आइतबार, चैत १५, २०८२

सुलभ एवम् सहज स्वास्थ्य सेवा प्राथमिकतामा:मुख्यमन्त्री पोखरेल

मेरोन्यूज २०७८ चैत ४ गते ६:३८

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ एवं स्वास्थ्य सेवा प्रवाह सरकारको प्राथमिकतामा रहेको बताएका छन् । बागलुङको गलकोट नगरपालिका–५ हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्दै प्रमुख सहरबाहेक अन्य स्थानका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिन चिकित्सक पुर्याउन नसकिएको वास्तविकतामा विशेष प्रोत्साहन दिएर पनि उनीहरूलाई ग्रामीण बस्तीमा पुर्याइने बताए ।

Advertisement
nepal life insurencenepal life insurence

सीमित स्रोत र साधनका बीच प्रदेश सरकारले भौतिक संरचनाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्नकै लागि स्वास्थ्य नीति जारी गरिएको र अब यसकै कार्यान्वयका लागि ऐन बनाउन लागिएको जानकारी दिए । गलकोट क्षेत्रको विकासका लागि प्रदेश सरकारले यथासक्य काम गर्दै आएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको क्षमताअनुसार काम गर्दै आएको बताए ।

तीन शय्याका लागि स्वीकृति पाएको भए पनि हाल अस्पतालमा १५ शय्या चालु अवस्थामा छन् । कूल आठ रोपनी जमिनमा रु सात करोड लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो । दुई जना मेडिकल अधिकृतसहित १४ कर्मचारी कार्यरत संस्थामा मासिक एक हजार २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले कांग्रेसका कार्यकर्तालाई जनताको मन जित्ने गरी क्रियाशील बन्न आग्रह गरेका छन् । नेपाली कांग्रेसका विभिन्न एकाइद्वारा बिहीबार बागलुङमा आयोजित कार्यक्रममा उनले राष्ट्रियदेखि स्थानीय तहसम्मका समस्याको समाधान गर्ने पार्टीका रुपमा पार्टीले आफ्नो पहिचान बनाएको उल्लेख गर्दै जनताको भावना अनुसार पार्टी सङ्गठनलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया