प्रहरीको सुरक्षा कसले गर्ने ?
६ वर्षमा ११ बहालवाला प्रहरीको हत्या

काठमाडौँ । ‘सत्यम, सेवा सुरक्षणम्’ नेपाल प्रहरीको नारा । अनि, शान्ति, सुरक्षा र अमनचयन प्रहरीको काम गर्ने कार्य क्षेत्रको दायरा । यसैका लागि नेपाल प्रहरी जनताको सेवामा खटिएको हुन्छ । पारिवारिक मायालाई त्यागेर जनताको सेवामा खटिने प्रहरीमाथि पटक–पटक कार्य क्षेत्रभित्रै हमला भएका घटना अनगिन्ती छन् ।
विरोध सभाको नाममा प्रहरीमाथि गरिने दमन, सेवामा खटिएका प्रहरीमाथि दुव्र्यवहारका घटनाहरू त सामान्य हुँदै जान थालेको छ । सेवामा खटिएका प्रहरीलाई गाली गलौज गर्नु त गर्वको कुरा ठान्ने समाजमा प्रहरीले जनतालाई दिने सेवामा भने कुनै कमी छैन । प्रहरीमाथिको बर्बरतालाई छर्लङ्ग पार्ने पछिल्लो घटना हो– मोरङको लेटाङमा आइतबार राति प्रहरी जवान उर्मिला श्रेष्ठमाथि भएको छुरा प्रहार ।
जनताको सेवामा खटिएकी उनलाई जनताको आक्रोशित भिडले घाटीमा छुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मञ्जिल मुकारुङले बताए । लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए । गाउँलेले विद्यालय घेरेसँगै विद्यालय परिसर तनावग्रस्त बनेको थियो ।
नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटना भएपछि उग्र भएको भिड नियन्त्रणका लागि सुरक्षाकर्मीको बाक्लो उपस्थिति बनाइएको थियो । तर, आक्रोशित भिडले शिक्षकलाई कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । विद्यालय तनावग्रस्त बनेपछि प्रहरीको टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो ।
आक्रोशित भिडले विद्यालयमा आगजनीसमेत गरेको थियो । विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले बेलुका निकालेर अनुसन्धानका लागि प्रहरी चौकीमा लैजान खोज्दा आक्रोशित भिडले आक्रमण गरेको थियो । सोही क्रममा खोटाङ घर भएकी २६ वर्षीय महिला प्रहरी जवान उर्मिला श्रेष्ठ उल्टै आक्रमणमा परिन् । र, मारिइन् ।
स्थानीयका अनुसार प्रहरी जवान श्रेष्ठको घाँटीमा छुरा प्रहार गरिएको थियो ।
२३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा उनी प्रवेश गरेकी थिइन् । उनको ६ महिनाअगाडि मात्रै विवाह भएको थियो । स्थानीयलाई सुरक्षाको प्रत्याभूति गर्न पुगेकी उर्मिलाको सुरक्षा भने कसैले गर्न सकेन । उनी कुनै नराम्रो कामका लागि पुगेकी थिइनन् । तर, स्थानीयको सुरक्षा गर्दा गर्दै अकालमै आफ्नो देह त्याग्नु पर्यो । प्रहरीमाथिको बर्बरता यो नै पहिलो भने होइन । यसअघि समेत कैलालीस्थित धनगढीमा दुई जना प्रहरीको मृत्यु भएको थियो ।
सात जना प्रहरी हत्या भएको त्यो घटना
विं.सं. ०७२ भाद्र ७ गतेका दिन कैलालीस्थित टिकापुरमा एउटा बृहत आन्दोलन भयो । जसलाई थारुहट आन्दोलन भनिन्थ्यो । सोही आन्दोलनको क्रममा दोहोरो भिडन्तमा परेर तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित सात जनाको हत्या भएको थियो ।
टीकापुर हत्याकाण्डका रुपमा चिनिने सो आन्दोलनमा एसएसपी न्यौपानेसहित इन्सपेक्टरद्वय केशव बोहोरा, बलराम विष्टको हत्या भएको थियो । दोहोरो भिडन्तका मारिएको भनिएता पनि यो हत्या नै हो भन्न सकिन्छ । किन भने आन्दोलनकारीको समूहले प्रहरीलाई नै लक्षित गरेर आक्रमण गरेको थियो । सो भिडन्तमा प्रहरी हवल्दार श्याम बहादुर खड्का, जनक बहादुर नेगी, देव बहादुर पाण्डे मारिएका थिए । त्यस्तै, प्रहरी जवान लोकेन्द्र बहादुर चन्दको समेत मृत्यु भएको थियो । सो भिडन्तमा धेरै प्रहरी घाइतेसमेत भएका थिए । यही घटनामा आरोपित सांसद रेशम चौधरी अहिले पनि जेलमा छन् ।
कैलालीकै अर्को घटना
धनगढी जुगेडा प्रहरी चौकीबाट ०७७ कार्तिक १ गते राति गस्तीका लागि खटिएका दुई प्रहरीको हत्या भएको थियो । एक तस्करीको समूहले अस्थायी प्रहरी पोष्ट जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द वि.क. र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेको थियो ।
असोज ३० गते राति साढे १० बजेतिर भारततर्फ लैजान गोरुगाडामा मटर राखेर तस्कर समूह आएको थियो । असई र प्रहरी जवानले गोरुगाडालाई रोकेर समान नियन्त्रणमा लिन खोजे । प्रहरी जवान गोरुगाडाको एकातर्फ र असई अर्कोतर्फ उभिएका थिए । उनीहरु प्रहरीलाई पैसा दिएर सामान पास गर्ने गरी अगाडि बढ्न खोजेका थिए । तर, कर्मप्रति कर्मठ दुई प्रहरीले तस्करीलाई उम्कन दिएनन् ।
सामान छोड्न नमानेपछि प्रहरी जवान साउदलाई तस्करले टाउकोमा लट्ठीले हिर्काए । साउद त्यहाँबाट अलि पर भागे । त्यसपछि असई वि.क.माथि पनि प्रहार गरियो । असईको फरुवाले हिर्काएर पहिले हत्या गरेको प्रहरी बताएको थियो । तस्करले साउदलाई नदीको बीच भागमा खाल्डो खनी गाडेका थिए । त्यसपछि त्यसको करिब ५० मिटर दक्षिणतिर नदीको बीच भागमा असई वि.क.लाई खाल्डो खनेर गाडेको प्रहरीको अनुसन्धानले पत्ता लगाएको थियो ।
६ वर्षमा ११ बहालवाल प्रहरीको हत्या
यी घटना त केही दृष्टान्त मात्रै हुन् । प्रहरीका अनुसार पछिल्लो ६ वर्षमा मात्रै नेपाल प्रहरीका ११ जना बहालवाल प्रहरीको हत्या भएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णु कुमार केसीले टीकापुर हत्याकाण्डका सातसहित ०७२ यता ११ जना बहालवाला प्रहरीको हत्या भएको बताए ।
प्रहरीभित्रको यस्ता धेरै घटना छन् । कतिपय घटना बाहिर आउन सकेका छैन । आन्दोलन र तस्करीको संलग्नतामा प्रहरीले जीवन घुमाउनु परेको हो ।
राज्यको सुरक्षाका निम्ति खटिएको, अपराध नियन्त्रण र अपराध अनुसन्धान जस्तो अहंम भूमिका बोकेको संगठनमा संगठनभित्रकै किचलोले पिल्सिएकै छन् । यद्यपि, जनताले समेत प्रहरीलाई विभिन्न बहानमा सास्ती दिँदै आएका छन् ।
सरकारले के गर्छ ?
पटक पटक प्रहरीमाथि दमन हुने भएता पनि सरकारले भने खासै सन्तोषजनक कार्य गर्न सकेको छैन । आज (८ चैत)मा मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यारालाई कडा कारबाही गर्ने आश्वासन दिएका थिए ।
हत्यारा र अभियुक्त पक्राउ परेता पनि पीडित पक्षले उचित न्याय पाउन भने सकेको छैन । केही रकम सहयोग गरियता पनि सरकारका लागि गरिएको योगदान फिक्का भएको पीडितलेहरुले गुनासो गर्दै आएका छन् ।
किन हुन्छ प्रहरीको हत्या ?
प्रहरी संगठनभित्रकै आन्तरिक किचलो र राजनीतिक दबाब बढेसँगै जनतामाझ प्रहरीको छुट्टै नजिर गढेको छ । सोही नजिरले प्रहरीमाथि जनताले हेपाहा शैली अपनाएको प्रहरी अधिकारीको भनाई छ । प्रहरी संगठनको नेतृत्व गर्ने नेतृत्वकर्ता वा तहगत कर्मचारी दल केन्द्रीत रहने नियत र दलका नेताहरुको आर्शीवादकै लागि अप्रत्यक्ष रुपमा सहयोगीको रुपमा वैध अवैध कामसमेत गरिदिने शैलीले प्रहरीमाथि जनताले अटेरी गरेको एक प्रहरीले नाम नखुलाउने सर्तमा बताए ।
ती अधिकारीले भने, ‘संगठनमा तलदेखि माथिसम्म नै राजनीतिक दबाब हुन्छ, दलका नेताहरुकै आर्शीवाद र चाकडीमा फेरो मारिरहने तर सर्वसाधारणको काममा ढिलासुस्ती र चासो नदिने कारण जनता प्रहरीसँग नै आक्रोशित हुन्छन्, जसले प्रहरीलाई हेर्ने नजर नै समाजको राम्रो हुन सकेको छैन, त्यसले पनि प्रहरीदेखि डराउने भन्दा प्रहरीसँग भिड्ने, मुकाविलामा उत्रने र प्रहरीकै हत्यामा समेत उत्रने घटना दोहोरिरहेका हुन सक्छन् ।’
प्रहरी संगठनभित्र राजनीतिक दबाब त उत्तिकै देखिन्छ । तर प्रहरी आफैले पनि उचित सुरक्षा सावधानी अपनाउन नसक्दा यस्ता घटना हुने गरेको प्रहरीहरु स्वंयम स्वीकार गर्छन् ।
प्रहरीले घटना स्थलको गाम्भिर्यता नबुझने, बल प्रयोग गर्न नजान्ने गर्दा पनि प्रहरीमाथि अत्याचार हुने र ज्यानै जान सक्ने खालका घटनाहरु दोहोरीएको प्रहरी उपरीक्षक (एसपी) आभुषण तिमल्सिनाले बताए ।
उनले घटनाको अध्ययन विश्लेषण गरेर बल प्रयोग गर्न जानेन भने हरेक घटनामा प्रहरी मारिन सक्नेसमेत बताएका छन् । ‘प्रहरी मारिनु दुःखद घटना हो, प्रहरीले जहिले पनि गलत तत्वसँग मुठभेड गर्नु पर्छ त्यसैले प्रहरीले बलको प्रयोग गर्नुपर्छ, प्रहरीले किन बल प्रयोग गर्यो भनेर प्रश्न उठाइने गरिन्छ, तर वास्तविकता के हो भने प्रहरीले बल प्रयोग गर्न जानेन भने हरेक घटनामा प्रहरी मारिन सक्छन ।’
प्रहरी उपरीक्षक (एसपी) आभूषण तिमल्सिनाल भने, ‘केही समयअगाडि टीकापुर घटना, त्यसपछि कैलालीमा घटेको अर्को घटना र अहिले घटेको लेटाङ घटनाबाट हामी सबैले पाठ सिकेर कुनै पनि अभियुक्त वा आशंकितलाई पक्राउ गर्नुपूर्व पूर्ण तयारी गरेर जाने परिपाटी बसाउनु पर्छ । सुरक्षाको सिद्धान्तले नै भन्छ सुरक्षाकर्मी स्वयम सुरक्षित भएर आफ्ना क्रियाकलाप सञ्चालन गर्नुपर्छ । त्यसैले प्रहरीले आफ्नो सुरक्षालाई सर्बोपरि मानेर जनसेवामा लाग्ने सिद्धान्तलाई आत्मसात गर्दै लागु गर्ने पर्ने कुरा सबैले बुझ्नु जरुरी छ ।’
त्यस्तै, नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडीआईजी) हेमन्त मल्ल ठकुरीले समेत यस्ता घटनामा प्रहरी आफैको कमजोरी हुने र कतिपय अवस्थामा भने मानव अधिकारकर्मी समेत अवरोधक बन्ने बताए ।
प्रहरीले आफ्नो सुरक्षाको लागि लाठी चार्ज गर्दा मानव अधिकारकर्मीले प्रहरीमाथि नै औँला उठाउने हुँदा फिल्डमा रहेको प्रहरीको मनबल गिर्न पुग्छ । जसकारण आन्दोलनकारी वा अपराधीले बढी पेल्न सक्ने पूर्वडिआईजी मल्लले बताए ।
प्रहरी कसरी बलियो हुने ?
फिल्डमा खटिएको प्रहरीको मनोबल कहिले पनि गिर्न दिन नहुने पूर्वडिआईजी मल्लको भनाई छ । उनले मेरोन्यूजसँगको संवादमा भने, ‘प्रहरीले कुन ठाउँमा जाँदै छौँ ? अथवा कस्तो फिल्डमा जाँदै छौँ भन्ने कुराको विशेष ध्यान दिनु पर्ने हुन्छ, जोखिम कत्तिको छ र प्रहरीको कमाडिङ कत्तिको दरो हुनु पर्छ भन्ने कुरा पूर्वनिर्धारित हुनु पर्छ ।’
‘फिल्डमा खटिएका प्रहरीको मनोबल कहिले गिर्न दिनु हुँदैन, अझ भनौँ फिल्डमा रहेका प्रहरीलाई कहिल्यै पनि होपलेस फिल गराउनु हुन्न । यदि, उनीहरु होपलेस भए भने विपक्षीले मौका पाउँछ र आक्रमण गर्छ,’ मल्लले भने ।
घटना स्थलमा जानुपूर्व त्यहाँ चाहिने जनशक्ति कति हो ? कस्तो कस्तो जनशक्तिको आवश्यक पर्छ ? यी सबै बुझेर र त्यही खालको जनशक्ति र सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधानको ब्यवस्थापन गरेर मात्रै घटना स्थलमा जानु पर्ने मत मल्लको छ ।
मल्लले भने, ‘घटना स्थलमा कस्तो जनशक्ति लैजानुपर्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । कतिपय अवस्थामा बलप्रयोग गर्नुपर्ने हुन्छ त कतिपय अवस्थामा बुद्धिको प्रयोग पनि गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा टोली कमाण्डरको अहंम भूमिका हुन्छ, सोही कमाण्डरको नेतृत्वमा मात्रै प्रहरीले सुरक्षाको प्रत्याभूति महसुस गर्न पाउने हुन्छन् ।’

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>














जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया