बुधबार, चैत १८, २०८२

मजदुरहरूको आन्दोलनले कञ्चनपुर–कमला सडक निर्माण ठप्प

मेरोन्यूज २०७८ चैत २२ गते ९:४०

राजविराज । मजदुरहरू आन्दोलनमा उत्रिएपछि कञ्चनपुर–कमला चार लेन सडक योजनाको निर्माण आजदेखि ठप्प भएको छ । चाइना रेल्वे इञ्जीनिरिङ दुई कम्पनी चाँदनी चोकले माग सम्बोधनप्रति उदासिनता देखाएको भन्दै मजदुरहरू काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माण भइरहेको चार लेन सडक योजनाको निर्माण ठप्प गरिएको छ । मजदुरहरूको ज्याला वृद्धि गर्नुपर्ने, स्वास्थ्योपचारका व्यवस्था मिलाउनुपर्ने, सुरक्षाको ग्यारेन्टी हुने औजार–उपकरण उपलब्ध गराउनुपर्ने, बास स्थानको उचित व्यवस्था गर्नुपर्नेलगायत माग राखी पटक–पटक कम्पनीको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि उनीहरू काम छाडेर आन्दोलन उत्रिएका छन् ।

मजदुर आन्दोलनका कारण सडक योजनाका लागि सञ्चालनमा रहेको सम्पूर्ण सवारी साधानसमेत कम्पनीभित्र थन्किएको छ । मजदुरले काम बहिष्कार गरी आन्दोलन सुरु गरेपछि सडक योजनाको कार्य दिनभरि ठप्प रहेको थियो ।

उनीहरूले कम्पनीमा कार्यरत इञ्जीनियरलाई मासिक रु ५० देखि ५५ हजार तलब दिनुपर्ने, सुपरभाइजरले दैनिक रु एक हजार ३०० देखि एक हजार ५०० ज्याला पाउनुपर्ने, कुनै पनि विधाका फूलमिस्त्रीलाई दैनिक रु एक हजार १५० देखि एक हजार २५० हाजिरी दिनुपर्ने, मिस्त्रीका लागि रु ८५० देखि ९५० सम्म दैनिक हाजिरी उपलब्ध गराउनुपर्ने, मजदुरको हकमा रु ७५० देखि ८५० सम्म दैनिक ज्याला दिनुपर्ने विभिन्न सवारीमा कार्यरत चालकलाई मासिक रु ४५ हजारदेखि ५० हजारसम्म तलब उपलब्ध गाराउनुपर्ने माग उनीहरुको छ । अपरेटरहरूको रु ४० देखि ४५ हजार मासिक तलब बढाउनुपर्ने, विद्युतीकरण गर्ने कामदारहरुको लागि दैनिक रु एक हजार १५० देखि एक हजार २५० हाजिर उपलब्ध गराउनुपर्ने मागसमेत अघि सारेका छन् ।

चाइनिज रेल्वे इञ्जीनियरिङ दुई कम्पनीमा कार्यरत मजदुरले यसअघि समेत सोही माग राखेर पटक–पटक आन्दोलन गर्दै आएका थिए । यसैबीच कम्पनीसँग भोलि वार्ता भएमा पुनः काम सुरु हुन सकिने जनाइएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक योजनाको निर्माण छ महिना अगाडिबाट भइरहेको छ । रासस

प्रतिक्रिया