मंगलबार, माघ १३, २०८२

पाँच दिनपछि बालकको शव सेप्टी ट्यांकीमा फेला, छिमेकीले गरे हत्या

मेरोन्यूज २०७८ चैत २४ गते १७:५२

काठमाडौँ । छिमेकीले हत्या गरेर सेप्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका १२ गम्हरिया निवासी दीपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठु भनिने आकाश ठाकुरको शव बिहीबार छिमेकीको सेप्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ ।

गत चैत २० गते आइतबार राति ८ बजे गाउँमै न्वारनको भोज खान जाँदा आकाश बेपत्ता भएका थिए । सोही राति ११ बजे आकाशका परिवारले उनी बेपत्ता भएको प्रहरीमा जानकारी गराएका थिए ।

लगतै घटनाको अनुसन्धानमा खटिएको प्रहरीले छिमेकी जगदीश ठाकुर लगायतलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोही क्रममा बालकको शव लुकाएको स्थान पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तले देखाएको स्थानमा सेप्टी ट्यांकीको ढकन खोलेर हेर्दा बोराभित्र हालेर लुकाएको अवस्थामा बालकको शव फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार बिहीबार बिहानै सेप्टी ट्यांकीबाट निकालिएको बालकको शव मुचुल्कासहित पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा मलंगवामा राखिएको छ । बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनको परिवारका सात जना सदस्यलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्ररम्भिक अनुसन्धानबाट अभियुक्तले बालकको अपहरण गरेकै दिन हत्या गरेको आशंका गरिएको छ ।

अभियुक्तले बालकका बुबालाई फोन गरेर फिरौतीसमेत मागेको र पैसा नपाएपछि हत्या गरेको कुरा पारिवारिक श्रोतको भनाइ छ । तर, यसको पुष्टि भइसकेको छैन ।

घटनामा बेपत्ता बालकको जिउँदो वा मृत शरीर फेला पर्नु नै पहिलो प्राथमिकता भएकाले अब अनुसन्धानलाई अगाडि बढाइने जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

‘बालकको हत्या गर्नु पर्ने कारणलगायत बारेमा हामी अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘पहिला त जिउँदो वा मृत जुन अवस्थामा भए पनि जतिसक्दो चाँडो बालक फेला पार्नु पर्‍यो, हामी त्यता लाग्यौं । आज बालकको शव फेला परेको छ, बाँकी घटनाक्रम पनि थप अनुसन्धानबाट छिट्टै खुल्छ ।’

प्रतिक्रिया