सोमबार, चैत १६, २०८२

माछामा घातक रसायन फर्मालिन प्रयोग

मेरोन्यूज २०७८ चैत १९ गते १५:२६

काठमाडौँ । जिल्लाका बजारमा बिक्रीका लागि राखिएका माछामा फर्मालिन प्रयोग भएको पाइएको छ । माछालाई कुहिनबाट जोगाउन विषाक्त रसायन प्रयोग गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

Advertisement
nepal life insurencenepal life insurence

प्रशासनले यही चैत १६ नवलपुरको मध्यविन्दु नगरपालिका चोरमारामा रहेको माछा पसलमा रहेका माछा परीक्षण गर्दा फर्मालिनको प्रयोग भएको पाइएकाले ३८ किलो माछा नष्ट गरिएको थियो ।

जिल्लाकै देवचुली नगरपालिका रहजमा शुक्रबार अर्को माछा पसलका माछा परीक्षण गर्दा त्यहाँसमेत फर्मालिन प्रयोग भएको भेटिएकाले त्यहाँबाट ६८ केजी माछा नष्ट गरिएको थियो । ती पसलमा फर्मालिनको प्रयोग भएको पाइएपछि यहाँका अन्य पसलमा पनि यस्ता विषाधियुक्त माछा धेरै बिक्री हुने गरेको आशंका पैदा भएको उनको भनाइ थियो ।

फर्मालिन प्रयोग भएका माछा वितरण गर्ने मुख्य वितरकसम्म पुग्न अनुसन्धान सुरु गरिएको जानकारी दिँदै सहायक प्रजिअ बरालले भने, “भारतबाट आयातीत माछा हुन् कि भन्ने शङ्का छ, जिल्लामा मुख्य वितरकसम्म पुग्ने प्रयासमा छौँ ।”

उनले नवलपरासी पश्चिम, रूपन्देहीलगायत नाकाबाट फर्मालिन प्रयोग भएको माछा भित्रिन नदिन सम्बन्धित कार्यालयलाई समेत पत्राचार गरिने जानकारी दिए ।

फर्मालिन एक प्रकारको विषाक्त रसायन हो । यसको प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । शवहरू सड्न नदिन फर्मालिनको प्रयोग गरिन्छ । मरेका माछालाई फर्मालिनमा डुबाएपछि ताजा जस्तै देखिन्छ ।

यसैले माछामा यस्ता रसायन प्रयोग गर्ने गरिएको हो । माछा पसलबाहेक अन्य पसलमा पनि म्याद नाघेका खाद्य वस्तु फेला पारिएकाले यसको नियन्त्रणका लागि स्थानीयस्तरमा अनुगमनलाई तीव्रता दिइने र उपभोक्तालाई समेत गुणस्तरीय वस्तु पहिचान गरी खरिद गर्न सहायक प्रजिअ बरालले आग्रह गरे ।

प्रतिक्रिया