मंगलबार, माघ १३, २०८२

यस्ता छन् गठबन्धनले तय गरेको तालमेलका आधारहरू

मेरोन्यूज २०७८ चैत २९ गते २१:२५
फाइल फोटो

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरको मेयर र उपमेयरको सिट बाँडफाँडको टुंगो गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

यसैगरी बैठकले नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सिट बाँडफाँड गरेर वैशाख ५ गतेभित्र केन्द्रमा पठाउन प्रदेश संयन्त्रलाई निर्देशन दिएको छ ।

वैशाख ३ गते जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी केन्द्रमा पठाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गठबन्धन बैठकले महानगर, उपमहानगर, नगर र गाउँपालिकाको वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँडको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने निर्णय पनि गरेको छ ।

सञ्चारमन्त्री कार्कीले सिट बाँडफाँड गर्ने कामको संयोजन सम्बन्धित कमिटीको कांग्रेस सभापतिले गर्ने निर्णय गरिएको बताए । सिट बाँडफाँडको आधार २०७४ सालको स्थानीय तह निर्वाचनको मतपरिणामलाई मुख्य मान्ने सहमति पनि गरिएको छ ।

‘पाँच दलीय गठबन्धनका बीच २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सिट बाँडफाँड गर्दा महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने, नगरपालिका र गाउँपालिका क्रमशः प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको तालमेल गरी सिट बाँडफाँडको वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने । महानगर, उपमहानर, नगरपालिका र गाउँपालिका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँडको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने । प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित २–२ जना प्रतिनिधि रहने । प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ आफ्नो आवश्यक्ता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्नेछ । सबै तहको बैठकको संयोजन नेपाली काँग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने,’ मन्त्री कार्कीले भने ।

उनका अनुसार गठबन्धनभित्र सिट बाँडफाँडको आधारहरू निम्नअनुसार तय गरिएका छन । २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीलाई त्यसैअनुसार मान्ने । २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त मतको मतभार । २०७४ को स्थानीय तह निर्वाचनमा प्राप्त गरेको नभएतापनि स्थानीय तहमा उपस्थिति रही यथासम्भव गठबन्धन भित्र अन्य दललाई पनि सहभागी गराउने । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुदा नम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भई बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्ने । गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारहरुको अतिरिक्त वर्तमान गठबन्धनमा आवद्ध दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने । गठबन्धन भित्र रहेका दलहरुबीच मात्र चुनावी तालमेल गर्न पाउने ।

प्रतिक्रिया