बुधबार, वैशाख ३१, २०८२

दुर्गेश थापा भन्छन् : म बाटोको मादल भएँ, जस्ले पनि बजाउँछन्

नरेन्द्र रौले २०७८ चैत २६ गते १९:५९

‘नाम होस् या बदनाम, तर गुमनाम नहोस्’ यो भनाइ गायक तथा मोडल दुर्गेश थापाको जीवनमा ठ्याक्कै मेल खान्छ । उनले नयाँ गीत सार्वजनिक गर्नेबित्तिकै सीधै ट्रेण्डिङ पर्छन् । मिडियामा आइरहने उनका अन्तर्वार्ता वा कुनै अभिव्यक्ति हुन्, चर्चा र चासोका विषय बनिरहन्छन् । उनका लागि यो कुनै नौलो कुरा रहेन । बरु उनी चर्चा र विवादमा नआउनु मिडियाका लागि नौलो विषय बन्ला ।

हरेकपटक स्टेजमा उक्लिदा जुरुक्क दर्शक उचाल्नु, माहोल तताउनु, मानिसहरूका भीड बटुल्नु दुर्गेशको विशेषता नै बनिसकेको थियो । पछिल्लो समय उनले सार्वजनिक गरेका गीत फ्लप भएका उदाहरणहरू विरलै थिए । आफ्नो बारेमा नकारात्मक माहोल बने पनि त्यसलाई सकारात्मक रुपमा सदुपयोग गरेर कला देखाउन सक्ने खुबी उनमा थियो ।

यतिबेला भने गायक दुर्गेशको मुड अफ छ । उनमा जोश, जाँगर र उत्साह घटेको छ । अरुसँग बोल्न र घुलमिल हुन त्यति रूची लागेको छैन । पछिल्लो समय उनी दुई कारणले चर्चा र विवादमा रहे । अभिनेता पल शाह प्रकरणमा अप्रत्यक्ष रुपमा उनको नाम मुछियो । त्यो विवाद सेलाउन नपाउँदै फेरि अर्को लफडामा परे, उनी । सार्वजनिक हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’मा उनले अभिनय गरेको दृश्य काटियो ।

यी दुवै प्रकरणबारे शनिबार दुर्गेशले स्पष्टीकरण दिए । केही उदास, भावुक र खिन्न मुडमा भेटिएका उनमा बोल्न त्यति जाँगर थिएन । सोसल मिडियामा आउने नकारात्मक प्रतिक्रिया र मेला, महोत्सवमा सुनिने अप्रिय समाचारले उनको मन नराम्ररी बिथोलिएको छ ।

एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अभिनेता पल शाह यतिबेला थुनामा छन् । यो माहोल बन्नुमा केही व्यक्तिहरूले गायिकालाई उचाले भन्ने आरोप र आलोचना व्यापक रुपमा सुनियो । ती नाबालिग गायिकासँग बसेर गायक दुर्गेशलगायत अन्य व्यक्तिले गफगाफ गरेको संवादको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भए । कतिले यो प्रकरण उचाल्नमा दुर्गेशको हात छ भनेर आरोप लगाए । ‘पल शाह प्रकरणलाई यहाँसम्म पुर्‍याउने के दुर्गेश थापाको हात छ ?’ यो प्रश्नलाई उनी सीधै अस्वीकार गर्छन् ।

‘पललाई फसाएर मलाई के मिल्छ ? हामी त सँगै हिँडेका दाजुभाइ हौँ,’ उनले भने ‘हामीले सँगै भिडियो खेल्यौँ, म पललाई एकदम माया गर्ने मानिस हो, बरु पलकै नजिकका मानिसहरूले गेम खेलेर उनलाई फसाए ।’

नायक पलसँग आफ्नो सम्बन्ध बिग्रिएको एक वर्ष भएको उनले स्वीकारे । त्यो पनि एक वर्षअगाडि आफूले बोलेको अडियोलाई एडिट गरेर नराम्रो कुरालाई हाइलाइट् गरेर सम्बन्धमा चिसोपना ल्याइदिएको उनले आरोप लगाए । ‘मैले पललाई सम्झाएको कुरा पनि अडियोमा थियो, पलका सहयोगीले त्यो सबै काटेर सामाजिक सञ्जालमा फैलाए,’ उनले भने, ‘दुर्गेशले तपाईका बारेमा नराम्रो भनेको छ, अबदेखि नभेट्नुस् भने छन् ।’

एक वर्षअगाडिको अडियो सार्वजनिक भएपछि दुर्गेश तनावमा परे । त्यो अडियो पछाडिको कथा पनि उनले खोले । त्यो दिन दुर्गेश अनामनगरको एक रेस्टुराँमा बसेर मम खाइरहेका थिए । त्यही बेला पलकै सहयोगीले ती नाबालिग गायिकालाई लिएर दुर्गेशको छेउमा गएर गुनासो गरे ।

‘पलले गायिकाको फोन पनि उठाउँदैनन्, तपाईंले भनिदिनु पर्‍यो,’ सहयोगीले आफूसँग गरेको कुराकानी सम्झिदै दुर्गेशले भने, ‘सामान्य रुपमा गरिएको त्यो कुराकानी कसले, किन रेकर्ड गर्‍यो मलाई थाहा छैन ।’

नाबालिग गायिकालाई अगाडि सारेर उनकै सहयोगीले पलसँग विभिन्न प्रकारका डिमाण्ड गरेको उनले बताए । २५ हजार रुपैयाँ तलबबाट डबल पैसा पुर्‍याउन दबाब दिएको प्रसंग उनले बताए ।

अडियो सार्वजनिक भएपछि पनि पटक–पटक पलसँग भेटघाट भएको दुर्गेशले बताए । पल शाह प्रकरण चर्किदै गयो । उनलाई पुर्पक्षका लागि थुनामा राखियो । गायक दुर्गेशलाई तनहुँ प्रहरी र नवलपुर प्रहरीले बयान लिइसकेको छ । ‘जबरजस्ती करणी गरेको भए कानुनी कारबाही गर्दा राम्रो हो, आर्थिक बार्गेनिङको बारेमा आफूलाई केही जानकारी नभएको’ उनले बयानमा दिएका छन् ।

पल शाहसँग अहिले पनि फोनमा कुराकानी हुने गरेको दुर्गेश बताउँछन् । ‘यस्तै हो, नआत्तिनु, निरास नहुुनु भनेर ढाढस दिन्छु, उनको परिवारका सदस्यहरूसँग पनि कुराकानी गर्छु,’ पल थुनामा परेपछि आफू निकै तनावमा परेको दुर्गेशले बताए । ‘पल जेल जाँदा, उनलाई हत्कडी लगाउँदा मेरो आँशु झरेको छ,’ उनले सुनाए, ‘मेरो श्रीमती पनि ती दृश्य हेरेर रोएकी छिन् ।’

दुर्गेश यतिबेला नाँच्ने, गाउने मुडमा छैनन् । मानसिक तनावले विक्षिप्त छन् । मेला, महोत्सवमा गएर आफ्नो प्रस्तुती दिने उत्साह उनमा छैन । पल छिटै थुनामुक्त हुने र फेरि सँगै म्युजिक भिडिओ खेल्ने आशामा छन्, उनी । ‘पल र म हिजो पनि साथी थियौँ, आज पनि साथी छौँ र भोलि पनि साथी हुनेछौँ,’ उनी ढुक्क देखिए ।

‘ए मेरो हजुर ४’बाट दुर्गेशलाई हटाइयो

वैशाख १ गते रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’मा गायक दुर्गेशको गीत र दृश्य समेटिएको थियो । तर, रिलिज हुने दिन नजिकिदै जाँदा उनको गीत र दृश्य हटाइएको छ ।

‘सबैले बलेको आगो ताप्ने हो, त्यति बेला म बलेको थिएँ, दिन रात नसुती–नसुती काम गरेँ, सबैले मलाई तापिरहे,’ उनले भने, ‘आज म निभ्दै छु, आज म बाटाको मादल बनेँ, यताबाट पनि बजाउँँछन्, उताबाट पनि बजाउँछन् ।’

‘ए मेरो हजुर ४’मा समेटिएको गीतमा दुर्गेशको अभिनय थियो । उनले त्यसबापत पारिश्रमिक पनि लिएका थिएनन् । ‘म पैसाको लोभ गर्ने मान्छे होइन,’ उनी भन्छन् ‘न मैले मागेँ, न उहाँहरूले आफैले दिनु भयो, म नभएर फिल्म हिट् हुन्छ भने ठिकै छ ।’

उनले आफ्नो नियत नराम्रो नभएको बरु आफूलाई नराम्रो बनाइएको दाबी गरे । मिडियामा आफू अलि ढिलो आएको तर सत्य कुरा बोलेको कुरामा जोड दिए । दुर्गेशले एक अन्तर्वार्तामा भने ।

दुर्गेशले हरेक ६–६ महिनामा गीत सार्वजनिक गर्छन् । अबको एक, दुई महिनामा नयाँ गीत ल्याउने तयारी गरिरहेको उनी बताउँछन् । गाली वा नकारात्मक प्रतिक्रियाबाट उनी आत्तिएका छैनन् । आफ्नो कर्मबाट उनी पन्छिएका छैनन् । तर, यो कुरालाई नोटिस भने गरेका छन् ।

विवादमा आउँदा, गादी खाँदा उनी सतर्क भएका छन् । उनी आउने दिनमा सोचेर, विचार गरेर गीत ल्याउने प्रयासमा छन् ।

प्रतिक्रिया