स्थानीय निर्वाचन
तितरवितर बनेको विवेकशील साझाले जनमत जोगाउन सक्ला ?

काठमाडौँ । भारतमा हालै सम्पन्न विधानसभा चुनावमा वैकल्पिक शक्तिका रुपमा आएको आम आदमी पार्टीले (आआम) अप्रत्यासित जित निकाल्यो। खासमा उसले पञ्जावमा कूल ११७ सिटका लागि भएको चुनावमा ९२ सिट जित्यो।
पञ्जावमा आआमको नेतृत्व भगवन्त मनले गरेका थिए। त्यहाँ वर्षौदेखि सत्ता चलाउँदै आएको कांग्रेस र भाजपा धेरै पछाडि भए।२६ नोबेम्बर २०१२ मा स्थापना भएको यो पार्टीले स्थापना कालको १० वर्ष नपुग्दै दिल्ली र पञ्जाब जस्ता ठूला राज्यमा सत्ता सञ्चालन गर्ने मौका पाएको छ। भारतमा जस्तै नेपालमा पनि वैकल्पिक शक्तिको उदय नभएको भने होइन। वैकल्पिक शक्तिका रुपमा उदय भएका पार्टीसमेत अन्य दल जस्तै आन्तरिक किचलो र दलदलमा फसेपछि भारतमा जस्तो प्रभाव छाड्न भने सकेको छैन।
नेपालमा हुने बन्द, हड्ताल, भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण विरोधको अभ्यास गर्दै विवेकशील नेपाली दलको उदय भयो। युवाको बाहुल्यता दललाई नेपालको वैकल्पिक शक्तिका रुपमा परिचित गराइयो। पछि बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार रविन्द्र मिश्रलेसमेत साझा पार्टीको नामले नयाँ दल दर्ता गरे । यसलाई पनि वैकल्पिक शक्तिका रुपमा परिचित गराइयो। २०७४ सालको निर्वाचनमा फरक फरक दलका रुपमा निर्वाचनमा सहभागी भए।
साउन ११, २०७४ मा बराबरी हैसियतमा एकीकरणको सम्झौता गरेर दुई पार्टीबीच एकीकरण भयो, र उक्त पार्टीको नाम विवेकशील साझा रहन पुग्यो। राजनीतिमा जोस र होसको समिश्रण आवश्यक छ भन्ने बुझाईले दुई पार्टीलाई एक ठाउँमा ल्याएको कुरा मिलन पाण्डेले आफ्नो आलेखमा खुलाएका छन्।
आशापछि निरासा
एमाले, काँग्रेस र माओवादी जस्ता ठूलो इतिहास बोकेको पार्टीसँग आमनेसामने गर्दा हार व्यहोरेको दल विवेकशील नेपाल र साझा पार्टीले मतप्रति खुसी रहेको अभिव्यक्ति दिएका थिए। उक्त निर्वाचनमा विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु दर्शनाले २३ हजार ४३९ मत पाएकी थिइन् भने साझा पार्टीका किशोर थापाले १८ हजार ४९६ मत पाएका थिए।
स्थानीय निर्वाचनमा काठमाडौँमा विवेकशील नेपाली दलको प्रदर्शनले वैकल्पिक राजनीतिमा विवेकशीलको एक किसिमको उदय नै भएको थियो। काठमाडौँ महानगरपालिकाको मेयर पदमा उठेकी रन्जु दर्शनाले पाएको मतले विवेकशीललाई अबको वैकल्पिक दलको रुपमा हेरिएको थियो। उनीहरुले परम्परागत राजनीतिक नेतृत्वलाई चुनौती मात्र दिएका थिएनन् तत्कालीन एमाले र काँग्रेसको जगलाई समेत चुनौती दिएको थियो ।
काठमाडौँमा पाएको मतले उत्साहित विवेकशील र पत्रकारिता छोडेर राजनीतिमा आएका रविन्द्र मिश्रले खोलेको साझा पार्टी एक हुनु पर्छ भन्ने त्यति बेलाको आम मतलाई कदर गर्दै उनीहरु एक ठाउँमा त आए, तर, त्यसपछि सम्पन्न आम निर्वाचनमा उनीहरुले खातासम्म खोल्न सकेनन्। उनीहरुले प्रदेश ३ को प्रदेश सभामा समानुपातिकबाट ३ सिट पाए। समग्रमा उनीहरुको उपलब्धि त्यति नै भयो ।
आम निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट रविन्द्र मिश्रले काँग्रेस नेता प्रकाशमानलाई टक्कर दिँदै दोस्रो स्थान हासिल गर्नुबाहेक उनीहरुले अन्य ठाउँमा उत्साहजनक उपस्थितिसमेत देखाउन सकेनन्। स्थानीय निर्वाचनमा विवेकशील नेपाली दलले पाए जति चर्चा र सफलता उनीहरुले आम निर्वाचनमा पाउन सकेनन्।
साझासँग केही चिनिएका अनुहार थिए, विवेकशीलमा आशलाग्दा अनुहार। सिद्धान्त धेरै मिलेका थिए। तर, आशालाग्दा अनुहार र आशलाग्दा विचार बोकेका दलहरुबीच केही समयमा नै आन्तरिक किचलो शुरु हुन थाल्यो। भारतमा आम आदमी पार्टीलाई जस्तै जनताले यो दलसँग पनि ठूलो आशा गरेको थियो। तर, जब दलका अध्यक्ष संघीयता विरोधी प्रतिवेदन सार्वजनिक गरे, तब एउटा दल दुई ठाउँमा उभियो।
वैकल्पिक शक्तिका रुपमा उदय भएको यो दल पनि अन्य पुराना पार्टीहरुमा जस्तै गुट र उपगुट देखिन थाल्यो। विवेकशील साझा पार्टी असफल हुनुमा यसका केही पृष्ठभूमि जिम्मेवार देखिन्छन। पहिलो त विवेकशील नेपाली दल जसलाई त्यति बेला उज्ज्वल थापाले नेतृत्व गर्दथे, उनीहरुले आफ्नो दलमा एउटा नयाँ अभ्यास र फ्लेवर दिएका थिए। नियमित बैठक, छलफल, र युवाहरुको सहभागितामूलक उपस्थिति उनीहरुको दलमा देखिन्थ्यो।
तर साझा पार्टीसँग एक भएपछि विवेकशीलको त्यो फ्लेवर पूरै मेटिएको जस्तो देखिन्थ्यो। दुई संयोजकमध्येका रविन्द्र मिश्रको नेतृत्व नै सार्वजनिक रुपमा हाबी देखियो । मिडियादेखि आम रुपमा पार्टीमा मिश्र नै अगाडि देखिन्थे । तर विवेकशील साझा बनेपछि पार्टीको विचार र सिद्धान्त भने खासै स्पष्ट देखिएन। एकोहोरो रुपमा रविन्द्र काँग्रेस कम्युनिष्टको विरोध मात्र गरिरहेको हुन्थे, जुन उनी अहिले पनि गर्छन्।
उनले धर्म निरपेक्षताको विषयमा विषयमा जनमत संग्रह गर्नुपर्छ र संघीयता खारेज गरौँ भने लगत्तै एक दल दुई भागमा विभाजीत हुन पुग्यो। यो दल कसको हो भन्ने पनि टुंगो लाग्न सकेको छैन। यी दल फुटेको स्पस्ट देखिन्छ तर दुवै जनाले दल परित्याग पनि गरेका छैनन्। रविन्द्र मिश्र पनि विवेकशील साझा आफ्नो भएको दाबी गर्छन् भने, मिलन पाण्डे पनि आफ्नो रहेको दाबी गर्दै छन्। यद्यपि, यी दुवै दल वैधानिक रुपमा विभाजित भइसकेका छन्।
उनीहरु विभाजित भइसकेपछि रविन्द्र मिश्र राप्रपाप्रति लचकदार भएको देखिन्छ भने, मिलन पाण्डे नेपाली काँग्रेसप्रति लचकदार भएको देखिन्थ्यो ।
कसरी जनमत जोगाउलान् ?
आसन्न निर्वाचन ०७९ वैशाख ३० गतेका लागि तोकिएको छ। निर्वाचन आयोगले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकेको हो। निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवारी दर्ता गराउने अन्तिम मितिसमेत तोकिसकेको छ। आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको अन्तिम मिति तोकेको हो।
निर्वाचनको सम्मुख आइपुग्दा विवेकशील साझा पार्टी भने तेरो र मेरो बिचकै लडाईमा रुमल्लिएको देखिन्छ। उनीहरुको लडाईले पार्टीको अस्तित्व नै मेटिने त हैन ? भन्ने खालका जिज्ञासासमेत विभिन्न राजनीतिक विश्लेषकले उठाउने गरेका छन्। अबको उम्मेदवार को होला ? भन्ने मेरोन्यूजको प्रश्नमा विवेकशील साझाका केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले अझै उम्मेदवार टुंगो नलागेको बताइन्।
दलको बैठकले नै को कता उठ्ने भन्ने निधो गर्ने र हालसम्म कुनै टुंगो नभएको उनले बताइन् । उनले भनिन्, ‘हामी अब २÷४ दिनमा बैठक बस्दै छौँ, सोही बैठकले को कता उठ्ने भन्ने निधो गर्छ, अहिले नै यो उठ्छ र त्यो उठ्छ भन्न सक्ने अवस्था छैन।’
जनताले आशा गरेर दिएको मतको जगर्ने गर्ने अझ भनौ यो दलले ०७४ सालमा पाएको जनमत जोगाउन सक्ला वा नसक्ला भन्ने प्रश्न पनि उत्तिकै उत्कर्षमा छ। ०७४ सालको स्थानीय तहको चुनावमा विवेकशील नेपाली दलले काठमाडौँको मेयरका लागि रञ्जु दर्शनालाई उम्मेदवार बनाएका थिए। त्यसबेला उनले जुन मत ल्याइन त्यो सामान्य कुरो पक्कै थिएन।
लामो इतिहास र ठूला दलको अगाडिसमेत सहजै २३ हजार मत ल्याउने पार्टीलाई जनताले राम्रो साथ दिएको बुझिन्छ। अब हुने निर्वाचनमा पनि साझा विवेकशीलप्रतिको मोह उत्तिकै छ या छैन ? भन्ने प्रश्नको उत्तर गर्वमा नै छ। सो प्रश्नको उत्तर पाउनका लागि विवेकशील साझा पार्टी निर्वाचनमा आउनु पर्छ। तर, को उठ्ने भन्ने विषय नै राम्रोसँग खुल्न सकेको छैन। तत्कालीन उम्मेदवार रञ्जु दर्शनाले पार्टी परित्याग गरिसेका छन्। प्रधानमन्त्री बन्छु भन्ने इच्छा शक्तिका साथ राजनीतिमा होमिएका रञ्जु दर्शना पार्टीभित्रै किचलोका कारण पार्टी परित्याग गर्न बाध्य भइन् ।
रञ्जु दर्शनाले पार्टी परित्याग गरेसँगै अब निर्वाचनमा को उठ्ला भन्ने प्रश्न उत्तिकै तीव्र छ। त्यस्तै तत्कालीन साझा पार्टीका किशोर थापाले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दिएका थिए। उनले १८ हजार ४९६ मत पाएका थिए। दुवै दलको आश र उल्लास जनतामा त्यति देखिदैन।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया