सोमबार, वैशाख २८, २०८३

एमालेको चुनावी रणनीति

टिकटको ‘धाप’ दिँदै जनप्रतिनिधि एमालेमा भित्राउँदै

आफू बाहेक कसैलाई स्वीकार नगर्ने र अर्कोले पद पाउने देखेपछि पार्टी छाड्ने प्रवृतिको संस्थागत विकास

रामकृष्ण अधिकारी २०७८ फागुन २८ गते २०:२९

एमाले अध्यक्ष केपी ओलीले वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई शनिवार विरगन्ज पुगेरै पार्टी प्रवेश गराए । जनता समाजवादी पार्टी परित्याग गरी सरावगी एमाले प्रवेश गरेका हुन् ।

Advertisement
NiccNicc

सरावगीसँगै वीरगन्ज महानगरपालिका वडा नं १४ का अध्यक्ष भरत कुर्मी र वडा नं २५ का अध्यक्ष विश्वराज राउत कुर्मी पनि एमालेमा प्रवेश गरेका छन् । यी सवै तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधी थिए ।

दुई साता अगाडीसम्म सरावगी कांग्रेस प्रवेश गर्न लागेको निक्कै ठूलो चर्चा वीरगन्जमा थियो । कांग्रेससँग उनको एउटै माग थियो, – आँउदो स्थानीय तह चुनावमा वीरगन्ज महानगरपालिकाको मेयर टिकट आफुँलाई दिनुपर्ने । तर कांग्रेसले सरावगीलाई टिकटको बचन दिन सकेन ।

त्यसपछि उनको एमाले अध्यक्ष ओलीका आर्थिक सल्लाहकार तथा पूर्वमन्त्री समेत रहेका ब्यापारी मोती दुगडसँग कुराकानी अगाडी वढ्यो । उनले मेयरको टिकट दिए आफु एमाले प्रवेश गर्ने प्रस्ताव राखे ।

सत्ता गठबन्धनको घेरावन्दी र पार्टी विभाजनको चोट खेपिरहेका ओलीलाई महानगरपालिकाको मेयर पार्टी प्रवेश गरेको देखाएर राजनीतिक सन्देश दिनु थियो । सरावगीको प्रस्ताव तत्कालका लागि ओलीले स्वीकारेपछि र मेयरको टिकट पाउने सम्भावना भएपछि उनी एमालेमा प्रवेश गरेको अनुमान गरिएको छ ।

वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष केपी ओली

एमालेको गत मंसिरमा चितवनमा भएको दसौं महाधिवेशनमै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । त्यही क्रममा अन्य दलबाट निर्वाचित जनप्रतिनिधी मुख्य रुपमा र त्यससँगै माओवादी केन्द्रका नेता –कार्यकर्तालाई केन्द्रमा राखेर एमालेले पार्टीमा प्रवेश गराउने कार्यलाई जोड दिएको छ ।

एमालेले लिएको यही नीतिबाट फाइदा उठाउन आफु संग्लन्न दलबाट टिकट नपाउने ‘करिव सुनिश्चित’ भएका जनप्रतिनिधीले एमाले रोज्न थालेको देखिन्छ । आफू बाहेक कसैलाई स्वीकार नगर्ने र अर्कोले पद पाउने देखेपछि पार्टी छाड्ने प्रवृतिको पछिल्लो समय नेपालको राजनीतिमा संस्थागत विकास हुँदै जान थालेको छ ।

जसले टिकट दिन्छ उतै लाग्ने प्रवृत्ति राजनीतिमा हावी हुन थालेको छ । त्यसैको एउटा उदाहरण हुन् – वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी ।

ब्यापारी समेत रहेका सरावगी २०७४ मा स्थानीय चुनाबको चर्चा चलेपछि एकाएक संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । त्यसपछि उनी मधेस आन्दोलनका हस्तीहरुलाई पछि पार्दै फोरमबाट बीरगन्ज महानगरको मेयर उम्मेदवार बने । र, निर्वाचित पनि भए ।


अहिले फेरि उनी टिकट सुनिश्चितताकै लागि एमाले प्रवेश गरेको चर्चा चलेको छ ।

सरावगी मात्रै होइन, गत स्थानीय तह चुनावमा वीरन्ज महानगरपालिकाको मेयरमै तेस्रो भएका राजेशमान सिंह पनि यस अगाडी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर एमाले प्रवेश गरिसकेका छन् । गत चुनावमा बीरगन्जकै दृश्य हेर्ने हो भने तत्कालिन राजपाले बीरगञ्ज महानगरपालिकाको मेयर राजेशमान सिंहलाई तोक्ने निर्णय सार्वजनिक हुनासाथ मेयरका अर्का आकांक्षी विमल श्रीवास्तवले ठाउँको ठाउँ राजपा परित्याग गरेर फोरम लोकतान्त्रिकबाट मेयर उम्मेदवार बनेका थिए ।

अहिले पनि वीरगन्जमा दल अदलबदल उस्तै मात्रामा देखिएको छ ।

एमाले अध्यक्ष ओलीले शनिवार वीरन्ज महानगरपालिकाका मेयर सरावगी को आलवा पर्सासँगै जोडिएको जिल्ला बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीसहित ५ जना जनप्रतिनिधिलाई पनि एमालेमा प्रवेश गराएका छन् । अन्सारी पनि जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका हुन् । उनलाई पनि अवको स्थानीय तह चुनावमा फेरि अध्यक्षको धाप एमालेले दिएको चर्चा छ । त्यहाँ ओलीले माओवादी र अन्य पार्टीका चार जना वडाध्यक्षहरुलाई पनि एमाले प्रवेश गराएका थिए ।

४ दिन अगाडी मात्रै ओलीले मोरङको प्राचीन शहर तथा पूर्वराजधानी रंगेली नगरपालिकाका मेयर र उपमेयर दुवैजनालाई एमालेमा प्रवेश गराएका थिए । नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाललाई रंगेली नै पुगेर ओलीले एमालेमा स्वागत गरेका थिए ।

मेयर, उपमेयर र दुईजना वडाध्यक्षलगायतलाई ओलीले पार्टी प्रवेश गराएका हुन् ।

त्यस अगाडी पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियासहितका नेतालाई पनि ओली आफैले एमाले प्रवेश गराएका थिए । जालिम मिया पनि गत स्थानीय तह चुनावमा माओवादी केन्द्रबाटै निर्वाचित अध्यक्ष थिए ।

स्थानीय तहका जनप्रतिनिधी नै एमालेको अहिले पहिलो रोजाईमा पर्न थालेको देखिएको छ । यसवीचमा एमालेले रूपन्देहीको मायादेबी गाउँपालिकाका वडानम्बर १ का अध्यक्ष पल्टु लोध, कार्यपालिका सदस्य रिना चौधरीसहित लाई पार्टी प्रवेश गराएको छ ।

त्यस्तै, बैतडीको शिवनाथ गाउँपालिका वडा नं। १ का अध्यक्ष करन पार्की, वडा नं। २ का अध्यक्ष हजारी साउँद, वडा नं। ३ का अध्यक्ष बिरबहादुर साउँद र वडा नं। ४ की वडा सदस्य पाना तिरुवासहित १३ जना जनप्रतिनिधि, सिन्धुपाल्चोकका नेपाली कांग्रेसबाट स्थानीय निर्वाचनमा बाह्रबिसे नगरपालिका २ को वडाअध्यक्षमा निर्वाचित बमबहादुर तामाङ लगायतलाई पनि एमालेले पार्टी प्रवेश गराएको छ ।

एमाले बाट निर्वाचित भएर पार्टी विभाजन पछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुलेका ३ वडा अध्यक्षसहित ९ सदस्यलाई पनि एमालेमै फर्काइएको एमालेको दावी छ ।

विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष तथा वागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्यलाई पनि यो वीचमा ओलीले आफैले एमाले प्रवेश गराएका छन् । गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयर उम्मेदवार रन्जु दर्शनाको चुनावी कमाण्डर रहेका वैध गत प्रतिनिधिसभा चुनावमा कांग्रेस महामन्त्री गगन थापाको चुनावी अभियानमा थिए । उनलाई पनि चुनाव केन्द्रीत योजना अनुरुप नै एमालेले पार्टी प्रवेश गराएको हो ।

तर यसरी चुनावको सम्मुखमा पार्टी प्रवेश गराएकालाई एमालेले स्थानीय तहको चुनावका विभिन्न पदमा टिकटको वचन दिएको छ । एमालेले मात्रै होइन, कांग्रेस र माओवादी केन्द्रले पनि अहिले पार्टीमा भित्राएकालाई उस्सैगरी टिकटको ‘आश्वासन’ दिएको देखिन्छ ।

यस्तो आश्वासनले राजनीतिक प्रणालीलाई नै भ्रष्टीकरणतर्फ लगिरहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

‘पार्टीहरु निश्चित राजनीतिक सिद्धान्त, आदर्श र उद्देश्यबाट गठन हुन्छन् । विचार, सिद्धान्त, आदर्श र उद्देश्य मिलेपछि मान्छे त्यो राजनीतिक दलमा आवद्ध हुन्छ भन्ने आम मान्यता हो,’ राजनीतिक विश्लेषक हरिहर लोहनीले मेरोन्यूजसँग भने,–‘ तर, चुनावका बेला आफू उम्मेदवार बन्न नपाउनासाथ त्यही पार्टीको साथ छोडेर जसले टिकट दिन्छ, उतै प्रवेश गर्ने दल अदलबदलको रोग चुनावको मुखमा वढी नै देखिएको छ । यसले राजनीतिक प्रणालीलाई भ्रष्टीकरणतर्फ लगिरहेको छ ।’

ओलीले पार्टी प्रवेश अभियान चलाएसँगै बाँकेबाट पूर्व सांसद पशुपतिदयाल मिश्र मात्रै नभएर जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामकुमार दीक्षितलाई प्रवेश गराएका छन् ।

कपिलवस्तुमा पटक पटक चुनाव लडेर केही हजार मत ल्याउन सफल भएका मंगलप्रसाद गुप्तालाई पनि ओलीले एमालेमा भित्र्याएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा साबिक राजपाका महामन्त्री शिव पटेल, जसपा केन्द्रीय सदस्य देवी सुवेदी, संविधानसभा सदस्य डिबी नेपालीसहितलाई पनि ओलीले एमालेमा स्वागत गरेका छन् ।

पटेल पर्सा क्षेत्र नम्बर ३ बहुदरमाइ नगरपालिकाको मेयरमा ६ सय मतले पराजित भएका ब्यक्ति हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर नेतृत्वको लोसपामा थिए । त्यसबेला उनले २६ सय १५मत पाएर कांग्रेसका नितेन्द्र प्रसाद साह तेलीसँग मेयरमा पराजित भएका थिए । उनलाई पनि ओलीले एमाले प्रवेश गराईसकेका छन् ।

राजनीतिक दलका लागि चुनाव जीवन मरणको लडाई हो । कांग्रेस, माओवादी केन्द्र देखि आफुवाटै फुटेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसम्मले गठबन्धनका नाममा एमालेमाथी घेरावन्दी गर्ने तयारी गरिरहेका बेला ओली भने तिनै पार्टीबाट निर्वाचित जनप्रतिनिधीलाई एमालेमा भित्राउने र सत्तागठबन्धन बाहेकका अन्य लोसपा, राप्रपा, जनमत पार्टी, ह्देयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी, रेशम चौधरी नेतृत्वको नेपाल उन्मुक्ति पार्टीसम्मका दलसँग गठबन्धनको प्रयासा समेत जुटेका छन् ।

अन्य पार्टी भन्दा एमाले यस अभियानमा आक्रामक भएर लागेको छ ।

०००

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया