहरुले सक्रिय भूमिका खेलेका थिए ।

ओलीको संसद विघटन लगायतका कमाका विरुद्धको आन्दोलनमा उनीहरुले सडक मोर्चा प्रभावकारी ढंगले नेतृत्व गरेका थिए । त्यसका आलावा सवै विधार्थी नेताहरु आ -आफनो क्षेत्रमा अब्बल सावित थिए । पढाईमा उस्तै, सवैका स्नाकोत्तर तहसम्मको अध्ययन, अझ कोही पिएचडीको तयारीमा रहेका विधार्थी नेताहरु थिए ।

जनयुद्द सँग प्रत्यक्ष जोडिएका र त्यसभित्रका दुख पीडा भोगेका अन्तिम पुस्ताका यी विधार्थी नेताहरु थिए । पार्टी र संगठनमा योगदानका हिसावले सवैका उस्तै उस्तै योगदान र भूमिका रहेका विधार्थी नेताहरु थिए । जेलनेलको चर्काे यातना खेपेका पुस्ता पनि यही थिए । जसकाकारण प्रचण्डले यी विधार्थीका पूर्व नेतालाई पार्टी नेतृत्वमा ल्याउन चाहे । सोही आधारमा उनले केन्द्रीय समितिमा युवाहरुलाई ल्याएका हुन् ।

प्रतिक्रिया