सोमबार, पुष १४, २०८२

निकोलस पाण्डेको जुक्ति : भित्र कांग्रेस, वाहिर राप्रपा ?

मेरोन्यूज २०७८ फागुन २७ गते ११:५२

काठमाडौं । मान्छेको पहिचान कति थरी हुन्छ ? एउटै मान्छे कतिवटा सम्म पार्टीको सदस्य हुन्छ ? सामान्य तपाईहरुलाई लाग्न सक्छ- एउटै पार्टीको सदस्य हुन्छ । तर अवसरका लागि मान्छेले अनेक रंग फेर्न सक्छन् र पार्टी पनि भित्र देखाउने एउटा र वाहिर देखाउने अर्काे हुने गरेका कयौं उदाहरण नेपालमा देखिन्छन् ।

राजनीतिक दलको छत्रछाँयामा रमाउने र लाभको अवसर लिने रणनीतिका साथ त्यस्ता मान्छेहरुले राजनीतिक रंग फेर्ने र जाहाँ जे देखाउँदा फाइदा हुन्छ, त्यही गर्न पछि पदैनन् भन्ने उदाहरण निर्माण ब्यवसायी निकोलस पाण्डेलाई हेरे पनि छर्लंग देखिन्छ ।

उनीसँग राजनीतिको दुईटा परिचय छ । भित्र उनी कांग्रेस तर बाहिर अरुका नजरमा देखिदा राप्रपा पनि । उनी नेपाल निर्माण ब्यवसायी महासंघको बरिष्ठ उपाध्यक्ष छन् । अव आज देखि शुरु हुन लागेको अधिवेशनमा उनी अध्यक्षका प्रत्याशी छन् ।

भित्र कांग्रेसको पार्टी सदस्यताका आधारमा कांग्रेस निकट ब्यवसायीको पनि मत लिने र बाहिर राप्रपा निकट ब्यवसायीको पनि वाउको राजनीतिक विडो देखाउँदै मत लिने योजनामा उनी लागेका छन् । त्यही आडमा उनी अहिले महासंघको अध्यक्षमा चुनाव लडन खोज्दैछन् ।

निकोलस पाण्डेका बाबु हुन् – राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे । विगत ०७४ सालको चुनावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनाव लडेका राप्रपाका नेता । तर उनकै छोराले भने भित्र -भित्र कांग्रेसको सदस्यता लिएको रहस्य खुलेको छ ।

तर वाहिर उनले कांग्रेसको सदस्यता लिएको विषयलाई लुकाएका छन् । आफनो वाउको राजनीतिक करिअर र आफनो पनि अवसर लगायतका कारण निकोलसले कांग्रेसको आफु सदस्य बनेको कुरा लुकाएका हुन् ।

भन्न त उनी वाहिर भन्दा आफुलाई अझै पनि राप्रपा नै भन्छन्, तर भित्र भित्र भने काग्रेस । यसैको प्रमाण हो, उनी काग्रेसको सदस्यता बनेको यो सदस्यता पत्र ।

उनलाई कांग्रेसको निर्माण समन्वय विभागका प्रमुख रहेका नेता वीरवहादुर वलायरले कांग्रेसको सदस्यता दिएका हुन् ।
२०७७ साउन ३ मा उनले वलयरबाट कांग्रेसको सदस्यता लिएका छन् ।

निर्माृण ब्यवसायी महासंघको आज देखि काठमाडौंमा साधारणसभा शुरु भईरहेको छ । प्रधानमन्त्री तथा काग्रेसका सभापति शेरवहादुर देउवाले अहिले अधिवेशनको उदघाटन गरिरहेका छन्

अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र त्यही संख्यामा पर्यवेक्षकको सहभागिता रहने आयोजकको भनाई छ ।

अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव १, उपमहासचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुनेछ ।

प्रतिक्रिया