शुक्रबार, फागुन ८, २०८२

टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै

मेरोन्यूज २०८२ माघ १० गते २१:२१

भारतमा खेल खेल्ने विवादका कारण बङगलादेशले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि स्कटल्यान्डले आगामी महिना हुने ट्वन्टी–२० विश्वकपमा बङ्गलादेशलाई प्रतिस्थापन गर्ने शनिबार क्रिकेटको प्रशासकीय निकायले जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भनेको छ, “समूह ‘सी’ मा बङ्गलादेशलाई प्रतिस्थापन गर्न स्कटल्याण्डलाई बोलाइएको छ, जसमा इङ्ग्ल्यान्ड, इटाली, नेपाल र वेस्ट इन्डिज पनि रहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

भारत र श्रीलङ्काको संयुक्त आतिथ्यमा हुने टि–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले बङ्गलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई रिहा गर्न इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज कोलकाता नाइट राइडर्सलाई आदेश दिएपछि नयाँ दिल्ली र ढाकाबीचको विवाद उत्पन्न भएको थियो ।

राष्ट्रवादी भारतीय हिन्दुहरूले मुस्लिम बहुल बङ्गलादेशमा हिन्दु समुदायमाथि कथित आक्रमणको विरोधको आह्वान गरेका थिए । ढाकाले भारतीय मिडियाले हिंसाको स्तरलाई बढाइचढाइ गरेको दाबी गरेको छ। विवादपछि बङ्गलादेशले भारतमा आफ्नो खेल खेल्न अस्वीकार गरेको थियो र उनीहरूलाई श्रीलङ्कामा खेल्न मिल्ने गरी खेल सार्न आग्रह गरेको थियो, तर आईसीसीले बङ्गलादेशको सुरक्षामा कुनै विश्वसनीय खतरा नभएको भन्दै अपिल अस्वीकार गरेको थियो।

टि–२० विश्वकप छनोटमा बाहिरिएको टि–२० वरियताको अर्को शीर्ष टोली स्कटल्यान्डले बङ्गलादेशको स्थानमा खेल्नका लागि आइसिसीले स्वीकृति दिएपछि स्कटल्याण्डलाई गुमिसकेको अवसर प्राप्त भएको हो । सन् २०२४ मा भएको जनविद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि बङ्गलादेश र भारतबीच राजनीतिक सम्बन्धमा तिक्तता आएको छ ।

हसिना अपदस्थ भएपछि आफ्ना अति निकटस्थ सहयोगीसहित भारतमा शरण लिन पुग्नुभएको थियो । आन्दोलनपछि बनेको अन्तरिम सरकारले अपदस्थ हसिनाको स्थानमा नयाँ व्यक्तिको चयन गर्न आन्दोलनपछि पहिलो पटक बङ्गलादेश चुनावको चटारोमा छ ।

प्रतिक्रिया