बुधबार, चैत १८, २०८२

सरकारले ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्ध खाेप दिने

मेरोन्यूज २०७८ चैत २२ गते १४:१५

काठमाडौँ । सरकारले आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिदैछ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिन लागेको बताए।
पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप दिने उनको भनाइ छ। देशभर खोप अभियानका लागि १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

उनलेभने,‘विगतमा टाइफाइड हुँदा दिइने एन्टिबायोटिकले अहिले काम गर्न छोडिसक्यो। नयाँ नयाँ एन्टिबायोटिक दिनुपर्ने अवस्था छ। खोपले गर्दा धेरै सुरक्षित हुनेछ।’
अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने उनको भनाइ छ। विद्यालय नभएका वा कम भएका वडाहरूमा वाह्य खोप केन्द्र सञ्चालन गरिने छ। नेपालमा हाल दिन लागिएको खोप टाइफाइड कन्ज्युगेट भ्याक्सिन हो। यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र यो विश्वका धेरै देशमा प्रयोग भइरहेको छ।
नेपालमा वर्षेनी औसतमा चार लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड संक्रमण हुने अनुमान छ। तीन वर्षको तथ्यांकअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरूमध्ये यो रोग चौथो कारणमा रहेको छ। यो रोगको संक्रमण सबै उमेर समूहमा हुने भए पनि १५ वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने चिकित्सकहरु बताउँछन् ।
नेपालमा खोप लगाउनको लागि राष्ट्रिय खोप सल्लाहकार समितिले १४ अगष्ट, २०२० मा नै राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो। विश्व स्वास्थ्य संगठनले समेत टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशमा प्रयोगको लागि सिफारिस गरेको थियो।

उक्त खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हुने महाशाखाले जनाएको छ । यो खोप गाभीले निःशुल्क रूपमा उपलब्ध गराएको हो।

परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले खोप अभियान सम्पन्न भएपछि यो राष्ट्रिय खोप अभियानमा समावेश गरिने बताए।

प्रतिक्रिया